ईटहरीमा भेटिए जोखियुक्त २० हजार सिलिन्डर

इटहरी, वैशाख २२  - जुनसुकै बेला पड्कन सक्ने जोखिमयुक्त २० हजार भन्दा बढी सिलिन्डर सरकारी अनुगमन टोलीले बिहीबार सुनसरीको खनारमा छापा मारी बरामद गरेको छ। जिल्ला प्रसासन कार्यालय सुनसरीको नेतृत्वमा खटिएको अनुगमन टोलीले व्यापारी शिवप्रसाद घिमिरेको नेपा पेट्रोलियम ट्रेड लिङ्क्स प्रालिमा छापा मारेको हो। 
 छापा मार्दा अलग-अलग ग्यास कम्पनीका सिलिन्डर संकलन गरी सुगम ग्यासको फुटरिङ् लगाएका जोखिमयुक्त सिलिन्डर बरामद गरेको हो।
नेपाल ग्यास विक्रेता संघले उजुरी गरेका आधारमा सरकारी अनुगमन टोलीले छापा मारेको हो। सिलिन्डर गायब पार्न सक्ने आशंकाले विक्रेता संघका प्रतिनिधी वुधबार दिउँसैदेखि ट्रेड लिङ्क्स परिसरमा त्रिपाल टागेरै बसेका थिए।
व्यापारी घिमिरेको धादिङको नौविसेमा सुगम ग्यास उद्योगको मुख्य कार्यालय रहेकोमा खनारमा भने देशभरबाट विभिन्न ग्यास कम्पनीका सिलिन्डर भेला गरेर कलर गरी नयाँ बनाई सुगम ग्यासको फुडरिङ् लगाउने गरिएको अनुगमन टोलीले जनाएको छ। सुगम ग्यास बजारमा ६ महिनाअघिदेखि विक्री-वितरण हुर्दै आएको छ।
अनुगमन टोलीमा संलग्न गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय बिराटनगरका प्रमुख शशीभुषण यादवले सुगमको ३ हजार १ सय ९२ वटा फुटरिङ् पनि बरामद गरेको बताए। उनले राजधानी, श्रीकृष्ण, नारायणी, सूर्य, गृहलक्ष्मी, नोवेल, प्राइम, सिद्धार्थ, एभरेष्ट लगायतका दुई दर्जन बढी कम्पनीको सिलिन्डर बजारबाट खरीद गरेर सुगमको फुटरिङ् लगाएर ग्यास भरी बजारमा विक्री-वितरण गर्ने उपाया अनुसार यस्तो गलत काम गर्ने गरेको बताए। बरामद गरिएका सिलिन्डर गणना गर्न बिहीबारदेखि थालिएको छ। सिलिन्डर गणना शुक्रबार साँझसम्म सकिने उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष रोहित प्रसाईले बताए।
फुटरिङ् लगाइएको ग्यासको सिलिन्डर कमजोर हुने र चाप बढेपछि जुनसुकै बेला पड्किन सक्ने ग्यास विक्रेता महासंघका केन्द्रिय अध्यक्ष ज्ञानेश्वर अर्यालले बताए। ग्यास भर्नका लागि मुख्य उद्योगमा कलर गरेर र फुटरिङ् लगाएर पठाउन तयारी गरेका सिलिन्डर अनुगमन टोलीले पूर्वमा यति ठुलो परिमाणमा बरामद गरेको पहिलो भएको अर्यालले दावी गरे।

'बजारमा जोखिमयुक्त ग्यासका सिलिन्डर तीन लाख भएको र नेपाल आयल निगम, बाणिज्य कार्यालय लगायतका सरकारी निकायलाई जानकारी दिदाँ पनि अहिलेसम्म अनुगमन गर्ने र आवश्यक कार्वाही गर्ने प्रक्रिया थालिएको छैन,' उनले भने, सवै अनुचित प्रभावमा परेर अनुगमन र कार्वाही नभएको हो।'

गृहलक्ष्मी ग्यास उद्योग प्रालि पोखराका धर्मराज बडतौलाले सिलिन्डरमा कलर गरेर आकर्षक बनाएपनि उपभोक्ताले ग्यास लिकेज भएपछि मात्र थाहा पाउने भएकाले खतरनाक हुने बताए। 'यति ठुलो संख्यामा सिलिन्डर रहेको त कल्पना पनि गरिएको थिइन्। भित्र पसेर हेर्दा त सवै अचम्मित भयौ,' उनले भने, 'यस्तो कार्य त गम्भीर अपराध हो। यो गर्नु भनेको हरेक उपभोक्ताको घर-घरमा बम लगेर राख्नु जतिकै हो।'
ग्यास उद्योग संघका अध्यक्ष सवारमल अग्रवालले यत्रो खतरानाक कार्य गर्नु गम्भीर अपराध भएकाले गर्दा सरकारी निकायले कार्वाहीमा रतिभर चुक्न नहुने बताए। उनका अनुसार व्यापारी घिमिरेले अन्य कम्पनीका ग्यास बजारमा अभाव सृजना गरी आफ्नो कम्पनीका ग्यासको बजार बिस्तार गर्न अन्य कम्पनीका सिलिन्डरमा फुटरिङ् लगाउने गरेको बताए।
देशभर दुई दर्जन बढी पेट्रोल पम्पमा लगानी गरेका र सुनसरीमा दुईवटा आफ्नै निजी पेट्रोल पम्प सञ्चालक व्यवसायी घिमिरेले बजारबाट खरीद गरेर ल्याएका अन्य कम्पनीका ग्यास सिलिन्डर कलर गर्न तीन जना कर्मचारी खटाउने गरेको पाइएको छ। बारा निजगढ घर भई सिलिन्डर कलर गर्ने काम गर्दै आएका लिलाबहादुर सापकोटाले अन्य कम्पनीका सिलिन्डर कलर गरेबापत मासिक तीन हजार रुपैयाँ तलब पाउने गरेको बताए। 'आफुलाई त पेट पाल्ने चिन्ता छ। जहाँ जे काम पाउछु त्यही गर्न पर्छ, अहिले मालिकले लगाए अनुसार अन्य कम्पनीका सिलिन्डर कलर गरेर आकर्षक पार्ने गरेको छु,' उनले भने।
कत्था उद्योगसहित मिडियामा समेत लगानी लगाएका घिमिरेलाई नेपाल आयल निगमले प्रमिसन डेलिभरी अडर अनुसार कारबाही चलाउन सक्नेछ। यस्तै, उनलाई जिल्ला प्रसासन कार्यालयले कालाबजारी ऐन अन्तर्गत, उपभोक्ता संरक्षण ऐन २०५४ र नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरीय ऐन अन्तर्गत कार्वाही गर्न सक्छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले अनुगमन टोलीले विस्तृत रिपोट पेश गरेपछि र आवश्यक छलफल गरेपछि सोही अनुसार कार्वाही प्रक्रिया अगाडि वढाउने बताए। 'कानुनी कार्वाहीको प्रक्रिया त अगाडि वढी नै सक्यो तर अहिलेसम्म हेर्दा गुणस्तरीय ऐन अन्तर्गत र घरेलु तथा साना उद्योग ऐन अन्तर्गत कार्वाही गर्न सक्ने देखिन्छ,' उनले भने, 'अन्य कार्वाहीका लागि एक-दुई दिन भित्रमा रिपोट आएपछि प्रस्ट हुनेछ।'
Via Source: (नागरिक)
Image Courtesy:- Kantipur E-paper 

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...