‘मेरो मुटुमा त्यहि नेपाली रगत दौडिरहेको छ’ प्रशान्त तामाङ


स्व. मदन कुमार तामाङ तथा रुपा तामाङको कोखबाट सन् १९८३ जनवरी ४ मा दार्जिलिङमा जन्मिएका प्रशान्त तामाङ दुईवटा दिदीहरुका कान्छा भाई हुन् । १२ कक्षा पास गरेर भारतीय प्रहरीमा भर्ती भएको ४ बर्षपछि प्रहरी व्याण्डमा आवद्ध भएका तामाङ भारतका तेश्रो इण्डियन आइडल हुन सफल भएका थिए । उत्कृष्ट गायकमा दर्ज भईसकेका उनले आफुलाइ गोर्खा पल्टन नामक चलचित्रबाट सफल नायकको परिचय बनाईसकेका छन् । तामाङसंग मेचीनगर अनलाईनको लागि पत्रकार रवि रोषीले लिएको अन्तर्वार्ताको सार संक्षेपः

वाल्यकाल कस्तो रह्यो तपाईंको ?
– सामान्य नै भन्नुपर्छ । घुमफिर, स्कुल तथा साथीभाईहरु संगनै विताइयो । खासै स्मरणीय कुराहरु केहि भएनन् ।

गायक नै बन्छु भन्ने आत्मविश्वाश कहिले बाट जागृत भयो ?
– गाउने काम त स्कुले विद्यार्थीजीवनबाट नै सुरु गरेको हो । तर पनि माध्यमिक तहको पढाई सकिएर कलेज ज्वाइन गरेपछि चाहिँ स्थानीय तथा पश्चिम बंगाल बाहिरको कन्सर्टहरुमा पनि गाउनलाई अफर आउने गर्दथ्यो र गाउने क्रमलाई निरन्तरता दिँदै गएको थिएँ । भारतीय प्रहरी डिपार्टमेन्टको व्याण्डमा जागीरे भएपछि त्यहाँ दिनहुँ गाउने प्राक्टीस हुने गर्दथ्यो । मेरो खारिदै आएको स्वरलाई अन्दाज गर्दै प्रहरी प्रभागका साथीहरुबाट इण्डियन आइडलमा जान सुझाएपछि त्यहाँ जाने सोच बनाएँ । साथीहरुको अनुरोध र दवावमा जुन दिन इण्डियन आइडलमा जान्छु भनेर निर्णय गरेँ, त्यहि दिनबाट नै मेरो गायकीमा दम छ भन्ने आत्मविश्वाश पलाएको हो ।

इण्डियन आइडलको उपाधि नै प्राप्त गर्न सक्छु भन्ने आत्मविश्वास नै बोकेर जानुभएको थियो त भाग लिन ?
– युद्धमा लड्न जाने सिपाहीले मर्छु भनेर कहिले पनि गएको हुँदैन । मार्छु नै भन्ने आत्मविश्वाशको साथ युद्धमा गएजस्तै हार भएर फर्कनु अर्को वास्तविकता छँदा छँदै पनि जित्छु भन्ने मनशाय नै लिएर गएको थिएँ । मेरो गायन क्षमताको कदर गर्दै भारतीय मेरा प्mयान हरु तथा नेपाली भाषीहरुको अगाध मायाले गर्दा जित्न सफल भएँ । फेरि पनि मलाई भोट दिएर इण्डियन आइडलको ताज पहिराउन सघाउने मेरा सम्पुर्ण शुभचिन्तकमा आभार प्रकट गर्न चाहन्छु ।

भारतीय नागरिक भएपनि नेपाली भाषी भएकै कारणबाट तपाईं माथि कुनै त्यस्ता अप्ठ्यारो महसुस त गर्नुभएन ?
– त्यस्तो केहि पनि मैले सामाना गर्नु परेन । गीत, संगीत, साहित्य र संस्कृति कुनै क्षेत्र र देशमा मात्र सिमित नरहने भएकोले गीत संगीत सवैको साझा सम्पत्ति ठानेर नै माया गर्ने र सुन्ने भएकोले मैले पनि त्यहि माया पाएको छु । अपमान र अप्ठयारो कहिले पनि महसुस गर्नु परेन ।

