सहिद राजन गिरी
२०६३ वैशाख ६ गते बुधबार झापाको सदरमुकाम चन्द्रगढीमा सातदलको अगुवाईमा शान्ति प्रदर्शन गर्ने दिन थियो । लोकतन्त्रप्रेमी आम झापालीको प्रदर्शनबाट लत्तालिएको स्थानीय प्रशासनले चैत ३० गते नै सदरमुकाममालाई निषेधित क्षेत्र घोषणा गरी गाउँगाउँमा सुरक्षा फौज परिचालन गरी सर्वसाधराणमा आतंक मच्चाएर पनि लोकतन्त्रका लािग उठिसकेको जनउत्साहमा कतिपनि आघात पुरयएन । बरु दमन र आतंकपूर्ण धम्कीको कुनै परवाह नै नगरी जस्तासुकै पर्खाल तोड्ने शक्तिका साथ ६ गते विहानैदेखि सदरमुकामतर्फ जनलहर अघि बढ्यो । विहानैदेखि सदरमुकाम आउने चारै दिशाका चारै नाकामा सेना र प्रहरी उल्लेख्य संख्यामा खटाएर जनलहर रोक्ने प्रयत्न भए पनि आखिर उनीहरुको केही लागेन किनभने त्यहाँ राजन गिरी, सुरज विश्वास जस्ता साहसी युवाहरु थिए ।
६ गतेको जनलहरमा झापा अर्जुनधारा–६ लक्ष्मीपुरका राजन गिरी पनि हिानको खाना खाई नजिकैका साथीहरुसँग लामवद्ध भई सदरमुकामतर्फ लागे । लक्ष्मीपुरदेखि नै ठूलो मास लोकतान्त्रिक नारा गुञ्जाउँदै साइकलमा अघि बढेको थियो । झापाका कुराकुनाबाट भेला भएका पचासौ हजार प्रदर्शनकारीले निषेधाज्ञा तोड्दै गए । जिविस गेट अघिको बाटोबाट प्रदर्शनकारीले पटकपटक सेना काँडेतारको बार खडा गरेर दमन गर्न तम्तयार थिए । प्रर्शनकारीले पटकपटक सेना भिजिलान्तेहरु प्रदर्शनकारीतर्फ छिरेर सेना र प्रहरीलाई ढुंगा र मुढा वर्षाउन थालेपछि स्थ्तिि उत्तेजित बन्यो । दिनको ४ः१५पछि गोली चल्न थाल्यो । सेना, सशस्त्र र जनपथ प्रहरीले प्रदर्शनकारीमाथि नृशंस दमन गरी अत्याधुनिक हतियारबाट गोलीको वर्षा गराउन थाले । यसैक्रममा आन्दोलनको अगंपंक्तिमा रहेका राजन गिरी र सुरज विश्वासलाई खेदाएर ताकी ताकी सेनाले गोली प्रहार गर्यो । गोली प्रहारबाट राजन त्यही ढले । एकापट्टिको कोखाबाट छिरेको गोली अर्कोतिरबाट निस्कदा ननिस्कदै राजन ढलिसकेका थिए । घटनाको केही बरेपछि उद्धारमा आएको रेडक्रसको टोलीले अस्पताल पुर्याउन साथ उनी मृत घोषित भए । वास्तवमा उनको जीवात्मा घटनास्थलमै उग्रिसकेको थियो । रातभर उनको शव अस्पतालमै राखेर विहान घर ल्याइयो त्यसपछि १२ः३० पछि विर्तामोडबाट सुरु भएको शव यात्रामा हजारौंको सहभागिता थियो । उनको भौतिक शरीरको अन्त्येष्टी कन्काई माइमा गरियो । राजनको भौतिक शरीर नरहेपनि उनको आत्माले लोकतन्त्र स्थापनाका लािग झापाली मात्र नभएर तमाम नेपालीमा उर्जा थप्यो । त्यसैले त ६ गतेपछि आन्दोलन निर्णायक मोडमा अघि बढेको थियो ।
