Showing posts with label फिचर. Show all posts
Showing posts with label फिचर. Show all posts

विश्व किर्तिमानकोलागी झलकको उल्टो गाडि यात्रा सुरु

काठमाडौ, २१ असार गिनिजबुक अफ बल्र्ड रेकर्डमा नाम लेखाउने उद्देश्य सहित झलकबहादुर थापाले काठमाडौदेखि दोलखासम्मको उल्टो सवारी यात्रा सुरु गरेका छन्
आज विहान राजधानीको दशरथ रंगशालामा आयोजित विशेष कार्यक्रमबाट उनले आफ्नो किर्तिमानी यात्रा सुरु गरेका हुन । उनलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले टोयोटा ल्याण्ड क्रुजर गाडिको चावी हस्तान्तरण गरेर यात्राको सुरुवात गरेका हुन ।
मुनाफ नामक संस्थाको आयोजनामा भएको सो उल्टो सवारी यात्रा दोलखासम्म सफलतापूर्वक पुगे त्यसले विश्व किर्तिमान कायम गर्ने र यसको सम्पूर्ण प्रक्रिया पुरा गरेको आयोजक संस्थाका अध्यक्ष प्रेमध्वजले जानकारी दिए ।
साहसीक उल्टो सवारी यात्री झलकलाई चावी हस्तान्तरण गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले यस्तो साहसीक यात्रालाई सबैले सम्मान र सहयोग गर्नु पर्ने धारणा राखे । उनले नेपाल र नेपालीको नाम विश्वमै उचो राख्ने यस्तो यात्रालाई सफल बनाउन सरकार, नेपाली नागरिक सबैले सक्दो सहयोग गर्नु पर्ने बताए । उनले एउटा नेपालीले साहसिक यात्रा गरेर गिनिजबुकमा नेपालको नाम अंकित गराउनु सबैकोलागी गौरबको विषय भएको बताए ।
सोही कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले राज्यले सहयोग गर्नु पर्नेमा आफै र समाजले मात्रै सहयोग गरेर एक नेपालीले विश्व किर्तिमानकोलागी सहसिक यात्रा गर्नु राज्यकोलागी गंभिर चुनौति भएको भन्दै राज्यले किर्तिमान यात्रालाई बेवास्ता गर्नु लाजमर्दो अवस्था भएको आरोप लगाए । उनले नेपाली पत्रकारीता राजनीतिक विषयबस्तुमा मात्रै अल्झिदा अन्य क्षेत्रले प्रोत्साहन पाउन नसकेको दावी गर्दै पत्रकारिताले यस्ता किर्तिमानलाई प्रोत्साहन गर्नु पर्ने बताए ।
उनले हिजो रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दा खगेन्द्र थापामगरलाई मिडीयाले प्रारम्भमा बेवस्ता गरेको स्मरण गर्दै अब यस्तो प्रथालाई मिडियाले पन्छाउनु पर्ने सुझाव दिए ।
किर्तिमान यात्रालाई सुभकामना दिन आयोजित कार्यक्रममा क्षेत्री समाज महासंघका अध्यक्ष भुपति खडका, मधुकर थापा, क्षेत्री समाजका महासचिव रामकुमार क्षेत्रीलगायतकाले सफलताको सुभकामना दिएको थिए । अहिले यात्रा जारी रहेको छ । उनको सहयोगकोलागी आयोजक , सुभचिन्तक र पत्रकारहरु पनि साथ साथै रहेका छन् ।

नेपाल केन्द्रित हुँदैछ पाँच मुलुकको सहायता


दाता मुलुकहरू डेनमार्क, फिनल्यान्ड, नर्वे, बेलायत र अस्ट्रियाको अन्तर्राष्ट्रिय विकास रणनीतिको केन्द्रमा नेपाल परेको छ । एसियाली विकास बैंक (एडीबी) को संशोधित दाता प्रतिवेदन– २०१० मा यस्तो खुलासा भएको हो । यो प्रतिवेदन एडीबीले पाँचै मुलुकसँगको सहकार्यमा तयार पारेको ‘विकास रणनीतिपत्र– २०२०’ मा आधारित छ ।
 डेनमार्कले डीआईडीए, बेलायतले डिफिड र अस्ट्रियाले एडीसी तथा नर्वे र फिनल्यान्डले विदेश मामिला मन्त्रालयमार्फत विकास सहायता परिचालन गर्दै आएका छन् । यी मुलुकहरूले लामो समयदेखि नेपाललाई निरन्तर सहयोग गर्दै आएका छन् ।
डेनमार्कको विकास नीतिमा नेपाल सन् १९८९ देखि परेको हो । त्यसयता उसले नेपाललाई शिक्षा, स्वास्थ्य, जनजीविका सुधार र मानवअधिकार संरक्षणलगायतका क्षेत्रमा सहयोग उपलब्ध गराउँदै आएको छ ।
नेपाल र नर्वेबीच सन् १९७३ मा कूटनीतिक सम्बन्ध स्थापना भए पनि सन् १९६० देखि नै उसले नेपालमा स्वयंसेवक पठाएर सहयोग थालेको थियो । दुई देशका सरकारबीच वैदेशिक सहायताका लागि भने सन् १९९६ मा मात्र सम्झौता भएको हो । नर्वेले नेपाललाई सहस्राब्दी विकास लक्ष्य (एमडीजी) हासिल गर्न सघाउँदै आएको छ ।
विशेषगरी शिक्षा क्षेत्रमा जोड दिँदै आएको फिनल्यान्डले सन् १९८२ देखि विकास सहायता उपलब्ध गराउँदै आएको छ । २००० देखि २००९ सम्ममा ५ करोड युरो (करिब ४ अर्ब ८० करोड रूपैयाँ) सहायता उपलब्ध गराएको फिनल्यान्डले २०१० देखि २०१४ सम्मका लागि ८ करोड ९० लाख युरो (करिब ८ अर्ब ५४ करोड ४० लाख रुपैयाँ) सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । आगामी चार वर्षका लागि उपलब्ध हुने यो रकम विगत नौ वर्षको सहयोगको तुलनामा ७८ प्रतिशतले बढी हो ।
डिफिडले शिक्षा, स्वास्थ्य, आर्थिक वृद्धि, सुशासन, मानवीयता, सामाजिक सेवालगायतका क्षेत्रमा सहयोग उपलब्ध गराइरहेको छ । अहिले नेपालमा डिफिडका १० वटा परियोजना सञ्चालनमा छन् । सन् १८१६ को सुगौली सन्धिसँगै नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।
बेलायतले डिफिडमार्फत लागू हुने नयाँ चार वर्षे ‘कन्ट्री बिजनेस प्लान (सीबीपी)’ मा नेपाललाई दिने सहयोग राशि बढाएको छ । २०११ देखि २०१५ सम्मको सीबीपीमा बेलायतले नेपाललाई गर्ने सहयोगमा ९१ प्रतिशतले वृद्धि गर्ने जनाएको छ । २००८ देखि २०११ सम्मको तीन वर्षे सीबीपीमार्फत डिफिडले नेपाललाई १७ करोड २० लाख पाउन्ड (करिब १९ अर्ब ६० करोड ८० लाख रुपैयाँ) सहयोग छुट्ट्याएको थियो ।
अस्ट्रियाले आफ्नो वैदेशिक सहायता परिचालन गर्ने निकाय एडीसीको प्रतिनिधि कार्यालय नेपालमा नभए पनि उसले विगत २५ वर्र्षदेखि निरन्तर सहयोग गर्दै आएको छ । एडीसीले नेपालमा अस्ट्रियन र नेपाली गैरसरकारी संस्थामार्फत काम गर्दै आएको छ । ‘इको हिमाल’ नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्था विगत १० वर्षदेखि एडीसीको साझेदार रहँदै आएको छ ।
यी दाता मुलुकले गरिब र आन्तरिक द्वन्द्व तथा युद्धबाट भर्खरै बाहिर निस्केका मुलुकलाई विकास रणनीतिको केन्द्रमा राखेका छन्, जसअन्तर्गत अफगानिस्तान, श्रीलंका, बंगलादेश, भियतनाम र पाकिस्तान छन् ।
एडीबीले एसियाको बृहत्तर विकासका लागि आउँदो दशकमा ठूलो धनराशिको लगानी आवश्यक रहेको हुँदा यी मुलुकसँग मिलेर ‘विकास रणनीति– २०२०’ तयार पारेको पनि प्रतिवेदनमा भनिएको छ ।
एडीबीले विकासशील एसियामा वार्षिक १४ अर्ब अमेरिकी डलर (करिब १० खर्ब ८ अर्ब रुपैयाँ) लगानीको आवश्यकता रहेको देखाएको छ । “एसियामा लगानी गर्न आवश्यक ठूलो रकम जम्मा गर्न विश्वका सम्पूर्ण दाता मुलुकसँग सहकार्य गरेर अगाडि बढ्न जरूरी छ,” प्रतिवेदनमा भनिएको छ ।
सन् २०२० सम्ममा एसियालाई समृद्ध बनाउन यस क्षेत्रमा पूर्वाधार, वातावरण, क्षेत्रीय सहकार्य र शिक्षामा विशेष लगानी गर्नुपर्ने एडीबीको भनाइ छ । “यी क्षेत्रमा लगानी गर्न एसियामात्र नभई सबै विकास साझेदारसँगका स्रोत तथा साधन सदुपयोग गर्न आवश्यक छ,” प्रतिवेदनमा भनिएको छ । 
Via Source:- Karobar Daily

