Showing posts with label पर्यटकीय स्थलहरु. Show all posts
Showing posts with label पर्यटकीय स्थलहरु. Show all posts
शहिद स्मारक (सुखानी) पार्क
झापा जिल्लाका प्रजातन्त्र प्राप्तीका लागि आफ्नो ज्यान उत्सर्ग रामनाथ दहाल, नेत्र घिमिरे, विरेन राजवंशी, कृष्ण कुइकेल, नारायण क्षेत्र, लक्ष्मी पाण्डे, रामप्रसाद प्रधान, चन्द्र बहादुर डाँगी, राम थापा र छविलाल राजवंशी लगायत अमर शहीदहरुको स्मृतिमा वि.सं. २०५८ सालमा शनिश्चरेमा निर्माण गरिएको पार्क हो । यो पार्कको पुर्वाधार विकासको लागि हाल राज्यस्तरबाट समेत लगानी भैरहेको छ । सो पार्क भित्र रहेको लामो खाल्डोलाई तालको रुपमा विकास गरी वोटिङ्गको लागि तयार गरेमा पर्यटकलाई आकर्षित गर्न सकिन्छ ।
जामुनखाडी सिमसार क्षेत्र
जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्र सुरुङगा गाविसको वडा नं. २÷५ को डाँडागाउँमा अवस्थित छ । स्थानयि जामुनखाडी सामुदायिक वनभित्रको केही भू–भागलाई सिमसार क्षेत्र घोषणा गरी पर्यटकीय स्थलको रुपमा विकास गर्न शुरु गरिएको हो । पूर्व–पश्चिम राजमार्गबाट उत्तर लगभग एक किलोमिटको दूरीमा रहेको चारसय एक दशमलव २५ हेक्टर सामुदायिक वनको भू–भागमध्ये १० हेक्टर अर्थात १४ विगाह ८ कठ्ठा ६ धुर जमिनलाई समेत सिमसार क्षेत्रको रुपमा विकास गर्ने योजना छ । ऐतिहासिक पृष्ठभूमि बोकेको गङ्गा र जमुना पोखरी रहेको सो क्षेत्रमा संरक्षण अभावका कारण हाल गङ्गा पोखरी अस्तित्वमा छैन भने जमुनाको संरक्षण र विकासका लागि विशेष पहल गरिएको छ । ४ विगाह क्षेत्रको बिचमा रहेको लाम्चो आकारको पोखरी पर्यटकको प्रमुख आकर्षणको विन्दु हो । आर्थिक आम्दानीलाई समेत मध्यनजर राख्दै पोखरीमा व्यवसायिक रुपमा डुङ्गा सञ्चालन गर्ने गरिएको र पोखरीमा माछापालन समेत गरिएको छ ।
विश्वमै दुर्लभ मानिएको अजिङ्गर यहाँको अर्को आकर्षण हो । त्यसो त निश्चित सीमा निर्धारण गरी राखिएका मृग र जरायो आदि यहाँका गहना हुन् । जुन हेर्न कै लागि पनि पर्यटकहरु आउने गरेका छन् ।
सिमसार क्षेत्रमा रहेको आकर्षक पोखरीसँगै अन्य दुई विगाह क्षेत्रलाई सिमसार तथा पर्यटन क्षेत्रको रुपमा विकास गरी प्राकृतिक तवरको डियर पार्क, वालवालिकाकालागि चिल्ड्रेन पार्क र पिकनिक स्पट लगायतको व्यवस्थापन विकास गर्ने समितिको सोच रहे पनि आर्थिक व्यवस्थापन प्रमुख चुनौति बनेको छ ।
पर्यटकका लागि अभाव खट्किएका शौचालय, पाहुनागृह र खानेपानी लगायतका भौतिक तथा प्राकृतिक सुन्दरताको बृद्धिका लागि मानव निर्मित संरचनाहरु निर्मण गर्ने योजना स्थानीय वासीले बनाएका छन् । स–सानो पहाड जस्तै लाग्ने डाँडा–काँडा र तिनीहरुलाई थप सुन्दरता दिने बोटविरुवालाई संरक्षण मात्र गर्दा पनि यसको विकासमा थप टेवा पुग्ने देखिन्छ । यसलाई व्यवस्थित रुपमा विकास गरिएमा जामुन खाडी सिमसार क्षेत्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरकै पर्यटकीय क्षेत्रको रुपमा विकास, विस्तार हुने निश्चित छ ।
जामुनखाडी क्षेत्रमा छोटो समयमा नै अपेक्षा भन्दा बढी पर्यटक भित्रिएको देखिन्छ ।
सुनमाई
