विद्यालयमा पत्रकारमाथि आक्रमण


विद्यालयको प्रशासन कक्षभित्र पत्रकारलाई चप्पल हान्ने सहप्रधानाध्यापकसहित एक शिक्षकलाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।
इटहरी इलाका प्रहरी कार्यालयले यहाँको इटहरी चिल्ड्रेन डे केयर होमका सहप्रधानाध्यापक मीना शेर्पा र शिक्षक अश्विन खनाललाई पक्राउ गरेको हो । शुल्कवृद्धि भएको विषयमा आन्दोलित अभिभावक र विद्यालय प्रशासनबीच भएको छलफलको दृश्य संकलन गरिरहेका पत्रकारद्वय मनोज भुजेल र दीपक कार्कीलाई ताकेर उनीहरुले चप्पल प्रहार गर्नुका साथै गालीगलौजसमेत गरेका थिए । यसैबीच समाचार संकलन गरिरहेका पत्रकारमाथि दुव्र्यवहार भएको विषयमा नेपाल पत्रकार महासंघ सुनसरी, युथ रिपोटर्स ग्रुप नेपाल, प्रेस युनियनले आपत्ति प्रकट गरेका छन् । उनीहरूले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी पत्रकारमाथि भएको दुव्र्यवहार र आक्रमण प्रयास स्वतन्त्र प्रेसमाथिको आक्रमण भएको जनाउँदै दोषीलाई कानुनी कारवाही गर्न र पत्रकारको सुरक्षामा गम्भीर हुन स्थानीय प्रशासनसँग माग गरेका छन् ।

भुजेल र कार्कीले पनि सहप्रधानाध्यापक र शिक्षकविरुद्ध सार्वजनिक अपराध ऐनअन्तर्गत कारवाहीको लागि संयुक्तरूपमा किटानी जाहेरी दिएका छन् । जाहेरी बुझ्दै इन्स्पेक्टर श्यामल सुब्बाले दोषीमाथि कारवाहीको प्रक्रिया अघि बढाइने जनाए ।
 
विद्यार्थी लाँदै अभिभावक
शुल्क बढाएपछि आन्दोलित बनेका अभिभावक छलफलको क्रममा पत्रकारमाथि नै आक्रमण भएपछि अझ आक्रोशित बनेका छन् । इटहरी–१ स्थित सो विद्यालयले यसै वर्ष डेढ सय प्रतिशतभन्दा बढी शुल्क वृद्धि गरेको जनाएको छ ।
नर्सरीको भर्ना शुल्क ५ हजारबाट एकैचोटी ८ हजार रूपैयाँ पुर्‍याएपछि अभिभावकले विद्यालयको ज्यादती सहन नसक्ने भन्दै आफ्ना बालबालिकालाई समेत लगेका छन् । मनोमानी ढंगले शुल्क असुल्दा मारमा परेको उनीहरूले जनाए । शान्तिपूर्ण छलफलको क्रममा समाचार संकलन गर्ने पत्रकारमाथि आक्रमण गरिएकोमा पनि उनीहरूले विरोध गरे ।
सुनसरी प्याब्सनका अध्यक्ष दिलकुमार वनले पनि अभिभावकको चित्त नबुझाई गरिएको शुल्कवृद्धिको विरोध गरेका छन् । उनले अभिभावकको सहमतिमा गरिने शुल्कवृद्धिले मात्र राम्रो परिणाम दिने जनाउँदै शुल्क बढाएपछि अभिभावक आक्रोशमा आउँदा प्याब्सन सहभागी नहुने जनाए ।
Via Source:- Blast Times Daily

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...