आशिष पत्रकारीता पुरस्कार रमेश समदर्शी को पोल्टामा

मेची अञ्चलमा प्रत्येक वर्ष प्रदान गरिँदै आएको आशिष पत्रकारीता पुरस्कारबाट झापाका पत्रकार रमेश समदर्शी पुरस्कृत हुनुभएको छ । इलामका युवा पत्रकार स्वर्गीय आशिष राईको स्मृतिमा स्थापना गरिएको पत्रकारीता पुरस्कारबाट झापामा सक्रिय युवा पत्रकार रमेश समदर्शी पुरस्कृत हुनु भएको हो ।
आज एक कार्यक्रमका बिच प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले पुरस्कृत पत्रकार राईलाई दोसल्ला र नगद पाँच हजार एक रुपैयाँ नगद प्रदान गर्नुभएको हो । आशिष स्मृति पत्रकारीता पुरस्कार कोषका संयोजक कार्यक्रममा डाक्टर देवी क्षेत्री दुलालको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी निरौलाले प्रेस स्वतन्त्रताका लागि सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । कार्यक्रमका अधिकाँश वक्ताहरुले अबका पत्रकारहरुले व्यवसायिक पत्रकारिता गर्नुपर्ने बताए ।
आशिष पत्रकारीता पुरस्कारबाट हालसम्म इलामका बेनुप भट्टराई, राजु सिवा, पाँचथरका गणेश साम्पाङ्ग, झापाका मोहन काजि र ताप्लेजुङ्गका आनन्द गौतम पुरस्कृत भइसकेका छन् ।
२०६० सालमा स्थापना भएको पुरस्कारको राशी ५ हजार १ रुपैयाँ र प्रमाणपत्र रहेको छ । रेडियो नेपालका तत्कालिन समाचारदाता आशिष राईको २०५९ साल बैशाख एक गते नयाँबर्ष मनाउने क्रममा राजदुवाल) (माईखोला) मा डुबेर निधन भएको थियो । राईको निधनपछि आशिष पत्रकारीता पुरस्कार कोष स्थापना गरिएको थियो ।
आषिश पत्रकारीता पुरस्कारबाट प्रत्येक वर्ष मेची अञ्चलका एक जना सक्रिय पत्रकारलाई पुरस्कृत गरिंदै आएको छ । प्रत्येक वर्ष बैशाख एक गते प्रदान गरिंदै आएको पुरस्कार नेपाल पत्रकार महासंघ इलाम शाखाका अध्यक्ष उमेश गुरुङ्गलाई एकैपटक पत्नि र मातृ शोक परेकाले बैशाख १५ गते मात्र प्रदान गरिएको हो ।
Via Source:- Purbeli Times

सागको व्यापारले धानेको परिवार


धनकुटा, चैत्र २३ 
मूर्तिढुंगा गाविसकी सीता कार्की रायोको साग बेचेरै परिवारको गुजारा गर्न सक्ष्ाम भएकी छिन् । उनी साग बिक्री गरेर घरायसी र छोराछोरी पढाउने खर्च जोहो गर्दै आएकी छिन् ।

उनी मात्र नभएर जिल्लाका लेकाली भेगका अधिकांश कृषक रायोको साग उत्पादन गरी आम्दानी जुटाउँदै आएका छन् । अधिकांश महिना उत्पादन गर्न सकिने र बजारको समेत समस्या नभएपछि कृषकहरू ढुक्क भएको बताए । महिनामा कम्तीमा एक हजारभन्दा बढीको साग बिक्री गर्दै आएको कार्कीले बताइन् । 

सिधुवा तथा हिले लगायतका स्थानमा आफूले डोकोमा बोकेर लगेको साग क्षणभरमा बिकिहाल्छ, कार्कीले दंग हुँदै भनिन्, एक डोको बिक्री गर्दा महिनाको घर खर्च चल्छ । उनका तीन बालबच्चा र परिवारका लागि विगत चार वर्षदेखि सागको कारोबार मुख्य आम्दानीको स्रोत बनेको बताइन् । 

असोजदेखि चैत महिना मुख्य उत्पादन हुने रायोको सागले वर्षभरका लागि कृषकहरूले आम्दानी जुटाउन सक्षम भएको सिधुवा कृषि सहकारी संस्थाका अध्यक्ष मेगेन्द्र गुरुङले बताए ।

 बजारमा खुद्रा रूपमा बिक्री हुने गरे पनि उचित मूल्यमा साग तथा अन्य तरकारी सहकारीले खरिद गरिदिएपछि बजारको समस्या नभएको गुरुङले जानकारी दिए । मूर्तिढुंगा, परेवादिन, जितपुर, तांखुवा तथा चौबीसे क्षेत्रको भेडेटार, डाँडाबजार, राजारानी लगायतका स्थानमा साग उत्पादन र कारोबार हुने गरेको जिल्ला कृषि विकास कार्यालय स्रोतले जनाएको छ ।

वर्षमा करिब सात महिनासम्म उत्पादन हुने रायोको सागले परेवादिनकी दीपा गुरुङले पनि मनग्य आम्दानी हुने बताइन् । उनले महिनाभरमा कम्तीमा साढे तीन हजारभन्दा बढी सागको बिक्रीबाट आम्दानी गर्छिन् । 

यस बाहेक अन्य प्रकारका तरकारी खेतीलाई पनि यहाँका कृषकहरूले आम्दानीको स्रोत बनाएका छन् । जसबाट वाषिर्क तरकारी खेतीबाटै यस क्षेत्रका कृषकले कम्तीमा एकदेखि चार लाखसम्म आम्दानी गर्दै आएको सिधुवा सहकारी स्रोतले जनाएको छ । 

यहाँका कृषकहरूले स्थानीय बजारबाहेक धनकुटा सदरमुकाम, धरान, इटहरी, विराटनगरसम्म आफ्ना उत्पादन पुर्‍याउने गरेका छन् । प्रत्यक्ष रूपमा स्थानीय बजारमा कृषक स्वयम्ले बिक्री वितरण गर्दै आए पनि खरिदेहरूको माध्यमले अन्य ठूला बजारमा उत्पादन पुुग्ने गरेको छ । 

प्रतिमुठा सागको मुख्य कम्तीमा दसदेखि पन्ध्र रुपैयाँसम्म रहेको छ । ठूला सानो मुठाको आधारमा मूल्य कायम हुन्छ, परेवादिनका जितबहादुर विष्टले भने, यसको खेती गर्न सहज भएकाले आम्दानी बढी हुनेगर्छ ।

राजधानी तथा अन्य ठूला सहरमा पनि यहाँको सागको माग बढ्दै गएको कृषि विकास कार्यालयले जनाएको छ । वाषिर्क रूपमा सागको एक करोडभन्दा बढीको कारोबार हुने गरेको स्रोतले जनाएको छ ।
Source:- ekantipur

दहको डिलमा गुन्द्रुक र भात ख्वाएर स्वागत


बिष्णुप्रसाद पोखरेल /गौरीगन्ज
दमक चैत १७ गते
देश भर मात्र नभएर अन्तराष्ट्रिय स्तरमा समेत ख्याती कमाएका साहित्यकारहरु आउने भएपछि झापाको गौरादहमा कार्यक्रम कसरी गर्ने छलफल भयो ।
कसैले क्याम्पसको सभा हलमा गर्ने भने त कसैले गाबिस भवनमा तर स्थानिय महिला समुहले ऐतिहासिक महत्व बोकेर पनि ओझेलमा परेको गौरादहको पोखरीको डिलमा कार्यक्रम गरेर यी दहको ऐतिहासिकता सबैमा बुझाउनु पर्ने प्रस्ताब राखे ।
यहि प्रस्ताब पास भयो र शनिबार राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ख्याति कमाएका साहित्यष्कारहरु नौ बिघाह क्षेत्रफलमा ओगटिएको गौरादहको दहको किनारमा बसेर बिशेष कार्यक्रममा सहभागी बने ।
अतिथिहरुले के ख्वाउने र कस्तो ख्वाउने भन्ने पनि छलफल भयो र यस बिषयमा पनि नयाँ पन दिने यहाँका बासिन्दाहरुले अठोट लिए ।
पोखरीको डिलमा नै खाना पकाइयो र संगसंगै गुन्द्रुकको झोल ख्वाएर अतिथिलाइ स्वागत गर्ने त्यो पनि टपरा र दुनामा मात्र ख्वाउने ।
टपरा र दुनामा गुन्द्रुको झोल संग तिल पिधेर बनाएको चटनि संग अतिथिहरुले उत्साहका साथ खाना खाए ।
जुहि प्रकाशन समुह भद्रपुर र बिहानी साहित्य समाज गौरादहले आयोजना गरेको साहित्यिक समारोह यसरी नै चल्यो ।
कार्यक्रममा साकित्यकार डा.टक न्यौपाने,भाषाबिद बालकृष्ण पोखरेल ,प्राज्ञ कृष्णभुषल बल र अनिरुद्ध तिम्सिना,साहित्यकार कृष्णबिनोद लम्साल,चुणामणि रेग्मि ,रामप्रसाद ज्ञवाली लगायतका पाँच दर्जन भन्दा बढी साहित्यकारहरुको उपस्थिति रहेको थियो ।
बिहानी साहित्य समाज गौरादहका दिपक सुबेदीका अनुसार ग्रामिण क्षेत्रमा पनि साहित्यको माध्यमबाट पनि केहि गर्न सकिन्छ भनेर यो कार्यक्रमको आयोजना गरीएको हो ।
कार्यक्रममा परिवर्तनका लागि साहित्यको भुमिकाको बिषयमा छलफल संगै यस क्षेत्रका पुराना साहित्यकार र शिक्षासेवीहरु पनि सम्मानित भए ।
यसरि सम्मानित हुनेहरुमा घनेन्द्र शर्मा,जगन्नाथ दाहाल,कर्णकुमार श्रेष्ठ एक्ले,नारायणबहादुर कार्की र उदयलाल यादब रहनु भएको थियो ।
दिपक सुबेदीले कला र साहित्यमा गौरहद एक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने गौरादह बहुमुखि क्याम्पसका पुर्व क्याम्पस प्रमुखले गौरादहका पोखरीको बिषयमा चर्चा गर्नु भएको थियो ।
नयाँ तथा पुराना र ख्याती कमाएका साहित्यकारहरुको बाक्ले उपस्थिति रहेको कार्यक्रममा डम्बरुबल्लभ भण्डारीको महाकाब्य अब क्रान्ति बाँकि छ बिमोचन पनि गरिएको थियो ।
साहित्य र कलाको कुनै सिमना नहुने भन्दै ग्रामिण क्षेत्रमा हुने यस्ता कार्यक्रमहरुको महत्व बडदै गएको साहित्यकार प्रकाश बुढाथोकीले बताउनु भयो ।

एकै मण्डपमा चार छोरीको व्रतवन्ध

पहेंले वस्त्रसहितको ब्रतवन्धको भेषमा चार युवतीहरु देखिए । पुरोहितले मन्त्र उच्चारण गरिरहेका थिए । दृष्य थियो झापा दमकको पशुपति मन्दीरको । हो, झापा दमक-१३ का ४ दिदीबहिनीहरुले आज सामुहिक रुपमा ब्रतबन्ध गरेका छन् ।