झापा र इलाम जिल्लाको सीमानामा अवस्थित सुनमाई एउटा मनोरमस्थलको रुपमा रहेको छ । पहाडी तथा तराई जन–जीवनको संगमस्थलको रुपमा रहेको यो अत्यन्तै रमणीय गाए झापा जिल्लाको शान्तिनगर गाविसमा पर्दछ ।
साधुटार (शंकराचार्य पीठ)
झापा जिल्लाका सुदुर उत्तरी गाविस खुदुनावारी गाविस वडा नं. १ मा रहेको साधुटार नेपालको प्रथम एवं एकमात्र शंकराचार्य पीठको रुपमा रहेको छ । सयौं वर्ष पहिलेदेखि नै साधुसन्तहरुले बसोबास गर्दै आएको यस साधुटारलाई एकजना खडेबाबा नामका साधुले संरक्षण गरेको हुनाले यस स्थानलाई साधुटार भन्ने गरिएको हो भन्ने भनाई रहेको पाईन्छ । साधुटारमा एउटा शिव मन्दिर समेत रहेको र मन्दिरलाई यज्ञ यज्ञेश्वर शिव समेत भनेर पुकारिने गरेको पाईन्छ । विश्वका समस्त हिन्दुहरको आस्थाको धरोहरको रुपमा रहेको साधुटार शंकराचार्य पीठ उत्तरपटी डाँडामा देवीथान समेत रहेको छ । देवीथानबाट धेरै वर्ष पहिलेदेखि सहस्रधारा बगिरहेको र अहिले सो धाराबाट खुदुनाबारी गाविस वडा नं. १ र २ तथा अर्जुनधारा गाविस वडा नं. ३ का बासिन्दाहरुलाई खानेपानीको आपुर्ति गरिएको पाइन्छ । खडेबाबाले दैनिक स्नान एवं ध्यान, जप गर्ने विश्वास गरिएको यस सहस्र धारालाई धार्मिक आस्थाका साथ हेर्ने गरिएको पाईन्छ ।
सतासीधाम
नेपालको पूर्व भागमा रहेको जनकपुर पछिको प्रमुख तीर्थस्थल भनी प्रसिद्ध सतासीधाम समुद्र सतहबाट २८० देखि ३०० मिटरसम्मको उचाइमा ७६.५ वर्ग कि.मि. क्षेत्रभित्र फैलिएर रहेको छ । सतासीधाम दिगम्बेश्वर मन्दिर सतासीधाम गा.वि.स. वडा नं. ९ को सिमानामा अवस्थित छ । पूर्व पश्चिम राजमार्गको झिलझिलेबाट लगभग २ कि.मि. को दूरीमा चुरे पहाडसँगै अवस्थित सतासीधाम धमिृक आस्थाका अतिरिक्त पिकनिक जाने, फोटो खिच्ने र बिदाको समय उपभोग गर्न जाने उद्देश्यका लागि समेत उपयोग हुने गरेको पाईन्छ । विभिन्न किसिमका बोट बरुवाका साथै आँपको बगैचाले घेरिएको यो क्षेत्र अत्यन्तै रमणीय रहेको छ । सतासीधाम क्षेत्रमा सताक्षी देवी दिगम्बेश्वर महादेव, हनुमान, गायत्री आदि मन्दिर र जसमुनी आश्रम पनि रहेको छ । सतासीधाम क्षेत्रको पूर्वमा सुरुङ्गा गाविस उत्तरमा इलामको महमाई गा.वि.स तथा दक्षिणमा शिवगञ्ज गाविसहरु पर्दछन् । रतुवामाई वृक्षारोपण आयोजनाद्वारा धारमको दक्षिणमा वृक्षारोपण गरिएको छ भने पूर्व र पश्चिममा वन उपभोक्ता समितिको रेखदेखमा रहेको प्राकृतिक जंगल र उत्तरमा ईलाम जिल्लाको जंगलले घेरिएको छ ।
यहाँ मंसिर महिनामा वाला चतुर्दशीको वसरमा तीन दिन सम्म र माघे संक्रान्तिको अवसरमा एक दिन मेला लाग्ने गरेको पाईन्छ । यस स्थानमा अन्य समयमा भने मंगलवार र शनिवार भक्तजनहरुको भीड हुने गरेको पाईन्छ । पौराणिक कालमा पाँण्डवहरु वनवासको समयमा यही स्थानमा हतियार लुकाएर विराटराजाको दरवार गुप्तवास बस्न गएरका थिए भन्ने किम्बदन्ती रहेको पाइन्छ । सतासीधाम क्षेत्रको उत्तरतर्फ रहेको पहाडमा पाईने ढुङ्गाहरु विभिन्न वीव जन्तुसंग मिल्दो जुल्दो आकार प्रकारका हुने गरेको पाईनछ । मन्दिर नजिकै रहेको पानीमा तातो र नुनीलो गुण हुने र यसलाई औषधीको रुपमा लिने गरिएको समेत पाईन्छ ।