दार्जिलिङे तथा सिक्किमेली नेपालीभाषी साहित्यकार, कलाकार तथा गायककार हरुलाई कि त कालले चाँडै लान्छ कि त काठमाण्डौँले तान्छ भन्ने कुरालाई तपाईंले पनि भारत छोडेर नेपाल प्रवेश गरी चरितार्थ गर्नुभयो नि । कतै भारतमा अवसरको आशा नरहेर नेपाल प्रवेश गर्नुभएको हो ?
– नेपाली साहित्यकार र कलाकारको हकमा चाहिँ भारतको बजार सानो भएकोले ठूलो बजारको खोजीमा काठमाण्डौँ प्रवेश गरेको हुनुपर्छ । तर मेरो भने त्यो अवस्था सिर्जना भएर काठमाण्डौँ पसेको चाहिँ पक्कै होइन । आफु संग गायन क्षमता भएर पनि भारतमा गीतहरु गाउनुको लागि सधैँ खुट्टा मोल्ने प्रवृत्ति हावी भएकोले आफ्नो गायन प्रतिभाको अपमान हुन नदिनकै लागि स्वाभिमानले भारतीय बजारमा घुँडा टेक्न मानेन र म नेपाल प्रवेश गरेको हुँ । कसैले गाउनको लागि अफर गर्छ भने जुनसुकै भाषाको गीत गाउन तयार छु । तर हस् हजुरमा विश्वाश कहिले पनि राख्दिन र झुक्न चाहन्न । काठमाण्डौँलाई मैले कर्मथलोको रुपमा रोजेको त्यसैको नतिजा होे ।

भारतमा गायन क्षेत्रमा एकछत्र राज गर्न सफल नेपाली मूलका उदितनारायण झा ढाका टोपी फुकालेर भारत पलायन भएभने तपाईं इण्डियन आइडल घोषित भएको दिनमा नै स्टेजमा ढाका टोपी पहिरिएर नेपाल फर्किनुभयो । आखिर के कुराले नेपाल प्रवेश गर्न तपाईंलाई प्रेरित गर्यो ? पैसा कमाउनको लागि त नेपालको बजार भन्दा भारतको बजार नै राम्रो थियो होला नि ?
– उदित नारायण झाको मामलामा बोल्नु पर्दा भारतीय सम्मानबाट सुशोभन हुन आफुलाई भारतीय हुँ भन्ने कुरा म अलि कच्चा उमेर हुँदैमा सुनेको हुँ । उहाँले भारतीय मिडीयाहरुमा आफुलाई भारतीय हुँ भन्नुभएको भएपनि किन भन्नुभयो भनेर प्रश्न गर्न चाहन्न । त्यो उहाँको व्यक्तिगत अभिव्यक्ति हो । तर तपाईंले भने जस्तै कालले यो दार्जिलिङे ठिटोलाई लाने उमेर नभए पनि काठमाण्डौँले तानेको भने पक्कै स्वीकार्छु (हाँस्दै) । मेरो पूर्व वंशजको थातथलो नेपालमा भएको र नेपाली भाषी भएको हुनाले र नेपालले मलाई केहि गुन लगाएको छ । त्यहिकारणले मलाई नेपालले तानेको हो । मैले आफ्नो प्रतिभालाई पैसा कमाउने माध्यम मात्र बनाउन हुँदैन भन्ने सोचेँ । मेरो मुटुमा त्यहि नेपाली रगत दौडिरहेको छ । नेपालीभाषी हुनुको गर्वले मलाई नेपाली संस्कृति र नेपाली भाषाको गीतहरु गाउननै घच्घच्याईरह्यो । पैसा अत्यावश्यक वस्तु हो भन्ने जान्दाजान्दै पनि मैले त्यति महत्व दिइन । त्यहि भएर नेपालको गीत र अभिनयको बजारलाई मैले रोजेको हो ।

नेपालमा आएपछि तपाईंलाई कसैले नेपाली नागरिकता दिन्छु । नेपाली भएर चिनिनुपर्छ भनेर भनेनन् ?
– नेपालका तत्कालिन प्रधानमन्त्री स्व. गिरीजा प्रसाद कोइरालाले नेपाली नागरिकता लिनको लागि आग्रह गर्नुभएको पनि हो । म गायक भएर श्रीलंका, पाकिस्तान, बंगलादेशका हिन्दी भाषा बुझ्ने सवैको साझा गायकको रुपमा परिचित भईसकेको हुनाले नेपाली नागरिकता नै लिने आवश्यकता ठानिनँ । अर्को कुरा लिईहालेको भएपनि भारतीय सरकारी जागीरमा संलग्न भईरहेको र नेपालको नागरिकता लिएको खण्डमा नेपालमा मेरै कुरालाई अर्को विवादको विषय बनाउँछन् कि भन्ने कारणले लिन चाहिन । म सवैको प्रिय गायक भएर बाँच्न चाहन्छु । त्यसमा पनि सवैभन्दा धेरै नेपालको माया र आशिर्वाद चाहिएको छ ।

तपाईं गायकबाट अहिले नायक पनि बन्नुभएको छ । किन अभिनय क्षेत्रलाई रोज्नुभएको ?
– आफु संग क्षमता छ भने देखाउनुपर्छ भनेर नै मैले अभिनय क्षेत्रमा पनि हात हालेको हो । जसलाई गोर्खा पल्टनले प्रमाणित गरेर पनि देखायो । मलाई गायन संगसंगै अभिनयमा पनि पहिले देखि नै रुचि थियो । त्यसको लागि पनि मैले नेपाललाई रोजेको हो ।