२० बर्षीया नबिना कोइराला, १८ बर्षीया सबिना, १५ बर्षीया एलिना र १०बर्षीया सलिनाले एकै मण्डपमा ब्रतबन्ध गरेका हुन् । एमबीबीएस अध्ययनरत नबिना, भेटनरी अध्ययनरत सबिना र आइएस्सी अध्यययनरत एलिनाले सँस्कारलाई चुनौती दिँदै छोराहरुले गर्ने कर्म गरेका हुन् ।
आमा हरीकुमारी कोइरालाले अनुसार छोरा र छोरीको बिभेद हटाउन कर्म गरिदिएको बताइन् । उनले भनिन् – पितृको श्राद्ध गर्नका लागि छोरीलाई पनि बाटो खुलेको छ ।


पुरोहित मोतिखर भट्टराईका अनुसार छोरालाई गरिने सबै कर्म पूरा गरि ब्रतबन्ध गरिएको हो । उनले भने – शास्त्रमा कहिँ कतै छोरीहरुलाई ब्रतबन्ध गर्न नहुने कुरा लेखिएको छैन ।

धरान खुला दिशामुक्त नगरपालिका घोषणा


 धरान नगरपालिकाले धरान नगरक्षेत्रलाई खुला दिशामुक्त क्षेत्र घोषणा गरेको छ । बुधबार एक कार्यक्रमको आयोजना गरी नगरपालिकाले धरानलाई खुला दिशामुक्त नगर घोषणा गरेको हो । नेपालका ५८ वटा नगरपालिकाहरु मध्ये खुला दिशामुक्त नगरपालिका घोषणा गर्ने धरान मुलुककै पहिलो नगरपालिका बनेको छ ।
नगरपालिकाको प्राङगणमा आयोजित कार्यक्रममा कार्यकारी अधिकृत टिकादत्त राईले धरानलाई खुला दिशामुक्त क्षेत्र घोषणा गदै सफा, सुन्दर र स्वस्थ्य धरान बनाउन यो अभियानले थप मद्दत पुग्ने बताए । खुला दिशामुक्त क्षेत्र घोषणासागै कार्यक्रमलाई दिगोपन दिन आचारसंहिता एवं प्रतिवद्धता समेत जारी गरिएको छ खुला दिशामुक्त क्षेत्र घोषणा कार्यक्रमलाई व्यहारमा उर्तान आचारसंहिता जारी गरिएको नगरपालिका समाज विकास शाखा प्रमुख सुनिल नेपालले बताए ।
घोषणा कार्यक्रममै जारी गरिएको आचारसंहितामा प्रमुख अतिथि, अतिथिका साथै नगरबासीहरुले हस्ताक्षर गरेर पालन गर्ने प्रतिवद्धता समेत जनाएका थिए । आचारसंहितामा समुदायका हरेक घरमा अनिवार्य चर्पी हुनै पर्ने, नयाा घर बनाउदा अनिवार्य तर्पी बनाउनै पर्ने, जथाभावी दिसा पिसाब गर्न नपाइने, त्यसो गरेमा नगद ५०१ रुपैया स्थानीयले जरिवाना लिने लगायतका व्यवस्था गरिएको छ ।
धरानमा कुल २२ हजार ६ सय ६१ घर धुरी र १ लाख ७५ हजार ४ सय ९७ जनसंख्या रहेको छ । नगरपालिकाले धरानलाई खुला दिशामुक्त क्षेत्र बनाउन करिब ३ बर्षअघिदेखि एक घर एक चर्पी अभियान शुरु गरेको थियो । यसअघि, गएको माघमा आयोजित स्वर्ण महोत्सवको अवसरमा धरानका विभिन्न १० वटा वडालाई नगरपालिकाले खुला दिशामुक्त क्षेत्र घोषणा गरिसकेको थियो । घोषणा कार्यक्रममा प्रमुख अतिथि एवं सुनसरी क्षेत्र नं १ का सभासद किरणकुमार राई, प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलिया, स्थानीय विकास अधिकारी प्रेमप्रसाद भटराईलगायतको उपस्थिति रहेको थियो ।
घोषणासभा अघि विभिन्न संघसंस्थाहरुको सहभागितामा पञ्चेबाजासहितको बृहत र्यालीले धरान बजारको परिक्रमा गरेको थियो । कार्यक्रममा एक घर एक चर्पी अभियानमा सहयोग पुर्याउने संघसंस्थाहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो ।

तारैतारले जेलिएको राजधानी


जताततै लत्रिएका तार, तारै–तारैको बोझले लत्रिएका बिजुलीका खम्बा । राजधानीका कुनै पनि टोल–गल्ली यस्ता छैनन्, जहाँ तारको गन्जागोल नहोस् ।
सडक किनारमा अव्यस्थित रूपमा तानिएका तारले राजधानीलाई कुरूप बनाएको छ । टेलिफोन, केबल टेलिभिजन र बिजुलीका तार तथा प्रत्यक्ष प्रसारण गर्ने टेलिभिजन र एफएमहरूले राख्ने तारहरूको सही व्यवस्थापन हुन नसक्दा राजधानी कुरूप बनेको हो ।
सहरको सुन्दरता व्यवस्थापन गर्ने जिम्मा पाएको महानगरपालिकाको सहरी विकास विभाग महाशाखाले तार व्यवस्थापन सम्बन्धमा कुनै निर्देशिका तथा कानुन नभएको यस विषयमा ध्यान दिन नसकिएको भन्दै पन्छने गरेको छ ।
महाशाखा अधिकारीहरू एउटा समिति बनाएर तार व्यवस्थित बनाउनुपर्ने टड्कारो आवश्यकता भएको बताउँछन् । “तार तान्न जान्ने निकायले त्यसको व्यवस्थापन गर्नुपर्छ,” महाशाखाका एक इन्जिनियर भन्छन्, “पृथ्वीबाट कति उचाइसम्म तार टाँग्न पाउने भन्ने हालसम्म कुनै मापदण्ड छैन ।”
तार व्यवस्थित पार्ने विषयमा टेलिकम, विद्युत् प्राधिकरण, केवुल टिभी संघ र केबल टेलिभिजन एसोसिएसन, महानगरपालिका लगायतका सरोकारवालाहरूको एक चरणको बैठक गत मंसिरमा बसिसकेको छ ।
गत माघबाटै तार व्यवस्थापनलाई तीव्र गति दिइने भनिए पनि यसका लागि हालसम्म कुनै पनि निकायले चासो देखाएका छैनन् ।
तार तान्नुपर्ने निकायहरूले समन्वय गरेर गएमा एउटै ‘कोर’बाट २४ लाइन तार प्रयोग गर्न सकिने नेपाल केवल टेलिभिजन संघका कार्यकारी निर्देशक राधेश्याम लेकाली बताउँछन् ।
“अरू निकाय तार व्यवस्थापन गर्न तयार भएमा केवल टिभी संघ तथा एसोसिएसन यसमा तयार छौं,” उनले भने, “सुन्दरतामा राजधानी धेरै पछाडि परेकाले एउटा समिति बनाएर लाग्नुपर्छ ।”
नेपालमा वार्षिक करोडौं रुपैयाँको तार आयात हुने अनुमान सम्बन्धित निकायको छ । नेपाल प्रयोग हुने तारमध्ये करिब ९० प्रतिशत भारत र चीनबाट आयात हुन्छ । आवश्यकताभन्दा धेरै तार सडक किनाराका पोलमा छोड्दा सडक नराम्रो मात्र नभएर दुर्घटनासमेत हुने गरेको छ ।
सडकका पोल प्रयोग गरेबापत प्रयोगकर्ताले वार्षिक निर्धारित शुल्क तिर्नुपर्ने व्यवस्था छ ।  नेपाल टेलिकमका पोलको प्रयोग गरेबापत महानगर क्षेत्रमा ३ सय ३५ रुपैयाँ, उपहानगरपालिकामा क्षेत्रमा २ सय ५० रुपैयाँ, नगरपालिका क्षेत्रमा २ सय र गाउँ विकास समितिमा १ सय ५० रुपैयाँ वार्षिक भाडा तिर्नुपर्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
त्यसैगरी, विद्युत् प्राधिकरणका पोल प्रयोगकर्ताले प्रतिवर्ष उपत्यकामा २ सय ५ रुपैयाँ, उपमहानगरपालिकामा प्रतिपोल १ सय ५० र नगरपालिकामा १ सय र गाउँ विकास समितिका पोलको ५० रुपैयाँ बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।
नेपाल टेलिकम र विद्युत् प्राधिकरणबाहेक महानगरपालिकालाई समेत ंवार्षिक शुल्क बुझाउनुपर्ने केबुल अप्रेटरहरूले बताएका छन । टेलिकमले विद्युत् प्राधिकरणका मात्रै ३ हजारभन्दा धेरै पोल प्रयोग गरेबापत वार्षिक २ करोड रुपैयाँभन्दा धेरै बुझाउनुपर्ने टेलिकम स्रोतले जानकारी दिएकोे छ ।
टेलिकमका मात्रै १५ हजारभन्दा धेरै  र विद्युत् प्राधिकरणका करिब २५ हजार पोल राजधानीमा छन् । केवल र टेलिफोनका तारका बिछ्याएर लैजान नसक्दा राजधानी अव्यस्थित देखिएको विज्ञहरूले बताएका छन् । माटोमुनिबाट लैजान धेरै खर्च लाग्ने तथा गल्ने सम्भावना बढी भएकाले तारहरू पोलमा राख्ने गरिएको सम्बद्ध प्राविधिकहरूले बताएका छन् ।
राजधानीमा मुख्य–मुख्य सडकमा गाडिएका पोलमा ५ वटासम्म तार राखिएको पाइएको छ । त्यस्तै भित्री सडक र गाविसमा केवुल र टेलिफोनका तारहरू राखिएको छ ।