मन्दिरबाट लगभग आधा घण्टा पैदल यात्रा गरेपछि सहस्र धारा भन्ने स्थान पुगिन्छ । यहाँ रहेको रमणीय झरनामा युधिष्ठिरले सताक्षी देवीको पूजा आधारना गरी देवीको दर्शन पाएको स्थान भएको हुनाले यसलाई सताक्षी धाम भनिएकोमा पछि अपभ्रंश भई सतासीधाम भएको हो भन्ने भनाई समेत रहेको पाईन्छ । यस झरनाको उत्तरमा त्रिशुल अदि रहेको स्थानलाई पाथिभरा भन्ने गरिएको छ । सहस्र धारामा नुहाउनाले पाप नाश हुने जनविश्वास रहेको समेत पाइन्छ । सतासीधाम क्षेत्र वरिपरि अवस्थित जंगलमा विभिन्न दुर्लभ जडिबुटीहरु समेत पाइने भएकोले यस क्षेत्रमा सधैं साधुसन्तहरुको जमघट भईरहने गर्दछ । सतासीधाम देखि उत्तर माईनदीको किनारै किनार डांडोमा गएपछि अप्ठेरो भीरमा एउटा गुफा रहेको छ । गुफा भित्र शिवलिङ्ग जस्तो देखिने स्थान पनि छ । पाण्डवहरु गुप्तवासको समयमा भीमले लुकेर बस्ने ठाँउ बनाएको विश्वास गरीने यस स्थानमा हतपत कांही पनि नजाने भए पनि कहिलेकही साधु सन्तहरु भने बस्ने गरेको पाईन्छ । पूर्व–पश्चिम राजमार्गबाट केवल ५ कि.मि. को दूरीमा अवस्थित भए पनि यहां सम्म जाने बाटोको राम्रो ब्यवस्था भने हुन सकेको देखिदैन ।
यस अतिरिक्त विद्युत एवं क्तजनहरुलाई आवश्यक सत्संग भवन समेतको ब्यवस्था गरिएको खण्डमा मन्दिर क्षेत्रमा भ्रमण गर्ने तीर्थयात्रीहरुको संख्यामा वृद्धि हुन सक्ने देखिन्छ । यस मन्दिर क्षेत्रमा हाल पनि प्रशस्त मात्रामा बनभोज खाने समुहहरु आउने गरेको पाईन्छ । हिमालय पर्वतकी छोरी पार्वतीले उनको विवाह भगवान विष्णुसँग गरिदिन आटेपछि भागेर लुकेको ठाउँ भनी सतसीधामलाई लिने गरिन्छ । साथै पृथ्वीमा सुक्खा लागेपछि सतीदेवीले अप्mनो सयवटा आँखाबाट एकैछोटि अश्रुवर्षा गरी खोलो बगाउदा तिनै देवीको नामबाट सतासी हुदै सतासीधाम रहेको भन्ने धामिृक विश्वास छ । झिलझिले बजारबाट लगभग ४ कि.मीं उत्तर चुरेपहाडको फेदीमा इलामको सिमानासंग जोडिएको यस स्थानमा रहेको
प्राकृतिक मूर्तिका स्वरुपहरु, भित्तामा रहेका गाईका थुन आकारका प्रतीकहरु, सतासी खोलाको एक स्थानको बीच भागमा लगभग २० मिटरभित्र मात्र निस्कने गन्धक–पानी, फेदीमा रहेका अन्य मूर्तिहरुले पनि यो स्थान धार्मिक र प्राकृतिक दृष्टिले रोमाञ्चकारी रहेको छ । यहाँ जाने भक्तजनहरु आफ्नो मनोकांक्षा पूरा हुने विश्वासले पूजा आराधना गर्दछन् ।
सतासीधाममा प्रत्येक वर्ष बालाचतुर्दशीको दिन शतबीज छर्नको निम्ति दर्शनार्थीहरुको घुइचो लाग्ने गर्दछ । यसलाई पवित्र धार्मिक स्थल मानिन्छ ।
विराट पोखर सरोवर
अनारमनी गाविस वडा नं. ७ मा अवस्थित विराटपोखर ऐतिहासिक पृष्टभूमिमा आधारित छ । विर्ताबजार दक्षिण सैनिकमोडदेखि चारपाने गा.वि.स. क्षेत्रको माथिल्लो भागसम्ममा रहेका करिब सातवटा पोखरी रहेको यो क्षेत्रलाई महाभारतकालीन कथासँग जोडेर स्थानीय बासिन्दाहरु विराटपोखर भन्ने गर्दछन ।