गोर्खा पल्टन बजारमा आईसक्यो भने बजारमा आउन लागेको अंगालो यो मायाको र किन मायामा भन्ने चलचित्रबाट कस्तो आशा राख्नुभएको छ ? यस बाहेक अरु चलचित्रमा अभिनयको लागि पनि अफरहरु आएको छ कि ?
– अंगालो यो मायाको चलचित्रमा मैले हर्षिका श्रेष्ठ र विजयिता वराईलीसंग अभिनय गरेको छु भने किन मायामा सुिमना घिमिरेसंग अभिनय गरेको छु । उनीहरुको अभिनय पनि परफेक्ट छ । दुवै चलचित्रहरु प्रेम, दर्शन र समाजमा केन्द्रित कथा भएको हुनाले यसले पनि नेपाली चलचित्रको फाँटमा राम्रो धाक जमाउने छ भन्ने विश्वाश लिएको छु । दुइवटा फिल्महरु एकैपटक बजारमा आउने तयारीमा पनि रहेको छ । त्यसको नतिजा चाहिँ कस्तो आउँछ, त्यो हेर्न भने बाँकी नै छ । त्यहाँ पनि मैले शशक्त भूमिकामा शशक्त अभिनय गरेको छु । अरु चलचित्रहरुमा पनि नायकको भूमिकाको लागि अफर आएको छ । गायन संगसंगै अभिनयलाई पनि त्यत्तिकै महत्वका साथ समय दिनेछु ।

अहिले सम्म कतिवटा गीतहरु गाईसक्नुभयो ? एउटा गीत गाए बापत कति लिने गर्नुभएको छ ?
– हाल सम्म मैले जम्मा ३०, ३२ वटा मात्र नेपाली गीतहरु गाएको छु । मैले गीत गाए बापत यति नै लिन्छु भनेर व्यवशायिक रुपमा प्रस्तुत नभएकोले मेरो गाउने गीतको कुनै रेट नै छैन ।

तपाईंको वैवाहिक जीवनको बारेमा केहि बताईदिनुहुन्छ कि ? विवाह भएपनि केटी फ्यानहरुले कत्तिको मरिहत्ते गर्छन् ?
– केटीहरुको त कुरै नगरौँ । कति क्रेजी फ्यानहरुले त अंगालोमा चेपेको चेपै गरेर हैरान पारिदिन्छन् । म चाहिँ विजुलीको खम्बा झैँ उभिएर बस्नु सिवाय केहि विकल्प रहँदैन । उनीहरुले मलाई दर्शाउने सदासयता प्रति मात्र भुतुक्क हुन्छु । केटी फ्यानहरुको स्पर्शलाई खासै वास्ता गर्दिन । मैले नागालैण्डवासी गीता आलेसंग मागी विवाह गरेको हो । हामी वीचमा प्रेम चाहिँ पहिले देखि नै थियो । विवाह हुनु भन्दा पहिले देखिनै पारिवारिक सम्बन्ध राम्रो भएको कारणले पनि हाम्रो सम्बन्धलाई अझ गाढा बनायो । तर हाम्रो पहिलो पटकको भेट चाहिँ कन्सर्ट देखाउन गएको वेलामा बैंगलोरमा भएको हो । उनी किंगफिसर एयरको एयर होस्टेजमा कार्यरत छिन् । साह्रै राम्रो सम्बन्ध रहेको छ ।

तपाईंको कन्सर्ट रेट कति हो ? एउटा कार्यक्रममा कति लिने गर्नुहुन्छ ? मूलुक वाहिरको कार्यक्रममा सवै भन्दा दर्शकहरुको उपस्थिती र रमाइलो अनुभव कुन देशमा बटुल्नुभयो ?
– नेपालमा गरिने कन्सर्टहरुको रेट विदेशमा गरिने रेट भन्दा कम नै लिने गरेको छु । विदेशमा चाहिँ कार्यक्रमको समयावधि हेरेर अढाई लाख भारुदेखि माथि लिने गरेको छु । कतारमा यति संगीत प्रेमी रहेछन् भन्ने कुरा दुइपटक कतारको कार्यक्रमबाट अनुभव बटुलेको छु । कतारमा यदि कार्यक्रमको लागि अफर आएमा विशेष महत्व दिएर आउने वाचा पनि गर्न चाहन्छु । अरब भाषी दर्शकहरुले समेत आफ्नो गीतमा नाचेर गरेको रमाईलो क्षणको सम्झना भने मेरो मस्तिष्कमा सधैँ ताजा रहिरहनेछ ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...