स्थानीयवासीको अवरोधले किच्चकवधको उत्खनन् ओझेलमा


अशोक अधिकारी
झापा, ९ चैत / झापाको ऐतिहासिक पर्यटकीयस्थल किच्चकवधको उत्खनन्मा स्थानीयबासीले अवरोध गरेका छन् । 
फागुन २६ गतेदेखि सुरु गरिएको उत्खनन् नगर्न चेतावनी दिँदै स्थानीय खड्ग सुब्बाको नेतृत्वमा आएको १८/२० जनाको समूहले आइतबार उत्खनन् टोलीमाथि कुटपिट गरेको समितिका एक सदस्यले बताए । उत्खनन्का लागि उत्खनन् विभागका प्रमुख उद्धव आचार्यको नेतृत्वमा आएको ५ सदस्यीय टोलीले उत्खनन् गरिएको थियो । उत्खनन्बाट पौराणिक महत्वका माटोका भाडा र इँटाका टुक्राहरु फेला परेका छन् । महाभारत कथासँग प्रसंग जोडिएको किच्चकवधको यो तेस्रोपटक उत्खनन् गरिएको हो । स्थानीयले फेला परेका ऐतिहासिक वस्तुहरु विभागले ‘बेचेर खाने’ आरोप लगाउँदै अवरोध पुर्याएको किच्चकवध संरक्षण समितिका अध्यक्ष दिलकुमार थेवेले बताए । सुरक्षा नभएको उल्लेख गर्दै उत्खनन् टोलीले उत्खनन् कार्य रोक्ने चेतावनी दिएको छ । यो उत्खनन् रोकिएको पुनः उत्खनन् हुन नसक्ने जनाउँदै किच्चकवध संरक्षण समितिले पहल थालेको छ । सोमबार जिल्ला प्रशासन कार्यालय झापामा सुरक्षाका लागि जानकारी गराएको र असन्तुष्ट पक्षसँग मंगलबार वार्ता गरिने बताइएको छ । प्रमुख जिल्ला अधिकारी शशीशेखर श्रेष्ठले उत्खनन् नरोकिने बताए । ‘स्थानीयसँग समन्वय गरेर काम जारी रराख्ने प्रयास भइरहेको छ’, – उनले भने ।

झोले डाक्टरहरूको बिगबिगी, असुरक्षित गर्भपतन गराउने बढे

विष्णुप्रसाद पोखरेल 
दमकचैत ४ गते । नेपाल सरकारले सुरक्षित गर्भपतनलाई कानुनी मान्यता प्रदान गरे पनि झापामा सुरिक्षत भन्दा पनि असुरक्षित गर्भपतन गराउनेको सङ्ख्या अत्याधिक रहेको पाइएको छ । झापामा मान्यताप्राप्त स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन गराउनलाई अस्पताल आउने भन्दा पनि असुरक्षित गर्भपतनका समस्या लिएर अस्पताल आउनेको सङ्ख्या बढी रहेको पाइएको हो । मेची अञ्चल अस्पताल भद्रपरका डा. बालकृष्ण साहले चिकित्सकको एक कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै यस्तो खुलासा गर्नुभएको हो ।

डा. साहले झापाका छवटै प्राथमिक स्वास्थ्य केन्द्र तथा चारवटा स्वास्थ्य चौकीमा औषधिद्वारा गरिने गर्भपतन सेवा सुरु गरिएको भए पनि यस विषयमा जानकारी नहुादा र लुकीछिपी गर्भपतन गराउने भएकाले असुरक्षित गर्भपतन बढेको बताउनु भएको छ ।
औषधिद्वारा गरिने गर्भपतन सेवाका लागि रिफरल अस्पतालका रूपमा रहेको मेची अञ्चल अस्पतालमा गर्भपतनका लागि तोकिएको केन्द्रबाट भन्दा पनि भारतीय बजार तथा सूचीकृत नभएका स्वास्थ्यकर्मीबाट सेवा लिनेको सङ्ख्या बढी रहेको पाइएको शाहले जनाउनुभएको छ । मेची अञ्चल अस्पताल भद्रपुरमा साउन महिनादेखि फागनु अन्त्यसम्मको तथ्याङ्क अनुसार सुरक्षित गर्भपतनका लागी बीसजना महिला आएको देखिन्छ भने यसै अवधिमा एक सय उनन्चालीस जना अन्यत्र नै गर्भपतन गराइसकेपछि उत्पन्न भएका विभिन्न समस्या लिएर उपचारका लागि अस्पताल आएको पाइन्छ ।
यहाा आउनेमा धेरैजसो भद्रपुर नगरपालिका र छेउछाउका बनियानीबालुबाडीपृथ्वीनगरमहेशपुर लगायतका गाविसका महिला रहेका छन् । डाक्टर शाहका अनुसार 'गर्भपतनलाई सरकारले कानुनी मान्यता दिएको आठ वर्ष बितेको भए पनि अझै पनि यस विषयमा जानकारी नभएर लुकिछिपी गर्भपतन गराउने क्रम नरोकिएकाले यो ठूलो समस्या बन्दै गएको छ । सरकारले २०५९ सालको असोज महिनादेखि सामान्य अवस्थामा बाह्र हप्तासम्मको गर्भपतन गराउन पाउने कानुनी व्यवस्था गरेको छ भने सरकारी स्वास्थ्य संस्था तथा स्वास्थ्य केन्द्रमा समेत यसको सुविधा प्रदान गरेको छ ।
विशेषगरी सीमा क्षेत्रका महिलाले भारतीय डाक्टर र नेपालमा पनि सूचीकृत नभएका र गर्भपतन गराउन मान्यता नपाएका डाक्टरसांग गर्भपतन गराउने गरेकाले जटिल समस्या निम्तादै गएको छ । यसका अलवा झापा अवैध रूपमा औषधि पसलले सञ्चालन गरेको क्लिनिकमा समेत गर्भपतन गराउने क्रम बढ्दै गएको छ ।
सीमावर्ती गाविसमा भारतीय झोले डाक्टरको प्रभाव रहेको र उनीहरूले दिएको औषधि सेवन गरेर गर्भपतन गराउन खोज्दा समस्या भएर अस्पताल आउनेको सङ्ख्या पनि अत्याधिक रहेको मेची अञ्चल अस्पतालले जानकारी दिएको छ ।
सरकारले तोकेअनुसार सुरक्षित रूपमा गर्भपतन गराउनका लागी तेह्र सय रुपियाा मात्र खर्च हुने भए पनि महिलाले जोखिम मोलेर पन्ध्रदेखि बीस हजार रुपियाासम्म खर्च गर्ने र पछि अस्पताल आइपुग्ने गरेको पनि पाइएको डाक्टर बताउाछन् ।

हराउँदैछ ‘लेट नाइट’

केही वर्षअघिसम्म राति अबेरसम्म खुल्ने राजधानीका डिस्को, डान्सबार र दोहोरी तथा रेष्टुरेन्टहरू मध्यरात नहुँदै बन्द हुन्छन् । बृहत् शान्ति सम्झौतापछि ‘लेट नाइट’ संस्कार फस्टाउने आशामा रहेका व्यवसायीहरू यतिबेला निराश छन् । अन्यत्र होइन, राजधानीकै दरबारमार्ग र आसपासको ठमेल क्षेत्रका व्यवसायीहरू ‘रात्री जीवन’ को स्पष्ट परिभाषा र नीति नहुँदा अप्ठेरो भएको बताउँछन् ।