महाभारतकालीन राजा विराटका गाईवस्तुहरुलाई पानी खुवाउन यो पोखरीको निर्माण गरिएको हो भन्ने जनविश्वास रहेको छ । यो पोखरी विर्तामोडबाट ४ कि.मी. दक्षिणमा एक विगाहा क्षेत्रफलमा फैलिएको छ । यहाँ पुग्नको लागि विर्तामोडबाट बस, ट्याक्सी रिक्सा आदिमा चढेर जान सकिन्छ । यस पोखरीलाई ऐतिहासिक र धार्मिक पृष्टभूमिका अतिरिक्त पर्यावरणीय महत्वका दृष्टिकोणबाट समेत हेर्ने गरिएको पाईन्छ । यस स्थानमा माछापालन गरि नौका विहार गर्न सक्ने प्रचुर सम्भावना रहेको छ ।
बाह्रदशी (कंचनगढ)
झापा जिल्लाको डागीवारी गाविस वडा नं. ८ मा समुद्र सतहबाट लगभग ३०० मिटको उचाइमा अवस्थित अग्लो डाडाँको रमणीय फाँटमा कचनगढ अवस्थित छ कंचनगढ नजिकैको होचो भागमा चिया वगान र सालको जंगल पनि छ । कंचनगढमा शिवालय मन्दिर, दुर्गा, काली एवं श्रीकृष्णको समेत मन्दिर रहेको छ । धार्मिक दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण मानिएको कंचनगढ क्षेत्रमा प्रत्येक वर्ष शिवरात्री, बालाचर्तुदर्श मेला लाग्ने गरेका पाईन्छ । विभिन्न धार्मिक ग्रन्थहरुमा समेत व्यख्या गरिएको कंचनगढ क्षेत्रको विषेशगरी महाभारतको विराट पर्वमा, श्रीस्वस्थानी व्रतकथामा र । श्रीमद्भगवतको अष्टम स्कन्धमा चर्चा भएको पाइन्छ । समुद्र मन्थनको क्रममा भगवान शिवले हलाहल विषपान गरी मोहनी नाम गरेकी सुन्दरीसँग सम्भोग गरेपछि वीर्यपतन हुन जाँदा उक्र स्थानको निर्माण भएको र वीयपतन सँगसँगै सुनचाच्दी, हीरामोती आदि समेत पतन भएको किम्बदन्ती रहेको पाइन्छ ।
वि.सं. १९९० सालतिर एकजना साधु आफ्ना दुई चेलाहरुसहित यस स्थानमा बस्न आउँदा यो स्थान जंगलमुलक थियो । यहाँ बसेपछि ती साधु कहिले बाघम चढी जंगलको सयर गर्ने त कहिले आफै बाघको रुप धारणा गर्ने सिद्धपुरुष भएको र निजले बसोबास गरेको स्थान भएको हुनाले यस स्थानलाई साधु कुटी समेत भन्ने गरिएको जनश्रुती रहेको पाईन्छ ।
बाल्मीकी आश्रम
ऐतिहासिक एवं पुरातात्विक दृष्टिले नेपालकै महत्वपूर्ण स्थानको रुपमा रहेको बाल्मीकी आश्रम र आश्रम क्षेत्र अन्र्तगत रहेको लवकुश धारा मेची अञ्चलको इलाम जिल्लाको बाँझो गाविसअन्र्तगत पर्दछ । झापा जिल्ला स्थित तोपगाछी गाविस भएर बग्ने कमल खोलाको उत्तरी सिरानमा रहेको बाल्मीकी आश्रम सम्म पुग्ने महेन्द्र राजमार्गबाट कमल खोलाको किनारै किनार करिब ७ कि.मि. पैदल यात्रा गर्नु पर्दछ । यस ऐतिहसिक स्थलसम्म मोटर बाटोको सुविधा छैन ।
यस आश्रम क्षेत्रमा महत्वपूर्ण बस्तुहरुका साथै विभिन्न मूर्तिहरु उत्खनन्बाट फेला परेको कुरा स्थानीय बासिन्दाहरु बताउँछन् । आश्रम क्षेत्रमा जाँदा कमल खोलाको किनारै किनार रिखुवा पिलासे जाने बाटोको बीचमा पर्ने चुलाचुली क्षेत्रको “धाम डाँडो” मा भग्नावषेशको रुपमा ठुला–ठुला इँटाहरु फेला पर्ने गरेकोले यस स्थानलार्य पाँडे राजाको दरवार समेत भन्ने गरेको पाईन्छ । आज पनि यस डाँडाबाट बाल्मीकीको आश्रम नजिक रहेका कुँदेर बनाईएका ठूला–ठूला धाराहरु देख्न सकिन्छ । धारा रहेको क्षेत्रको भित्तामा कपडा धुन सकिने ठूला ठूला ढुङ्गाहरु छन् । धारा ढुङ्गाको बीचमा रहेको प्वालबाट पानी झर्ने गरेको पाईन्छ । ढुङ्गाको भित्तामा ढुङ्गाकै कपडा झुण्ड्याउने किलाहरु रहेका छन् । कमल खोलाको मुहान समेत यही धारा हो बाल्मीकीको आश्रम भएको विश्वास गरिएको यस बाल्मीकी आश्रम र सोही आश्रममा जन्मिएका लवकुशलाई स्नान गराउन उपयोग गरिएको धारा भन्ने विश्वास गरिएकोले यहाँका धारालाई लवकुश धाराको रुपमा आस्था एवं श्रद्धा गर्ने गरेको पाईन्छ । उचित प्रचार प्रसार र संरक्षणको अभावको कारणले बाल्मीकी आश्रम र लवकुश धारा ओझेलमा परेका छन् ।
