चिया मजदुरहरु आन्दोलनमा


इलाम, ५ वैशाख
सामाजिक सुरक्षा, तलब वृद्धिलगायत माग राख्दै इलाम र झापाका चिया मजदुर आइतबारदेखि आन्दोलनमा उत्रिएका छन् ।
व्यवस्थापन पक्षसँग विभिन्न २८ सूत्रीय माग राखेका मजदुर आइतबारदेखि अनिश्चितकालका लागि पूर्णरूपमा कारखाना र बगानको सबै काम बन्द गरी आन्दोलनमा उत्रिएका हुन् । दुवै जिल्लामा मजदुरले ८ चैत देखि सामाजिक सुरक्षा, तलब वृद्धि, स्वास्थ्य, आवास, शिक्षालगायत क्षेत्रमा सेवा-सुविधा दिनुपर्ने र दिएका सुविधा निःसर्त उपलब्ध गराइनुपर्ने माग गर्दै बगान र कारखानामा झन्डा गाढेर काम गर्दै आएका थिए । मजदुर आन्दोलनले मजदुरलाई करोडौँ रुपैयाँ घाटा हुने व्यवसायी बताउँछन् ।
पूर्वी पञ्चकन्यास्थित आइतबारेमा रहेको इलाम टी प्रोड्युसर्स प्रालिमा दैनिक चार सय किलो हरियो चियापत्ती प्रशोधन हुँदै आएको थियो । एक सय १० मजदुरले काम गर्दै आएको बगानका मजदुर आन्दोलनमा उत्रिएपछि कारखाना नै ठप्प भएको प्रबन्धक हरि तिम्सिनाले बताए ।
चियापत्ती टिप्ने काम नहुँदा सयौँ किसान मारमा पर्ने सम्भावना देखिएको कन्यामका किसान काजीमान कागतेले बताए । 'मजदुर आन्दोलनमा उत्रिएपछि किसानलाई लाखौँ घाटा हुने अवस्था छ,' उनले भने । निजी बगानमा काम गर्ने मजदुर पनि आन्दोलनरत मजदुर संघसंगठनमा आबद्ध छन् ।
सेवा-सविधा वृद्धिको माग गर्दै बर्षौदेखि आन्दोलन गर्दै आए पनि चिया मजदुुरको समस्या समाधान हुन सकेको छैन । बगान व्यवस्थापन पक्षले आफ्ना मागप्रति चासो नदिएको भन्दै मजदुर गत वर्ष पनि आन्दोलनमा उत्रिएका थिए ।
अखिल नेपाल चिया मजदुर संघ, नेपाल स्वतन्त्र चिया मजदुर युनियन र नेपाल चिया बगान श्रमिक संघले यसपटक संयुक्त रूपमा आन्दोलन सुरु गरेका हुन् । आन्दोलनका क्रममा गत १४ माघमा बगान व्यवस्थापन पक्षलाई ज्ञापनपत्र पेस गरेका थिए । आफ्ना मागप्रति बेवास्ता गरिएकाले पुनः आन्दोलनमा उत्रिएको अखिल नेपाल चिया मजदुर संघका अध्यक्ष भूपाल सापकोटाले बताए । 'जति भने पनि हाम्रो वर्षौंदेखिको समस्या समाधान हुन सकेन,' सापकोटाले भने, 'अब हामी निणर्ायक आन्दोलन गर्छाैं ।'
आन्दोलित मजदुरले शनिबार झापा र इलामका विभिन्न प्रशोधन कारखानाको मूलगेटमा धर्ना दिएका थिए । उनीहरूले शुक्रबार ४८ घन्टे अल्टिमेटमसहितको ज्ञापनपत्र व्यवस्थापन पक्षसमक्ष पेस गरेका थिए । व्यवस्थापन पक्ष र मजदुरबीच पटक-पटक वार्ता भए पनि निष्कर्षमा पुग्न नसकेपछि मजदुरको समस्या जटिल बन्दै गएको छ ।
उद्योगपति र टे्रड युनियनबीच भएको सहमतिअनुसार चिया मजदुरले दैनिक २ सय २६ रुपैयाँ र मासिक रूपमा काम गर्नेलाई ६ हजार एक सय उपलब्ध गराउने सहमति भएको थियो । झापा, इलाम र धनकुटामा अहिले चिया कारखाना र बगानमा सिजनल तथा निरन्तर रूपमा काम गर्ने मजदुर ४५ हजारको संख्यामा रहेको अध्यक्ष सापकोटाले बताए ।


चिया बगान व्यवस्थापन पक्षका वार्ता टोली संयोजक गिरीले मजदुरको सामाजिक सुरक्षाको कुरा व्यवस्थापकले नभई राज्यले गर्नुपर्ने विषय भएको प्रतिक्रिया दिए । 'भारतको चियासँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्थाले अझ नेपालको चियाक्षेत्र संकटमा परेको छ,' उनले भने, 'मजदुरको माग सम्बोधन गर्ने कुरा चुनौतीका रूपमा छ ।' इलाम टी प्रोड्युसर्सका प्रबन्धक तिम्सिनाले वाणिज्य संघसँग भएको सहमति चिया मजदुरका हकमा नभई अन्य कारखानाका हकमा मात्रै लागू हुने बताए ।




 Via Source :- भीम चापागाई नयाँ पत्रिकाबाट 

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...