एकतातिर सरकारले नेपाल पर्यटन वर्ष अभियानका रूपमा सञ्चालन गरिरहेको छ । तर नेपाल भ्रमणमा आएका पर्यटकहरूको काठमाडौंको रात्री जीवन देख्न पाएका छैनन् । २०६२÷६३ को आन्दोलनपछि नेपालमा द्वन्द्व समाप्त भई शान्ति सम्झौतापछि राजधानीका दोहोरी, डान्सबार र रेष्टुरेन्टहरू राति एक, दुई बजेसम्म सञ्चालन हुन्थे । दरबारमार्गस्थित क्लब प्लाटिनमका निर्देशक वरदान गिरी भन्छन्, “डिस्कोमा राति ११ बजेपछि पर्यटकहरू आउँछन्, टिकट लिन्छन् तर प्रहरी प्रशासनको निर्देशनमा १२ बजे डिस्को बन्द गर्नुपर्छ ।” उनले दरबारमार्ग, ठमेल लगायतका ठाउँहरूले काठमाडौंको रात्री जीवनको नमुना स्थलहरू भएकाले यी ठाउँहरूमा प्रहरी प्रशासनले सुरक्षा दिनुपर्ने बताए ।
कुनै समय थियो, सूर्यास्तस“गै सुरु हुने राजधानीको रंगीन जीवन दोहोरी, डान्सबार र क्याबिनमा व्यस्त हुन्थ्यो, सँगै डिस्को र पबमा । तर संविधानसभा निर्वाचनपछि बनेको माओवादी नेतृत्वको सरकारका गृहमन्त्री वामदेव गौतमको समयमा रेष्टुरेन्ट, डान्स, दोहोरी, पब, डिस्को (जसलाई रात्रीजीवनका रूपमा लिइन्छ) १२ बजेपछि बन्द गर्नुपर्ने नियम बनाइयो ।
नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक सुभास निरौला भन्छन्, “हामीकहाँ रात्री जीवनको परिभाषा र नीति नै छैन ।” उनले पर्यटन प्रवद्र्धनको महत्वपूर्ण पक्षका रूपमा अन्य देशहरूले रात्री जीवनलाई पनि लिने गरेको बताए । “विश्वका अन्य सहरहरूमा जस्तै हाम्रा अधिकारप्राप्त निकायहरूले पनि रात्री जीवनका सम्बन्धमा स्पष्ट नीति बनाउनुपर्छ,” उनले भने ।
बढ्दो विद्युत् संकटका कारण काठमाडौंको रात्रीजीवन अन्धकारमय बन्दै गएको छ । अर्कोतर्फ प्रहरी प्रशासनले राति अबेरसम्म डिस्को, डान्सबार, रेष्टुरेन्ट र दोहोरी क्लबहरू सञ्चालनका लागि रोक लगाएको छ । प्रहरी प्रशासनले आपराधिक गतिविधि रोक्ने बहानामा रात्री जीवनलाई निस्फिक्री सञ्चालनबाट रोक लगाएको छ ।
काठमाडौं प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) पुष्कर कार्की नेपाल पर्यटन वर्षलाई लक्षित गर्दै प्रहरी मुख्यालयले रात्री जीवन व्यवस्थित गर्न आग्रह गरेमा यसलाई व्यवस्थित गर्न सकिने बताए । उनले रात्रीजीवनका नाममा जोडिएर आउने विकृतिहरू अन्त्य गर्नका लागि प्रहरी प्रशासनले अबेरसम्म डिस्को, डान्सबार रेष्टुरेन्ट तथा पबहरूको सञ्चालनमा रोक लगाएको बताए । “यदि हामीले जथाभावी व्यवसाय सञ्चालन गर्न दिने हो भने धेरै विकृतिहरू बढ्छन्,” उनले भने, “व्यवसायी र सम्बन्धित अन्य पक्षहरूले यसको व्यवस्थापनको लागि ध्यान दिनुपर्छ ।” उनले उपत्यकामा र खासगरी काठमाडौंमा बसोबास र व्यवसायसँगसँगै भएकाले पृथकीकरण गर्नसमेत समस्या रहेको बताए ।
तर व्यवसायीहरूले भने प्रहरी प्रशासनको यो नियमले मर्यादित रात्री व्यवसायलाई समेत प्रभाव पारेको बताउँछन् । लाजिम्पाटस्थित आइरिस पबको सञ्चालक जर्मन नागरिक लोथर रुइक भन्छन्, “सरकारले पर्यटन वर्षको अभियान सञ्चालन गरेको छ, यो राम्रो सुरुवात हो । तर सुरक्षाको कारण देखाउँदै पछिल्लो समयमा लगाइएको समयको पावन्दीले भने मेरो जस्तै रातभर व्यवसाय सञ्चालन प्रकृतिका पव हाउस तथा रेष्टुरेन्टहरूलाई भने समस्या परेको छ ।” उनले राति ८ बजेपछि मात्रै कारोबार हुने पब हाउसहरू ३ घन्टा सञ्चालन गरी ११ बजे बन्द गर्नुपर्ने बाध्यताले व्यवसाय धराशयी भएको बताए ।
रुइकजस्तै अनुभव छ, दरबारमार्गस्थित आई क्लबका सञ्चालक स्टाइलिन शेर्पाको । शेर्पाले दरबारमार्ग, ठमेलजस्ता राजधानीको केन्द्रमा पनि सुरक्षाको कारण ११ बजेदेखि नै व्यवसाय बन्द गर्नुपर्ने दुर्भाग्य रहेको बताए ।
कुनै समय गार्मेन्ट उद्योगहरूले जस्तै रोजगारी सिर्जना गरेका राजधानीका रेष्टुरेन्ट, दोहोरी, पब तथा डान्सबारहरू सरकारको स्पष्ट नीति नहुँदा बन्द गर्नुपर्ने अवस्थामा छन् । पर्यटन वर्षको अभियान सञ्चालन गरे पनि सरकारले न त नयाँ पर्यटन गन्तव्यहरूको सिर्जना गर्न सकेको छ, न त पर्यटन प्रवद्र्धनका नयाँ उपायहरू अबलम्बन गर्न नै ।
राज्यले यी व्यवसायमा कर (मूल्यअभिवृद्धि कर) समेत लगाएको छ । तर यिनीहरूको सञ्चालनका लागि देखिएका समस्याहरूको समाधानमा भने कुनै उत्तरदायित्व बहन गरेको देखिँदैन । यदि सरकारले रात्री जीवनलाई व्यवस्थित र पर्याप्त समय दिन सकेन भने यो व्यवसाय दीर्घकालका लागि सञ्चालनमा आउन सक्दैन । 
With reference to Karobar Daily 

मासिक तलब ७५ रुपैयाँ


कसैको मासिक तलब ७५ रुपैयाँ भएको सुन्दा अचम्म लाग्न सक्छ । पशुपति मृगस्थलीस्थित विश्वरूपा मन्दिरका पाले -रकमी) रावण पन्तको महिनाको तलब यत्ति हो । उनले २०४२ मा ३० रुपैयाँ तलबबाट जागिर सुरु गरेका थिए । त्यसको दुई वर्षपछि ४५ रुपैयाँ र २०५१ सालमा बढेर ७५ रुपैयाँ भएको हो ।
पशुपति क्षेत्र विकास कोषले मन्दिरको सम्पूर्ण जिम्मेवारी लिएकाले अन्य कर्मचारीसरह हाम्रो तलब हुनुपर्ने उनले बताए ।  जंगबहादुरको पालामा सन् १८६७ मा निर्मित मन्दिरमा शिवशक्तिको रतावस्थाको विशाल ढलौटे मूर्ति छ ।  
गुठीले पूजाआजा खर्चका लागि वाषिर्क २८ हजार रुपैयाँ दिने गरी २०५५/५६ मा उक्त मन्दिरको सम्पूर्ण जिम्मेवारी कोषलाई दिएको हो । कोषको साधन स्रोत विभागका निर्देशक रमेशकुमार उप्रेतीले मन्दिरको संरक्षण र पूजाआजाको जिम्मवारी मात्र आफूहरूले पाएको बताए । उक्त मन्दिरमा कार्यरत पन्त गुठी संस्थानद्वारा नियुक्त कर्मचारी भएको हुनाले उनको तलबका लागि कोष जिम्मेवार नभएको उनले बताए ।
'उनीहरूको तलब समयसापेक्ष पक्कै होइन तर उनीहरूको तलबको निधो गर्ने जिम्मेवार निकाय गुठी नै हो, उप्रेतीले भने । बिहान-बेलुका मन्दिरको हेरचाह गरेपछि उनीहरूले अन्य काम गर्नलाई स्वतन्त्र भएकाले पूर्णकालीन कर्मचारीझैं तलब तोक्न नसकिने उप्रेतीले बताए । 
कोषले २०४९ सालदेखि उक्त मन्दिरको जीर्णोद्धार सुरु गरेर अहिलेसम्म झन्डै डेढ करोड रुपैयाँ खर्चिसकेको छ । उक्त मन्दिरमा हुने पूजाआजामा वाषिर्क झन्डै डेढ लाख रुपैयाँ खर्च हुने गरेकाले गुठीले दिएको रकमले समेत नपुग्ने गरेको उनले बताए । 'गुठीले पाँच वर्षदेखि कोषलाई पूजाआजाका लागि रकम दिन छाडेको छ,' उनले भने । 
पशुपति क्षेत्रमा ४ सय ९२ मन्दिर, सतल, ढुंगेधारा, चैत्य र देवालयलगायतका धार्मिकस्थल एवं झन्डै एक हजार शिवलिंग छन् । परापूर्वकालदेखि त्यसको देखभाल र पूजाआजामा खटिएका अधिकांश न्यून तलब थापेर बसेका छन् । गुठी संस्थान पशुपति गोश्वारा शाखा कार्यालयकी प्रमुख उमा आचार्यले परापूर्वकालदेखि मन्दिरमा राखिएका पुजारी र रकमी खानकीको तलब निकै कम हुने गरेको बताइन् । मठ मन्दिरमा न्यूनतम २० रुपैयाँदेखि १ सय ५० रुपैयाँ मासिक तलबमा यस्ता पुजारी र पालेले काम गरेको देखिन्छ । 
गुठी संस्थान केन्द्रीय कार्यालयका उपप्रशासक सरोज थपलियाले २०६१/६२ सालमा भएको निर्णयअनुरूप मन्दिरमा कार्यरत महन्त, पुजारी, गुठियार, सरसफाइ र पाले लगायतकालाई सय रुपैयाँको हाराहारीमा तलब दिने निर्णय भएको बताए । 

 उक्त मन्दिरमा कार्यरत पन्तसँग तलब बढेको आधिकारिक कागजात नभएको हुनाले कोषले आनाकानी गरेको हुनसक्ने औंल्याउँदै उनले भने, 'त्रिपुरेश्वरस्थित गुठी संस्थान कार्यालयमा निवेदन दिएमा आवश्यक कागजात पाउनेछन् ।'
Via Source:- eKantipur

भन्सार तिर्न ११ करोड नहुँदा प्राधिकरणका पुर्जा विमानस्थलमै अलपत्र


सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणले ११ करोड रुपैयाँ भन्सार तिर्न नसक्दा मल्टिफ्युल पावर प्लान्ट मर्मत गर्न आयात गरिएका पार्टपुर्जा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै अलपत्र परेका छन् । फिनल्यान्डबाट आयात गरिएका स्पेयर पार्टस् तीन सातादेखि विमानस्थलमा रोकिएका छन् ।
मुलुकले दैनिक १४ घण्टा लोडसेडिङ भोग्नु परिरहेका बेला मल्टिफ्युल प्लान्ट सञ्चालनमा आए पूर्वी क्षेत्रमा बिजुली आपूर्ति केही सहज हुने थियो ।
विराटनगरस्थित ३९ मेगावाट जडित क्षमताको मल्टिफ्युल पावर प्लान्ट मर्मतका लागि विमानस्थल आइपुगेका सामानको भन्सार तिर्ने रकम प्राधिकरणले तीन सातादेखि जुटाउन सकेको छैन । पुर्जा अड्किएपछि यो प्लान्टको मर्मत कार्य प्रभावित भएको छ ।
भन्सार शुल्क तिर्न रकम नभएपछि स्पेयर पार्टस् छुटाउन नसकिएको प्राधिकरणका कार्यकारी निर्देशक डा. जीवेन्द्र झाले स्वीकार गरे । “प्राधिकरणसँग रकम नभएपछि स्पेयर्स पार्टस् छुटाउन अनुरोध गर्दा अर्थमन्त्रालयले नमानेकाले यो समस्या आएको हो,” उनले भने ।
स्पेयर पार्टस् आयातमा भन्सार सहुलियत दिन अर्थ सकारात्मक भए पनि अहिले नमानेको उनले बताए । प्राधिकरणलाई आर्थिक संकट परेका बेला सरकारले सहयोग नगरेको झाको गुनासो छ । प्राधिकरणको सञ्चालकमा अर्थमन्त्रालयका राजस्व सचिव कृष्णहरि बाँस्कोटा पनि छन् ।
“भन्सार शुल्क तिरेर स्पेयर पार्टस् छुटाउन नसकेका बेला मर्मतका लागि थप रकम जुटाउन झनै समस्या परेको छ,” उनले भने, “पावर प्लान्ट मर्मतलाई ५५ करोड रुपैयाँ लाग्छ, यो रकम कहाँबाट जुटाउने हो, निश्चित छैन ।”
अहिले प्राधिकरणले सामान छुटाउन पहल गरिरहेको पनि उनले बताए । सामान विश्व बैंकसँग सहुलियतपूर्ण ऋण लिएर फिनल्यान्डबाट किन्ने र सोको भन्सार प्राधिकरणले तिर्ने सहमति भएको थियो ।
पूर्वमा बिजुलीको माग सम्बोधन गर्न फिनल्यान्ड सरकारको अनुदान तथा अन्य दाताको ऋण सहयोगमा विसं २०४७ मा यसको स्थापना गरिएको हो । प्लान्ट पुरानो भइ पूर्ण क्षमतामा सञ्चालन हुन नसकेपछि प्राधिकरण तथा निर्माता कम्पनी वार्सिलाबीच गत वर्ष अप्रिलमा यसको मर्मत गर्ने सहमति भएको थियो । प्लान्टको जडित क्षमता ३९ मेगावाट भए पनि मर्मतपछि यसले ३६ मेगावाटमात्र विद्युत् उत्पादन गर्ने वार्सिलाले जानकारी गराएको झाले बताए । यो प्लान्टले अहिले १० देखि १२ मेगावाटमात्र बिजुली उत्पादन गरिरहेको छ । प्राधिकरणले आगामी डेढ महिनामा प्लान्ट पूरा क्षमतामा सञ्चालन गर्ने लक्ष्य लिएको छ ।
प्लान्ट पुरानो भएकाले पनि यसको उत्पादन क्षमता घटेको झाले जानकारी दिए । उनका अनुसार गत वर्ष यो प्लान्टबाट ५ सय ७५ गिगावाट घण्टा बिजुली उत्पादन भएको थियो ।
यो प्लान्ट १६ हजार घण्टाभन्दा बढी समय सञ्चालन भइसकेको प्राधिकरणले जनाएको छ । १६ हजार घण्टा सञ्चालन भएपछि यसको नियमित मर्मतका साथै स्पेयर्स पार्टस् फेर्नुपर्ने हुन्छ । प्लान्टको १ नम्बर युनिट रबर कपलिङ फेल भएपछि विगत केही वर्षयता बन्द छ । प्लान्टका अन्य युनिट पनि पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । नेपाल आयल निगमले पर्याप्त मात्रामा फर्नेस आयल आपूर्ति गर्न नसकेकाले पनि प्लान्ट सञ्चालनमा समस्या हुँदै आएको छ ।
Via Source:- Karobar Daily