बर्ने चिया बगान
यो झापा जिल्लाको उत्तरी गाविस शान्तिनगरमा पर्दछ । यहाँ चियाको अवलोकन तथा अन्य मनोरम दृश्यले गर्दा सबै समयमा पर्यटकको घुईचो लाग्ने गर्दछ । झापा जिल्लाको पूर्वदेखि पश्चिम र उत्तरदेखि दक्षिण सत्रबै क्षेत्रमा चियाको बगान छन् । र ती बगानमा चिया टिपेको, स्प्रिेकलरबाट सिचांइ गरेको हेर्न साह्रो आनन्द आउँछ । त्यसमध्ये पनि बर्नेको चियाबगान पहाड र तराई दुवै क्षेत्रमा फैलिएको छ र जो कोही झपाबाट इलामतर्फ जानेलाई अनन्द दिइरहेको हुन्छ , यस बगानले ।
पातालगंगा
पातालगंगा जनिकै अर्काे धार्मिक महत्वको नन्दनेश्वर मन्दिर पनि रहेको छ । २०१४ सालमा निर्मित यो मन्दिर १ विगाहा १२ कठ्ठा क्षेत्रमा पैmलिएको छ । शिवरात्री गढिको रुपमा अचल सम्पत्ती रहेको यस मन्दिर क्षेत्रमा प्रत्येक वर्ष शिवरात्रीको अवसरमा मेला लाग्ने गरेको पाईन्छ । यसवाहेक यस क्षेत्रमा अन्य स–साना मन्दिर र देवी देवतका मूर्ति र धामहरु समेत रहेको पाइन्छ ।
दोमुखा
सतासीधाम र सुरुङगा गाविसको बीचमा पर्ने एक पर्यटकीय स्थल हो । यस क्षेत्रबाट कन्काई नहर निकाली झापाको शिवगंज, सतासीधाम, पाँचगाछी गाविस क्षेत्रलाई छोएको छ । झापा जिल्लाको सतासीधाम गाविस वडा नं.–८ गैंडेमा अवस्थित माई दोमुखा खासगरी पिकनिक स्थलको रुपमा पूर्वाञ्चलमा नै प्रसिद्ध छ । पिकनिकको सिजनमा (आश्विनदेखि वैशाख सम्म) दैनिक दश हजारसम्म पिकनिक खाने मानिसहरु आउने गरेका छन् । यो स्थानम वैष्णव देवीको मन्दिर समेत छ । पूर्वपश्चिम राजमार्गबाट लगभग ३ कि.मी. उत्तरमा अवस्थित माई दोमुखा बाट मेची अञ्चल कै सबैभन्दा ठूलो सिंचाई योजना कन्काई सिंचाई प्रणालीको नहरको हेड निर्माण गरी नहर छुट्याएर लगिएको छ । सदरमुकाम चद्रगढी बजारबाट लगभग ४० कि.मि. पश्चिममा अवस्थित माई दोमुखा क्षेत्रमा पिकनिकको उद्धेश्य वाहेक धार्मिक कारणले जाने भक्तजनहरु भने खासगरी शनिवार र मंगलवार जाने गरेको पाईन्छ ।
टाँसी छोयलीङ गुम्बा
झापा जिल्लाको मेचीनगर न.पा. को काँकरभिट्टाबाट दक्षिणतर्पm झरेपछि मेचीनगर न.पा.को वडा नं.–१० मा अवस्थित प्रसिद्ध गुम्बा हो । यहाँ नेपाल, भारत र भुटानबाट बौद्ध धर्मावलम्बीहरु टाँसी छोयलिङ गुम्बाको दर्शन गर्न आउँछन् ।
यसै गुम्बाको नजिकै श्री फारसाङ नाम्दग गे फेलिङ गुम्बा रहेको छ । बौद्ध भिक्षु, लामाहरुबाट प्रवचन दिने तथा धार्मिक अनुष्ठान गर्ने कार्य पनि गरिन्छ । प्राकृतिक रुपमा सुन्दर यस स्थानमा रमाईलो नामको सुन्दर गाउ पनि छ ।
चिल्लागढ
