शिक्षामा दक्षिणी गाविस जुरोपानी अगाडी एसएलसीमा जिल्ला प्रथम र द्वितीय


जुरोपानी, १३ असार / भौतिक विकास र सुविधाका दृष्टिले निकै पछाडि परेको पश्चिम–दक्षिण झापाको जुरोपानी गाविस शैक्षिक सफलताको आधारमा जिल्लाकै उत्कृष्ट बन्न पुगेको छ । यहाँको विद्यालयबाट एसएलसी दिएका एक छात्रा जिल्लाकै उत्कृष्ट र अर्का एक छात्र सामुदायिक विद्यालयतर्फ उत्कृष्ट भएको दावी छ ।
जुरोपानीको नमुना इङ्लिस सेकेण्डरी स्कूलकी छात्रा अप्सना अधिकारीले ८९ दशमलव ६३ अंक प्राप्त गरेर जिल्लाकै उत्कृष्ट भएकी छन् । जिल्ला शिक्षा कार्यालयले मार्कलेजर नआइसकेको कारण अधिकारीलाई ‘जिल्ला प्रथम’ घोषणा गर्न बाँकी छ । जुरोपानीका लागि एसएलसी सफलताको खुशी यतिमा सीमित रहेन । जुरोपानीकै प्रगति उच्च माध्यमिक विद्यालयका छात्र स्वरुप खड्काले ८५ दशमलव ५ प्रतिशत अंक ल्याएर सामुदायिक विद्यालयतर्फ जिल्लाको उत्कृष्ट भएको दावी थपिएको छ ।
प्रगति उमाविका प्रधानाध्यापक मदन मिश्रले सामुदायिक विद्यालयतर्फ स्वरुपको जति अंक अरु कुनै पनि विद्यार्थीले नल्याएको दावी गरे । उनले ८ सय पूर्णाङ्कमा ६ सय ८४ अंक ल्याएका छन् । प्रगति उमाविकै विश्वराज भण्डारी २०६१ सालमा एसएलसीमा जिल्ला प्रथम भएका थिए ।
विषयगत आधारमा स्वरुपले अंग्रेजीमा ७४, नेपालीमा ७५, गणितमा ९४, विज्ञानमा ९२, सामाजिकमा ८२, स्वास्थ्य जनसंख्या तथा वातावरणमा ८७, ऐच्छिक गणितमा ९८ र ऐच्छिक शिक्षामा ८२ अंक प्राप्त गरेका छन् ।
जिल्लाकै उत्कृष्ट दावी गरिएकी नमुना स्कूलकी अप्सनाको ७ सय १७ प्राप्तांक रहेको छ । उनले गणित र ऐच्छिक गणित दुवैमा / अंक ल्याएकी छन् । अंग्रेजीमा ८७, स्वस्थ्यमा ८८ र लेखामा ९१ ल्याएकी उनलाई उछिन्ने नतिजा अरु कसैले दावी गरेको छैन ।
नमुना स्कूलका प्रिन्सिपल ध्रुव गौतमका अनुसार यतिखेर जुरोपानीबासी एसएलसी सफलताको दोहोरो खुशीमा रमाएका छन् । यही विद्यालयकी छात्रा अञ्जना राजवंशीले २०६१ सालको एसएलसीमा जिल्लाकै उत्कृष्ट नतिजा ल्याएकी थिइन् । अञ्जनाले त्यसबेला मुलुककै सर्वाेत्कृष्ट नतिजा ल्याएकी थिइन् । उनले ९२ दशमलव ३८ प्रतिशत अर्थात ७ सय ३९ अंक ल्याएकी थिइन् ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...