बिश्वकै होचा खगेन्द्रको उपाधि खोसिदै


विश्वका सबैभन्दा हाचो व्यक्ति खगेन्द्र थापाको उपाधि अर्कैले लाने भएको छ ।
हाल खगेन्द्रको नाममा रहेको विश्वका सबैभन्दा हाचो व्यक्तिको उपाधि फिलिपिन्सका १७ वर्षीय जुनरे वालागिन्गले पाउने प्रायः निश्चित भएको छ ।
जूनमा १८ वर्ष पुगेपछि उनलाई विश्वका सबैभन्दा हाचो व्यक्ति घोषणा गरिने समाचारमा जनाइएको छ । जुनरे नेपालका खगेन्द्रभन्दा पाँच इन्च कम उचाईका छन् । खगेन्द्रको उचाई २७ इन्च छ ।
जुनरेको शारीरिक बृद्धि एक वर्षको उमेरबाटै रोकिएको थियो । उनी निकै कमजोर छन् । जसका कारण उनी धेरैवेरसम्म उभिन समेत सक्दैनन भने हिडडुल गर्न आमाको साहारा लिन्छन् ।



विश्वका सबैभन्दा हाचो व्यक्तिको रेकर्ड आफ्नो नाममा हुने भएपछि जुनरे निकै खुसी छन् ।

उनका आमा बुबा र तीन भाई बहिनी छन् । उनका भाई बहिनी भने सामान्य छन् र उनीहरु विद्यालय जान्छन् ।
गिनिज बुक अफ वल्र्ड रेकड्सका प्रवक्ताले जुनेर १८ वर्षको भएपनि उनको उचाई नापिने र रेकर्डबारे पुष्टि गर्ने बताएको भारतीय समाचारपत्र जागरण न्युजले जनाएको छ ।

तपाईंको घरमा त छिरेन एड्स?


―गोविन्द भट्टराई
नेपालमा सबैभन्दा बढी लगानी भएका क्षेत्रमध्ये एचआइभी एड्स पनि हो, तैपनि प्रतिदिन ३० व्यक्ति संक्रमित हुने क्रम रोकिएको छैन। मेचीदेखि महाकालीसम्म, सुनौलीदेखि सोलुसम्म संक्रमितहरू भेटिन्छन्। स्वेच्छिक परामर्श र परीक्षणकेन्द्र खुल्दै गरेका समाचार आएका छन्। पत्रपत्रिकामा हरेकदिनजसो एचआइभी एड्ससँग जोडिएका समाचार, लेख प्रकाशित भइरहेका छन्। सयाँै संघसंस्थाको कार्यक्षेत्र एचआइभी एड्स हो र पनि संक्रमितहरू ढुक्क भएर समाजमा खुल्नसक्ने, उपलब्ध सेवा लिन सक्ने अवस्थाको सिर्जना भइसकेको भेटिन्न।
एचआइभी भनेको मानव प्रतिरक्षा शक्ति कमजोर गर्ने, आँखाले देख्न नसकिने विषाणु हो, जसले गर्दा संक्रमित व्यक्तिको शरीर पछि एड्सको अवस्थामा पुग्छ। हालसम्मको अध्ययनले मानवशरीरमा मात्र एचआइभी बाँच्ने तथा वृद्धि र विकास गर्नसक्ने कुरा पुष्टि भएको छ।
एचआइभी/एड्स सर्वप्रथम सन् १९८१ मा अमेरिकामा पत्ता लागेको थियो। भारतमा सन् १९८६ मा पहिलो केस फेला पर्योआ भने नेपालमा सन् १९८८ मा प्रथमपटक भेटिएको थियो। युएनएड्सका अनुसार, संसारमा ३ करेाड ३४ लाख बढी व्यक्ति एचआइभी एड्ससँगै बाँचिरहेका छन्। आधाजसो महिला छन्। नेपालमा ६४ हजार बढी एचआइभी संक्रमित भएको अनुमान गरिएको छ भने रक्तपरीक्षणपछि पहिचान भएकाको संख्या १६ हजार नाघेको छ। पहिचान भएकामध्ये एकतिहाइ महिला छन्।
बाबुराम (नाम परिवर्तन) एसएलसी पूरा गरेका युवा, एक छोराछोरीका बाबु हुन्। श्रीमतीले लोग्ने संक्रमित भएको थाहा पाएपछि सँगै बस्न मानिनन्। शान्तिका श्रीमान् एचआइभी/एड्स संक्रमणपछि थलिए। बिते। शान्तिलाई घरपरिवारले छोरो खाने बोक्सीको आरोप लगाएर निकाले। इज्जतका खातिर उनी मौन रहिन्। परिवारको जोरजुलुम सहिन्। कपिलवस्तुमा कान्ति (नाम फेरिएको) ले नागरिकताका लागि ससुराबाट सहमति नपाएपछि सक्रियको शरण परिन्। अर्घाखाँचीबाट बेलकुमारीले कपिलवस्तु झरेर जिउने बाटो खोज्नुपर्योा। पूर्वीपाल्पाकी लक्षिमाले एचआइभीका कारण श्रीमान् गुमाएपछि परिवारको विभेदको सामना गर्नुपरेको छ। एचआइभी/एड्स संक्रमित तथा प्रभावितहरूसँग जोडिएका जीवन्त घटना अरू पनि छन्। कतिका घरमा दैलो लागेको छ, एचआइभीका कारण। एचआइभीलाई भयानक अनि प्राणघातक रोग भन्ने संघसंस्था, ठूलाबडा र समाजका कारण आज पनि कतिपय एचआइभी संक्रमित तथा प्रभावित गुम्सिएर बाँच्नुपरेको छ।
हरि अर्याल ३० वर्षका भए, देख्दा खाइलाग्दो शरीर अनि हँसिलो अनुहार। आमयुवाका जस्ता सपना र रहर उनीभित्र छन्। उनको परिवार र आफन्त छन्। साथी छन्। मीठो बोली र मिजासिलो व्यवहारले एकपटक भेट भएको जोसुकै प्रभावित हुन पुग्छ, उनीबाट। कसैले झट्ट विश्वास गर्दैन कि उनी एचआइभी संक्रमित हुन्, तर सत्य त्यही हो। अर्थात् आजसम्म निको हुने उपचारको अभाव रहेको एचआइभी भाइरस उनको शरीरमा प्रवेश गरेको ६ वर्ष बढी भइसक्यो, हेर्दा लाग्छ उनी पटक्कै चिन्तित छैनन्। कपिलवस्तु, निग्लिहवाका हरि अर्याल एचआइभी संक्रमित भएर पनि घरपरिवार र समुदायबाट माया र सहयोग पाइरहेका छन्। कपिलवस्तुमा एचआइभी संक्रमित हुँ भनेर विश्व एड्स दिवस ०६२ को कार्यक्रममा सार्वजनिक भएका हरिजस्तै एचआइभी संक्रमितहरू अरू पनि छन्। तर, समस्या हरेकका फरक(फरक भेटिन्छ। पाल्पामा एचआइभीविरुद्ध डटेर समुदायमा सार्वजनिक भएका लक्ष्मी कुँवर, हुमीसरा सारु, हरि रतन परियारहरूले लुकेर बस्नुपर्ने अवस्थामा रहेका संक्रमितहरूलाई संगठित हुन र जीवनप्रति आशावादी हुन प्रेरणा दिएका छन्। राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र टेकुद्वारा प्रकाशित रगत परीक्षणको नतिजाले ०६७ जेठसम्ममा १५९४५ नेपाली एचआइभी संक्रमित भएको पुष्टि गरेको छ। अनुमान पनि नजिक हुनुपर्ने( कहाँको ७० हजार( कहाँ १५ हजार? कसरी यति धेरै फरक? कहाँ हराए बीचका मान्छे? प्रश्न जन्मन्छ हरेकका मनमा। उत्तर के त? सहज छैन।
सबै संक्रमित राजीव का136ले, लक्ष्मी कुँवर, हुमीसरा, हरि बन्न सकिरहेका छैनन्, सक्दैनन् पनि। शिक्षा, सञ्चार, पहँुच, राजधानी र मोफसलको भेद, गरिबी, हेयभाव, भेदभाव, असमान सरकारी नीति र सहरकेन्द्रित सरकारी तथा गैरसरकारी कार्यक्रम आदि कारणले एचआइभी संक्रमितलाई पिरोलिरहेको छ। विभेद गरिरहेको छ। लगानीअनुसार नतिजा आउन सकिरहेको छैन। सबै ठाउँमा परामर्श तथा परीक्षण सेवा उपलब्ध छैन।
स्याङ्जाका लक्ष्मण खाँण ९ कक्षा पढ्दै गर्दा पढाइ छाडेर कामको खोजीमा भारत पुगे। एचआइभी संक्रमणको जोखिम व्यवहारपछि फर्किए। कुरा बुझे(व्यवहार परिवर्तन भयो, उनी आफूजस्ता साथीलाई संगठित गर्दै संकल्प सहयोग समूह निर्माणमा जुटे। अहिले हरेक महिना ५०(६० जना साथी भेला भएर छलफल गर्छन्। सुरुमा सक्रिय सेवा समाजले सहयोग गरेको थियो भने अहिले रेडक्रस, जिल्ला विकास समिति, नगर एड्स समन्वय समिति, जिल्ला स्वास्थ्य कार्यालय, वालिङ पिएचसीलगायत संघसंस्थाले सघाउन थालेको अध्यक्ष टुका रेग्मी बताउँछिन्। एनएपिएन र महिला महासंघले पनि सघाएको बताउँछिन्। एकल महिला र बालबालिकाको बढ्दो संख्याले चुनौती थपिएको संकल्पका सचिव लक्ष्मण खाँण बताउँछन्।
स्याङ्जामा संकल्पजस्तै पाल्पामा एचआइभी संक्रमित तथा प्रभावितहरूको सहयोगी संस्था प्रतिबद्ध सहयोग समूह दर्ता भएको छ। संस्थापक अध्यक्ष लक्ष्मी कुँवरका अनुसार, संगठित गर्न र स्वास्थ्य समस्यामा सहयोग गर्ने काममा मिसन अस्पताल, सक्रिय सेवा समाज र जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला विकास समिति, नेपाल परिवार नियोजन संघ पाल्पालगायतबाट सहयोग भइरहेको छ। वर्तमान अध्यक्ष हुमीसरा सारु सक्रिय सेवा समाजका गुन बिर्सन नसक्ने बताउँछिन्। मिसन अस्पतालले एआरभी र पिएमटिसिटी सेवा सञ्चालन गरेको छ। अहिले त केयरहोम समेत सञ्चालन भएको छ। कपिलवस्तुमा समर्पण सहयोग समूहमा सय बढी संक्रमित तथा प्रभावित आबद्ध रहेको अध्यक्ष कोपिला खाँण बताउँछिन्। बढी एकल महिला छन्। अर्घाखाँचीमा सन्देश सहयोग समूह गठन भएको अध्यक्ष पार्वती बञ्जाडेले बताइन्। रूपन्देहीमा आशाज्योति सहयोग समूह, आस्था, साकार, नवकिरण ल्पसलगायतका संक्रमितका संस्था क्रियाशील छन्। संक्रमितको संस्थाको संख्यात्मक वृद्धिभन्दा गुणात्मक विकास महत्त्वपूर्ण सवाल हो। सेवामा पहुँच र सवलीकरणका लागि संघसंस्था लागिपर्नुपर्नेमा संक्रमित लक्ष्मण खाँण जोड दिन्छन्।
सेवाको कुरा गर्दा एआरभी सेवन गर्नेको संख्या करिब ५ हजारको हाराहारीमा छ। सिडीफोर जाँच र एआरभी प्राप्त गर्नका लागि निश्चित ठाउँमा पुग्नुपर्ने अवस्थामा सुधार नआएसम्म दुर्गम पहाड र तराईका गाउँमा रहेका एचआइभी संक्रमितहरूको जीवनमा कुनै परिवर्तनको असर नपर्ने पक्का छ। छिटो(छिटो निर्देशक फेरबदल हुने निकायमा राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र टेकु पनि पर्छ। एउटा निर्देशकले बनाएको सोंच, योजना कार्यान्वयन नहुँदै निर्देशक अर्को आइपुग्ने परम्परा रहेसम्म कामले गति लिन सक्दैन।
बजेट एउटा पाटो हो। भएकै रकमलाई कसरी प्रभावकारी ढंगले सदुपयोग गर्ने र एचआइभी एड्ससम्बन्धी कार्यक्रममा सर्वसाधारणको पहुँच स्थापित गर्ने? मूल सवाल हो। प्रधानमन्त्री अध्यक्ष रहनेगरी बनेको संरचनाअनुसार गठित राष्ट्रिय एड्स परिषद्को बैठक कतिपटक बस्यो? के(के प्रतिबद्धता पूरा भए? ७५ जिल्लामा रहेका जिल्ला एड्स समन्वय समितिमध्ये ७(८ जिल्लाबाहेक अन्यत्र बैठक बस्न नसकेको अवस्थामा सुधार कहिले ल्याउने? सर्वसाधारण जनताको घरदैलोमा कार्यक्रम पुर्या८उन गाविस र नगरस्तरमा कहिले समन्वय समिति गठन गर्ने? गठित समितिलाई कसरी समायोजन गर्ने? सबै वर्ग, समूहलाई कसरी परिचालित गर्ने?
जनआस्था साप्ताहिकबाट