कन्काई माईको किनारामा अवस्थित चिल्लागढ पोखरीको ऐतिहासिकता अझै प्रष्ट भएको छैन तर त्यसमा किराँतहरुले आप्mनो पवित्र धामिृकस्थल भनी पूजाआजा गर्ने गरेका छन् । सतासीधाम गाविस वडा नं. ७ मा पर्ने चिल्लागढ पोखरी क्षेत्रलाई पाण्डवहरु बसोबास गरेको क्षेत्र र यज्ञ गरेको स्थान भनेर चिनिने गरिन्छ । यहाँ रहेको ऐतिहासिक पोखरी रिपरि शिव मन्दिर र कुटीहरु रहेका छन् । यो पोखरी महाभारत कालमा पाण्डवहरुले गाईबस्तुहरुलाई पानी खुवाउन र आपूmले स्नान गर्न बनाएको कुण्ड हो भन्ने किंवदन्ती रहेको पाईन्छ । एक विगाहा क्षेत्रफल ओगटेको यो चारकुने पोखरीको वरिपरि चारकुना बराबरी मिलाएर ६÷७ फिटको उचाईमा माटोको घेरा उठाएर किल्लाको स्वरुप दिईएको पाइन्छ । आजसम्म कहिल्यै नसुनेको भनि विश्वास गरिएको यो पोखरीमा कहिलेकाही बन्दुक पड्केको जस्तो आवाज आउने गर्दछ भन्ने भनाई रहेको समेत पाईन्छ । चिल्लागढ पोखरीमा सतासीधामको सिरान पहाडमा पाईएको विशाल शिवलिङ्ग समेत हालै स्थापित गरिएको छ ।
कोटीहोम
मन्दिरै मन्दिरले सिंगारिएको कोटीहोम क्षेत्र झापा जिल्लाको सुरुगां गाविस वार्ड नं. ४ मा अवस्थित छ । माई नदीको किनार र पुर्वपश्चिम राजमार्गसंगै रहेको छ । यस क्ष्ँेत्रमा कोटीहोम, कृष्ण मन्दिर, शिव मन्दिर, प्रणामी मन्दिर, दुर्गा मन्दिर रहनुका साथै वेद विद्याश्रम समेत रहेको छ । यहाँ असक्त वृद्धवृद्धाका लागि पनि वृद्धाश्रम रहेको छ । २०४२ साल पौष महिनामा योगी नरहरिनाथ यहाा आएर वहाँकै अगुवाईमा रहेको शिव पञ्चायन मन्दिरमा १ करोड गायत्री मन्त्र होम यज्ञ संचालन गराईएको थियो साथै ४ वेद १८ पुराण लगायत सबै धर्म गन्थ पाठ गराईए पछी पवित्र भुमीको रुपमा यो स्थान परिचीत भएको हो । २०४२ सालदेखि यस स्थानमा कन्काई गायत्री विद्यापिठ गुरुकुलको स्थापना भई संचालनमा रहेको छ । त्यसैगरी यहाँ २०४७ सालबाट बन्धु संस्थाको भवन बनाउन शुरुवात गरीएको छ । प्रत्येक १२ बर्षमा कुम्भ मेला संचालन गर्ने निर्णय गरी २०५४ सालमा प्रथम कुम्भ मेला सम्पन्न भएको छ । यहाँ वाषिृक ५ लख स्वदेशि तथा गंगाको पूर्वी शिर मानेर भारत, भुटानबाट समेत भक्तजनहरु आउने गरेका छन् । माघे सक्रान्ती, बोलबम, शिवरात्री, बालाचर्तुदशी, तीज, बुद्धपूर्णीमाका दिन अत्यधिक भक्तजनहरुको घुईचो हुने गरेको छ । यस क्षेत्रमा बन्धु समाजवाट २२ वटा भवनहरु बनइएका छन् । २०४२ सालमा योगी नरहरीनाथले ज्वलन गरेको अग्नी हाल पनि प्रज्वशिल रहेको छ । धार्मिक सहिष्णुताको नमुनाको रुपमा बौद्ध धर्मावलम्बिहरुको गुम्बा समेत रहेको छ । यहाँ विवाह व्रतबन्ध लगायतका कर्मकाण्डहरु सधै भैरहेका हुन्छन् ।
केचनकवल
झापा जिल्लाको केचना गाविसमा पर्ने केचनाकवल नेपालको सबैभन्दा होचो ठाउँ भएकोले पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण स्थल मानिएको यो स्थान समुद्री सतहबाट ५८ मि. उचाइमा रहेको छ । यस क्षेत्रमा ४ विगाहा जमिन अत्यन्त होचो भएको कारण बर्षा याममा पानी जमेर दलदलमा परिणत हुने गर्दछ । तसर्थ हिउँदमा मात्र त्यहाँ निर्मित आधार स्तम्भमा पुग्न सकिन्छ । केचनाकवलमा वि.