बढ्न थाल्यो ई–हाजिरीको प्रयोग

वैशाख १४, काठमाडौं । सूचना प्रविधिको विकाससँगै विभिन्न विद्यायल, कलेज, बैङ्क तथा अन्य संस्थामा -हाजिरी प्रविधिको प्रयोग बढ्न थालेको छ । रजिष्टरमा हस्ताक्षर गर्ने पुरानो हाजिरी शैलीभन्दा बढी विश्वसनीय हुने र सही तथ्याङ्क आउने भएकाले यस्तो प्रविधिको प्रयोग बढेको सम्बन्धित विक्रेताहरू बताउँछन् । उनीहरूका अनुसार अहिले यस्तो प्रविधि विक्री गर्ने २० भन्दा बढी कम्पनी नेपालमा छन् ।

अरबी मुलुकमा ई–हाजिरीको प्रयोग
गर्दै एक व्यक्ति । तस्विर गुगल
नेपालमा यस्तो प्रविधि आएको धेरै भएको छैन । एभरसेफ नेपाल प्रालिका निर्देशक बीबी अधिकारी यस्तो प्रविधिको प्रयोग हुन थालेको ३ वर्षमात्रै भएको बताउँछन् । अझ यसको प्रयोग राजधानीमा   मात्रै केन्द्रित रहेको छ । उपत्यकाभन्दा बाहिरी जिल्लामा अझै पनि यसको प्रयोग प्रभावकारी रूपमा हुन सकेको छैन ।
गत वर्षसम्म निजी संस्थाहरूमा बढी प्रयोग भएको यो प्रविधि यस वर्षभने सरकारका विभिन्न मन्त्रालय तथा कार्यालयमा पनि प्रयोग हुन थालेको छ । गत फागुनदेखि विज्ञान तथा प्रविधि मन्त्रालयले यो ई-हाजिरी  शुरू गरेको छ । यसबाहेक सामान्य प्रशासन, अर्थ मन्त्रालयका साथै मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयमा पनि यो प्रविधिको प्रयोग भइसकेको छ । अहिले अन्य मन्त्रालयले पनि प्रविधिको प्रयोगका तयारी गरेका छन् । विज्ञान तथा प्रविधि मन्त्रालयमा प्रवक्ता मुकुन्दराज घिमिरे खर्च धेरै लाग्ने भए पनि सही तथ्याङ्क आउने भएकाले यसको प्रयोग राम्रो भएको बताउँछन् । 'अझ सम्पूर्ण विवरण राख्ने सफ्टवेयर राख्ने तयारीमा छौं,' उनले भने । मन्त्रालयमा सो प्रविधिका लागि करीब रू. ९० हजार लगानी भएको उनले बताए ।     
यो प्रविधिको प्रयोग गर्न ब्याट्री ब्याकअपको सुविधा आवश्यक पर्छ । अहिले दुई किसिमका ई-हाजिरी प्रचलनमा छन् । पहिलो संस्थाको परिचयपत्र 'स्वाइप' गरेर र अर्को औंला छुवाएर हाजिरी गर्ने । परिचयपत्रभन्दा औंलाको प्रयोग गरी गरिने हाजिरी बढी विश्वसनीय हुन्छ । परिचयपत्रको प्रयोग गरी अर्कोले हाजिर गर्ने सम्भावना रहन्छ । तर, औंला छुवाएर गरिने हाजिरमा यस्तो सम्भावना हुँदैन । यी दुवै प्रयोगका लागि फरक सफ्टवेयर आवश्यक पर्छ ।
विक्रेताहरू सफ्टवेयरअनुसार प्रविधिको मूल्यमा फरक पर्ने बताउँछन् । अहिले बजारमा न्यूनतम रू. २० हजारदेखि रू. १ लाखसम्मका प्रविधि उपलब्ध छन् । कतिपय बैङ्क तथा वित्तीय संस्थाले आफ्नै सफ्टवेयरको प्रयोग गरी हाजिरी गर्ने गरेका छन् । अहिले नेपाली र विदेशी दुवै प्रकारका सफ्टवेयर उपलब्ध छन् । विदेशीको तुलनामा नेपाली सफ्टवेयर केही सस्तो भएको विक्रेताहरू बताउँछन् ।
अभियान दैनिकको अनलाईन संस्करणबाट साभार ।  

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...