सवारीमा सायरी लेख्नुभएको छ भने सावधान !


‘कान्छी मुसुक्कै, पैसा भुसुक्कै’ ‘पर्खी बस, फेरि भेटौंला’
लामो तथा छोटो रुटका सवारी साधनहरूमा अब यस्ता किसिमका सायरीहरू देख्न नपाइने भएको छ ।
विशेष गरेर महिलाहरूलाई लक्षित गरेर लेखिएका यस्ता सायरीहरूले महिलाप्रति सार्वजनिक बेइजति गरेको र गाडीमा लेखेका यस्ता सायरी पढ्दा दुर्घटनासमेत हुन सक्ने सम्भावना भएको भन्दै आइतबारदेखि महानगरीय ट्राफिक प्रहरी महाशाखाले सो नहटाउनेलाई कारबाही गर्ने भएको हो ।
‘सवारी यातायात व्यवस्था ऐनअनुसार कुनै पनि यातायातका साधनहरूमा कसैलाई लक्षित गरेर गाली बेइजति हुने हिसावले लेख्न नपाइने भएकाले सायरीहरू लेखिएको मेटाउन र नलेख्न अयिभान सुरु गरिएको हो’- महाशाखाका प्रवक्ता एवम् प्रहरी उपरीक्षक जगतमान श्रेष्ठले भन्नुभयो ।
यातायातका साधनहरूमा महिलालाई लक्षित गरेर लेखिएका यस्ता सायरीहरू नमेट्नेलाई ट्राफिक प्रहरीले जरिवाना र आवश्यक कारवाहीसमेत गर्ने भएको छ ।

क्षयरोगबाट पाँच वर्षमा सात जनाको मृत्यु




इलाम मार्च, ५ 
इलाममा क्षयरोगबाट पाँच वर्षमा सात जनाको ज्यान जाने गरेको एक अध्यययनले देखाएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय इलामले आयोजना गरेको क्षयरोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रममा प्रस्तुत गरिएको तथ्याङ्कले यस्तो आँकडा दिएको हो । 
क्षयरोग शाखाका प्रमुख रामनरेश ठाकुरले क्षयरोग नियन्त्रणका लागि निशुःल्क औषधिको व्यवस्था गरे पनि लक्ष्यअनुसार रोगी पत्ता लगाउन नसकिएको बताउनुभयो । 
क्षयरोग दुई किसिमका हुने बताउँदै उहाँले फोक्सोमा हुने क्षयरोग शरीरका भित्री भागमा देखापर्ने क्षयरोगभन्दा खतरनाक हुने बताउनुभयो । 
इलामका दानाबारी, चुलाचुली, महमाई क्षेत्रमा बढी क्षयरोगी देखापर्ने गरेको जनाइएको छ ।जसमध्ये चुलाचुलीमा मात्रै २५ प्रतिशत रोगी फेला पर्ने जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । 
सन् २०१५ सम्ममा देशबाटै क्षयरोग उन्मूलन गर्ने सरकारी लक्ष्यलाई फलदायी बनाउन सबै लाग्नुपर्नेमा कार्यालयले जोड दिएको छ ।