सं. २०४४ साल पौष १६ गते तत्कालिक राजा विरेन्द्र शाहको पुर्वाञ्चल भ्रमणका अवसरमा २० फिट अग्लो स्तम्भ कछुवाको आकृति माथि स्थापना गरिएको छ । यो ठाउँ नेपाल–भारत सिमानाबाट करिब ५०० मिटर दूरीमा पर्दछ । नेपालकै अल्पसंख्यक आदिवासी गणेश (गनगाई) जातिको समेत बसोबास रहेको केचना क्षेत्रमा २ वटा ऐतिहासिक पोखरीहरु छन् । महाभारत कालमा विराट राजाले राज्य विस्तार गर्दा उनका सेनापतिले निर्माण गरेको विश्वास गरिने यी पोखरीहरुको कारणले पनि यस क्षेत्रको महत्वप अझ बढेको छ । भीमले किच्चकलाई वध गरेपछि उक्त दुई पोखरीहरु पुर्न खोजेका थिए भन्ने किम्बदन्ती पनि छ । मेची राजमार्गको अन्तिम विन्दु केचनाबाट लगभग दुई किलोमिटर पूर्व–उत्तर छिरेपछि नेपालको होचो भूमि भनेर पहिचान गरिएको केचनाकवल पुगिन्छ ।
यस क्षेत्रमा ४ विगाहा जमिन अत्यन्त होचो भएको कारण बर्षा याममा पानी जमेर दलदलमा परिणत हुने गर्दछ । तसर्थ हिउँदमा मात्र त्यहाँ निर्मित आधार स्तम्भमा पुग्न सकिन्छ ।
कृष्णथुम्की
द्वापर युगमा भगवान श्री कृष्णले यस स्थानमा गाई चराएको हुनाले यस स्थानको नाम कृष्ण थुम्की रहन गएको किम्बदन्ती छ । झपा जिल्लाको बाहुण्डाँगी गाविस अन्तरगत पर्ने एक धार्मिक तथा पर्यटकीय स्थलको रुपमा विकास गर्न सके जिल्लाकै विकासमा टेवा पुग्ने देखिन्छ ।
झापा जिल्लाको सुदुर उत्तर–पूर्वी गाविस बाहुण्डाँगी गाविस वडा नं. ७ मा मेची नदी र सिद्धी नदीको संगममा रहेको कृष्णथुम्की धामिृक एवं ऐतिहासीक दृष्टिकोणले अयन्तै महत्वपूर्ण छ । वरिपरि समथर जमिन रहेको स्थानमा भरेको पाथी जस्तो चुलिएर बसेको कृष्णथुम्कीलाई द्वापर युगमा भगवान श्री कृष्णले गाई चराएको ठाउँ भएको विश्वास गर्ने गरिन्छ ।
कृष्णथुम्कीमा एउटा चेप्टो ढुङ्गामा मानव र गाईको पद चिन्ह अंकित छ । कांकरभिट्टाबाट १३ कि.मी. उत्तरमा अवस्थित कृष्णथुम्कीमा कृष्णथुम्की र अन्य ५ वटा थुम्की समेत जम्मा ६ वटा थुम्कीहरु रहेका छन् । यहाँ रहेको कृष्णथुम्कीवाहेक अन्य ५ वटा थुम्कीहरुलाई पाँच पाण्डवको प्रतिकको रुपमा लिने गरिएको पाईन्छ । यी थुम्कीहरुबाट झापा जिल्लाको अधिकांश क्ष्ँेत्र र भारतको केही क्षेत्रको दृश्यावलोकन समेत गर्न सकन्छि । कृष्णथुम्कीमा मेचीनगर न.पा., बाहुण्डाँगी गाविस र नेपाल पर्यटन बोर्डको संयुक्त प्रयासमा झापा भ्यू टावर निर्माण गर्ने लक्ष्य रहेको समेत देखिन्छ । यस स्थानमा टावर निर्माण भएमा त्यसबाट सुर्याेदयको दृश्यावलोकन गर्न सकिन्छ ।
वरिपरि समथर जमिन रहेको स्थानमा भरेको पाथी जस्तो चुलिएर बसेको कृष्णथुम्कीलाई द्वापर युगमा भगवान श्री कृष्णले गाई चराएको ठाउँ भएको विश्वास गर्ने गरिन्छ ।
किच्चक बध
झापाको सदरमुकाम चन्द्रगढीबाट लगभग १ किलोमिटर पूर्व दक्षिणमा देवनिया र मेची नदीको किनारमा धार्मिक तथा पर्यटकीय क्षेत्र किच्चकबध पर्दछ ।
महाभारतकालिन कथामा आधारित किच्चकबधमा थुप्रै पुरातात्विक वस्तुहरु छन् । त्यहाँ एउटा षट्कोणको आकारमा रहेको आकर्षक पोखरी देखिन्छ । त्यसको छेउबाट मेची नदी, बगेकोछ भने त्यस वरिपरि रहेका देवी–देवताका मन्दिर तथा प्रतिमाहरुका कारणले किच्चकबध निकै आकर्शक पनि छ ।
