साउदीमा ३५ नेपालीको बिचल्ली


१२ जेठ, सुनसरी/ रोजगारका लागि साउदी अरब गएका करिब ३५ नेपाली युवा सम्झौताअनुसार काम नपाएपछि बिचल्लीमा परेका छन् । मोरङ बेलबारी निवासी विमल गौतमद्वारा सञ्चालित नेपाल गेट ओभरसिजमार्फत साउदी गएका उनीहरूलाई सहरभन्दा टाढा मरुभूमिमा लगेर राखिएको छ । 
अधिकांश युवाहरू झापा र मोरङका हुन् । प्रतिव्यक्ति ९० हजारभन्दा माथि रकम लिएर कम्पनीले साउदी पठाएको थियो । काठमाडौंस्थित कम्पनीको कार्यालयमा सागर निरौला भनिने विमलका भान्जालाई युवाहरूले पैसा बुझाएका थिए । 
नेपाली युवाहरू साउदी जाँदा सुपरमार्केट तथा अफिस क्लिनरका लागि भनेर सम्झौता भएको थियो । तर उनिहरूलाई साउदी पुर्‍याएर जोखिमपूर्ण काममा लगाएको पीडित शुक्र देवानले फोनमार्फत बताएका छन् । जोखिमपूर्ण काम गर्न नमान्दा कुटपिट गर्ने गरेको उनले गुनासो गरे । उनीहरूलाई भोकभोकै काममा लगाएपछि स्वास्थ्यमा पनि समस्या परेको छ । युवाहरूले आफूलाई घर फर्काउने व्यवस्था मिलाउन फोनमार्फत परिवारसँग आग्रह गरेका छन् । कम्पनीका कर्मचारी सागर निरौलालाई फोन गर्दा उल्टै गाली-गलौज तथा हप्की-दप्की गरेको फोनमार्फत मोरङका विशाल राईले बताए ।
घटनाबारे साउदीमा रहेका कम्पनीका प्रमुख विमल गौतमसँग सम्पर्क राख्दा उनीहरूलाई नेपाल फर्काउने प्रयास भइरहेको बताए । तर, उनी अहिलेसम्म पीडितहरूको सम्पर्कमा आएका छैनन् । यता पीडितका आफन्तले भने कम्पनी तथा त्यसका सञ्चालकविरुद्ध श्रम कार्यालयमा मुद्दा दर्ताका लागि तयारी गरिरहेको बताएका छन् ।


source:nayapatrika

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...