सुरक्षा र सरकारी निकायले महसुल तिरेनन्


 हिमाल दहाल/धनबहादुर पुरी
इटहरी/सुरक्षा तथा सरकारी निकायले विद्युत् तथा टेलिफोनको महसुल वापत ठूलो रकम तिर्न बाँकी रहेको खुलासा भएको छ । इटहरी र यसवरपरका गाविसहरुमा रहेका अधिकांश सुरक्षा निकायले टेलिफोन र विद्युत् महसुलवापत लाखौं रकम वर्षौंदेखि बुझाउन बाँकी रहेको खुलासा भएको हो ।
विद्युत् महसुल नबुझाउने संस्थाहरुमा पूर्वाञ्चल तालिम केन्द्र सबैभन्दा अगाडि छ । साउनदेखि माघ मसान्तसम्मको तथ्याङ्कअनुसार केन्द्रले ६२ हजार रुपैयाँ बुझाउन बाँकी छ । त्यस्तै, दोस्रोमा नेपाली सेनाको पूर्वी पृतना पर्छ । पूर्वी पृतना र झुम्कास्थित क्षेत्रीय कारागारले ५८÷५८ हजार रुपैयाँ बुझाउन बाँकी छ । त्यस्तै, नेपाली सैनिक ब्यारेक, हेल्थपोष्ट, पकलीस्थित सशस्त्र प्रहरी कार्यालय, सुनसरी–मोरङ सिँचाइ आयोजनाले समेत हजारौं रुपैयाँ तिर्न बाँकी देखिएको छ । यी कार्यालयमध्ये केहीको मासिक विद्युत् उपयोग बढी हुने हुँदा बढी रकम बाँकी देखिए पनि नियमित रुपमा तिरेको जनाइएको छ । सैनिक ब्यारेकले नियमितरुपमा महसुल बुझाएको प्राधिकरण स्रोतले जनाएको छ ।
त्यस्तै, इटहरीस्थित धेरै सरकारी कार्यालयले विद्युत् महसुल समयमा तिर्दैनन् । समयमा महसुल नतिर्दा ती कार्यालयले जरिवानावापत ठूलो रकमसमेत बुझाउने गरेको प्राधिकरणको इटहरी शाखा कार्यालयले जनाएको छ । प्राधिकरणका इटहरी शाखा प्रमुख मनोज यादवका अनुसार सरकारी संस्थाहरुको विद्युत् महसुल तिर्ने प्रवृत्तिमा पछिल्लो समयमा भने केही सुधार आएको छ । अघिल्ला वर्षहरुमा लामो समयसम्म धेरै रकम बक्यौता राख्ने गरेकामा पछिल्लो समयमा भने बिल तिर्ने काम नियमितरुपमा नै भएको उनले बताए ।
धेरै कार्यालयले टेलिफोनको बिलसमेत तिरेका छैनन् । बिल बाँकी राख्ने सरकारी कार्यालय तथा सुरक्षा निकायहरुमा इटहरी इलाका प्रहरी कार्यालय अग्रस्थानमा छ । उसले २ लाख १ हजार रुपैयाँ बुझाउन बाँकी छ । ०२५–५८०१०० नम्बरको टेलिफोनको बिल नतिरिएको हो । त्यस्तै, पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले समेत एक लाख ९९ हजार रुपैयाँ तिर्न बाँकी देखिएको छ । टेलिफोन बिल नतिर्ने सरकारी तथा सुरक्षा निकायहरुमा पूर्व क्षेत्रीय सशस्त्र प्रहरी बल तेस्रो स्थानमा छ । उसले एक लाख ९२ हजार तिर्न बाँकी छ । उसले ०२५–५८१६०० नम्बरको टेलिफोनको महसुल नतिरेका कारण लाइन काटिएको टेलिकमको इटहरी शाखाले जनाएको छ । हाँसपोसास्थित प्रहरी चौकीले एक लाख ५२ हजार तिर्न बाँकी रहेकोले चौकीको ०२५–४७६१०० नम्बरको लाइन काटिएको छ ।
यस्तै पकली इलाका प्रहरी कार्यालय, रोड रिह्याबिलिटेशन कम्पनी, पूर्वी पृतना तथा पूर्व क्षेत्रीय ट्राफिक कार्यालयले समेत हजारौं रुपैयाँ तिर्न बाँकी देखिएको छ । महसुल नतिरेकाले रोड रिह्याबिलिटेशन कम्पनीको ०२५–५८१५४० र शहरी विकास आयोजनाको ०२५–५८४९२७ नम्बरको लाइनसमेत काटिएको छ ।
सर्वाधिक बक्यौता रहने कार्यालयमा परेको इटहरी इलाका प्रहरी कार्यालयको फोन दुरुपयोग हुने गरेको इन्स्पेक्टर श्यामल सुब्बाले जनाए । ड्युटीमा खटिएका प्रहरीले व्यक्तिगत काममा फोन प्रयोग गर्ने भएकाले धेरै बिल उठेको उनको भनाइ छ । चौकीको कामले समेत फोन गर्नुपर्ने भएकोले धेरै बिल उठ्नु स्वाभाविक भएको उनले बताए । धेरै दुरुपयोग भएकोले ०२५–५८०१०० नम्बरबाट मोबाइलमा कल नजाने बनाइएको उनले जनाए । बजेट अपुग हुँदा बक्यौता बढेको उनले जनाए ।
क्षेत्रीय ट्राफिक कार्यालयका लेखापाल गणेश पन्थीले बक्यौता तिर्न रकम माग गरिएको जनाउँदै रकम आउनेबित्तिकै सबै चुक्ता गर्ने तयारीमा रहेको बताए । कार्यालयले भने दुर्घटनाबारे बुभ्mन धेरै प्रयोग हुँदा बढी रकम उठेको दावी गरेको छ । प्रहरीहरुले नै आफन्तहरुलाई फोन गर्दा बढी रकम उठ्ने गरेको एक प्रहरीले नै जानकारी दिए । ‘सार्वजनिक जस्तै छ,’ उनले भने, ‘हाकिम नभएको बेला फोनमा रजाइँ चल्छ ।’ हाँसपोसा चौकीमा पनि प्रहरीहरुले फोन दुरुपयोग गर्ने गरेका छन् । अत्याधिक दुरुपयोगका कारण बक्यौता धेरै भएपछि टेलिकमले चौकीको टेलिफोन नै काटिदिएको छ ।
टेलिकम शाखा प्रमुख धनबहादुर थापाले सरकारी संस्था तथा सुरक्षा निकायले धेरै रकम तिर्न बाँकी राखेको जनाए । ताकेता गर्दा उनीहरुले बजेट अभाव भएको बताउने गरेको जानकारी दिए । बिल नतिरेकाले निजी लाइन काटिएको भए पनि सरकारी संस्था तथा सुरक्षा निकायको कार्यको गम्भीरता हेरेर धेरैजसो लाइन नकाटिएको उनले प्रष्ट्याए ।
प्राधिकरणका अनुसार जिल्ला प्रशासन कार्यालयले समेत बिल नतिरेकोले केही महिनाअघि त्यहाँका केही टेलिफोन लाइन काटिएका थिए । सरकारी कार्यालयहरुमा कार्यालय प्रमुखहरुले चलाउने टेलिफोनको मात्र महसुल तिर्ने र अरुको नतिर्ने प्रवृत्ति देखिएको स्रोतले बताएको छ । टेलिफोन महसुलमा सरकारी संस्थालाई जरिवाना नलाग्ने भएकाले पनि संस्थाले ढिलो बुझाउने गरेका छन् ।
With reference to blast times


फलामयुक्त पानी पिउन बाध्य



दमक फाल्गुन २० पानी वितरण भएको दुईवर्ष बितिसक्दा पनि फिल्टर जडान नहुँदा लखनपुरका स्थानीयवासी फलामयुक्र पानी पिउन बाधय छन् । 
लखनपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिले २०६५ साल असोजबाट पानी वितरण गरे पनि फिल्टर जडान नगर्दा ५०१ घरधुरीका उपभोक्ता मर्कामा परेका हुन् । 
उपभोक्ताका अनुसार कपडा धुनका लागि राम्र्रै भए पनि ओयोजनाका पानी धमिलो भएर खाइनसक्नु छ । लखनपुर–५ का रमेश खरेलले भने–‘कहिलेकाँही त पानी पहेँलपुर भएर लेदोसहित आउँछ, त्यस्तो पानी कसरी खानु ?’
लखनपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष भोजकुमार घिमिरे भने आफूले पटकपटक जिल्लादेखि केन्द्रसम्म पुगेर पहल गरेको र आगामी वर्षभित्र फिलटर जडान हुने आश्वासन पाएको बताउनुभयो । 
जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय झापाले सके यसै वर्ष, नभए अर्को आर्थिक वर्षभित्र फिल्डन जडान हुने बताउको छ । 
कार्यालय प्रमुख जगन्नाथ पुर्बेका अनुसार लखनपुरको आयोजनाका लागि यस वर्ष १० लाख बजेट आएको र टेन्डर प्रक्रिया सुरु भएको छ । फिलटर जडानका लागि कम्तीमा रु ४० लाख लाग्ने हुनाले यस वर्षभित्र फिल्टर जडान कार्य पूरा नभए पनि सुरुआत भने हुने उहाँको बनाइृ छ । 
एक लाख पानी भण्डारन क्षमता भएको आयोजना रु दुई करोड ३९ लाख ७३ हजारको लागतमा सम्पन्न भएको थियो । वि.सं. २०५५ मा सुरु भएको आयोजनामा निर्माण सम्पन्न भएर सञ्चालन आएपछि गएको जेठ २२ गते उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको थियो । 


बाल श्रमिक नराख्ने प्रतिबद्धता


इलाम, फाल्गुन १६ - 
होटल व्यवसायीले बाल मजदुर नराख्ने प्रतिबद्धता जनाएका छन् । १ सय ४१ होटल व्यवसायीले बालमजदुर नराख्ने प्रतिबद्धतामा हस्ताक्षर गरेका छन् ।

बालअधिकारका क्षेत्रमा क्रियाशील संघ-संगठनहरूले पटकपटक बालमजदुर नराख्न आग्रह गरेकाले होटल व्यवासयीले यस्तो निर्णय गरेका हुन् । ती संघ-संस्थाले ज्याला नदिने, विद्यालय नपठाउने र खान र बस्नमात्र दिएर काम लगाउने गरेको भन्दै होटलहरूलाई बालमजदुर नराख्न सुझाव दिएका थिए ।

जिल्लाका कुनै पनि होटलले बालमजदुर नराख्न व्यवसायीले प्रतिबद्धता गरेकाले पालना गराउन प्रयास गर्ने होटल एसोसिएसनका नव निर्वाचित अध्यक्ष दावा लामाले बताए । जिल्ला बालकल्याण समितिले गरेको अध्ययनका क्रममा जिल्लाका विभिन्न होटल र पसलहरूमा ५८ जना बाल श्रमिक रहेको पाइएको छ । समितिको तथ्यांक अनुसार ३३ जनाभन्दा धेरैलाई ज्याला नै नदिई काममा लगाइएको छ ।

सताअघि समिति, मानवअधिकार मञ्च, मानवअधिकार सञ्जाल तथा शान्ति कार्य समूहलगायतका संस्थाले पटकपटक बालमजदुर नराख्न आग्रह गर्दा पनि अटेर गर्ने होटलबाट छ जना बाल श्रमिकको उद्धार गरेर अभिभावको जिम्मा लगाएका थिए ।

उद्धार गरिएका बाल श्रमिकमध्ये दानावारी-२ का अनिल सुब्बालाई महिला कल्याण समाज इलामले शैक्षिक सहायता प्रदान गरेको छ । द्वन्द्व प्रभावित बालबालिका परिवार तथा समुदायका लागि पुनःस्थापना परियोजना आरसीपीले शैक्षिक सहायता कार्यक्रम अन्तर्गत बालकलाई सहायता गरेको हो । सुब्बालाई स्कुल ब्याग, पोसाक र जुत्ता उपलब्ध गराइएको थियो ।