महाभारत कालीन कथाको प्रसङ्गसँग जोडिएको किच्चकबध करिब १० विगाहा क्षेत्रफलमा पैmलिएको छ । यसको कथा भीमसेनले किच्चकलाई बध गरेको प्रसङ्गसँग जोडिन्छ । महाभारत कालीन एक कथा अनुसार विराट नामका राजा विराटनगरमा राज्य गर्थे, जसको किच्चक नामको सेनापति थियो ।
किच्चक विराटको सालो भए पनि शक्तिशाली तर दुराचारी पनि थियो । विराट राजाको दरवारमा पाण्डवहरु विभिन्न छद्म नामले गुप्तबास बस्ता किच्चकको कुदृष्टि द्रौपदी माथि परेछ । त्यस बाट द्रौपदीलाई जोगाउन पाँच पाण्डवमध्येका सबभन्दा बलशाली भीमसेन किच्चकसंग भिड्न कस्सिछन् र भिमसेनले किच्चकको बध गर्न उसलाई खेद्न थालेछन् । यसरी खेद्दै जाँदा अर्जुनधारा, विराटपोखर ब्ब्किच्चकबधमा पुग्दा भीमसेनले किच्चकको घाँटी थिचेर मारे छन् र त्यस स्थानलाई किच्चकबध भनियो भन्ने किंवदन्ती पाईन्छ । भीमसेनले किच्चकको बध गर्नासाथै सोही रगत पखाल्न उनले हानेको बाणले जुन ठाउँमा लाग्यो त्यही स्थानमा पोखरी स्थापना भयो भन्ने किंवदन्ती समेत रहेको छ । त्यस नजिकै रहेको सो पोखरीमा नुहाएमा रोगब्याधबाट बच्न सकिन्छ भन्ने जनविश्वास समेत रहेको पाईन्छ ।
पृथ्वीनगर–५ र महेशपुर–३ को सीमामा पर्ने धार्मिक स्थल किच्चकबध स्थानमा स्वस्थानी पूर्णिमाको दिन प्रत्येक वर्ष मेला लाग्ने गर्दछ । सो क्षेत्रमा अरुवेला भने त्यति धरै पर्यटकहरु पुग्दैनन् पर्यटककै सुविधाका लागि हाल सो क्षेत्रमा सार्वजनिक सौचालय, बिजुली बत्ति र खानेपानीको राम्रो ब्यवस्था गरिएको छ ।
किच्चकबध क्षेत्रमा पुरातात्विक उत्खनन गर्दा ८ कोठा भएको भवन फेला परेको र त्यसको तल्लो तहमा अर्काे छुट्टै भवनको आकृति समेत फेला परेको छ भने सबैभन्दा ठूलो कोठा २२ मिटर लामो छ । किच्चक वधको उत्खनन गर्दा दुई तहमा पुरातात्विक सामाग्री फेला परेको कारण त्यहा एउट सभ्यताको विनास पछि अर्काे सभ्यताको विकास भएको बताईन्छ । त्यस अघिको उत्खनन कार्यबाट सात मिटर अग्लो १२३ मि. लामो सुरक्षा पर्खाल सहित महत्वपुर्ण पुरातात्विक सामग्रीहरु फेला परेका थिए । यस आधारमा उक्त स्थान दुई हजार वर्ष पुरानो शुङ्गकुषाण मानिएको छ ।
किच्चकवध विकासको गुरुयोजना तयार गरी कार्य गर्नेहो भने सो क्षेत्रलाई आन्तरिक तथा बाह्य पर्यटकको गन्तब्य स्थल बनाउन सकिने निश्चित छ । किच्चकबध उत्खनन्को प्रसंगलाई आधार बनाइ कृष्ण धरावासी द्वारा किच्चकबधको सेरोफेरोमा लेखिएको उपन्यास “राधा” ले मदन पुरस्कार पाइसकेको छ । जसले यसको पर्यटकीय महत्वलाई बढाएको छ ।
कनकाई माई
अर्जुनधारा
२०५५ सालको हुलाक टिकटमा समेत चित्रांकित अर्जुनधारा क्षेत्रमा प्रत्येक वर्ष लाखौं स्वदेशी तथा भारतीय तीर्थ यात्रीहरुले भ्रमण गर्ने गरेको पाईन्छ । यहाँ शिव, गणेश, नाग, हनुमान र सरस्वती आदि देवी देवताका मूर्तिहरुका अतिरिक्त विवाह, कर्मकाण्ड, यज्ञकक्ष, क्रियापुत्री कक्ष, धर्मिक कार्यक्रम वाचन तथा श्रोता कक्ष आदिको स्थापना गरिएको पाईन्छ । यस स्थानमा संस्कृत मा.वि. र वेदविद्यापीठ समेत स्थापना गरीएका छन् ।
अर्जुन धारमा प्रत्येक वर्ष बालाचतुर्दशी र श्रावण महिनाभर मेला लाग्ने गर्दछ, जुन अवसरहरुमा देश भित्रका र भारतबाट समेत भक्तजनहरुआउने गर्दछन
Subscribe to:
Posts (Atom)