जब–जब मुलुकमा कठिन मोड आउँछ – झापाली ऐतिहासिक निर्णायक भूमिका निर्वाह गरेकै छन् । राजनको जीवन उत्सर्ग त्यसकै निरन्तरता भयो । लोकतन्त्रका लािग आफ्नो जीवनको आहुती चढाउने राजन आमनेपाली युवाहरुको लागि प्रेरणाको स्रोत त बने नै सधै अमर पनि छन् ।
सहिद सुरज विश्वास
‘आमा । आज साथीहरुसँग आन्दोलनमा जान्छु र साँझ पाँच बजे फर्कन्छु है ।’ घरमा आमा मीनु विश्वासका लागि सुरजको यही अन्तिम वाक्य थियो । सुरज आन्दालनमा जान अघिल्लै दिनदेखि तयारीमा िथए । उनले वैशाख ५ गते नै आमालाई भनेका थिए – ‘आमा भोलि सातदलको प्रदर्शन छ । त्यसमा जानुपर्छ । देशको लागि केही गर्नुपर्छ ।’
तर, सुरजको भौतिक शरीर आमालाई बचन दिएझै साँझ फर्कन सकेन । देश र आफू जस्तै लाखौ लोकतन्त्रप्रेमी जनताको भावना बोकेकाहरुसँग होस्टेमा हैसे गर्न हिडेका सुरज सदरमुकाम चन्द्रगढीमा तानाशाही राज्य व्यवस्थले लादेको ‘निषेधाज्ञा’ तोड्ने क्रममा सुरक्षाफौजको नृशंस दमनका क्रममा गोली प्रहारबाट ढल्न पुगे । उनको भौतिक शरीर आन्दोलनकै क्रममा घटनास्थलमै कहिले नउठ्ने र नचल्ने गरी ढल्यो । झापा अजुनधारा–६ का राजन गिरीसँगै भद्रपुर–९ का उनी साहसी युवा जनान्दोलन अर्थात लोतान्त्रिक आन्दोलन २०६३ का झापाली सहिद बने । वैशाख ६ गते बुधबार सुरज विश्वास नुहाएर खाना खाई आमासँगै अनुमति लिएर ११ः३० बजे घरबाट बाहिरिएका थिए । त्यसपछि उनी साइकल लिएर अस्पताल चौक हुँदै साथीहरुसँग दलहरुको प्रदर्शनमा सहभागी भएका थिए ।
सुरज एक साहसी, अतिनै मिलनसार, लगनशील र हँसिलो मुहार भएका युृवा एि । कालीदास र मनरमा विश्वासका नाति शान्ति विश्वास र मीनु विश्वासका कान्छा छोरा हुन् सुरज । २०३७ साल असोज २९ गते शनिबार भद्रपुरमा उनको जन्म भएको थियो । ०३१ सालमा शान्ति र मीनु विवाह बन्धनमा बाँधिएपछि परिवारको तेस्रो सन्तानको रुपमा सुरजको जन्म भएको थियो ।
२०४२ सालमा चन्द्रगढीस्थित पुरानो मेरी गोल्ड स्कूलमा कक्षा १–३२ सम्मको अध्ययन पुरा गरेका सुरजले चौथो कक्षादेखि भद्रपुरस्थित पशुपति प्राविमा दुई वर्षसम्म अध्ययन गरे । छौटौ कक्षादेखि भद्रपुर माविमा भर्ना भएका सुरजले आठ कक्षा उत्तीर्ण गरी अध्ययनको पाटोलाई पूर्ण विराम लगाए । उनका मामा गोपाल मण्डलका अनुसार अध्ययन छोडेपछि उनी जीविकोपार्जको लागि विभिन्न क्षेत्रमा काम गर्न थाले । २०५० सालमा जनता चौकस्थित सन्तोष ग्यारेजबाट बिराटनगरस्थ्ति शिवशक्ति मारुती ग्यारेजमा पुगे, त्यहाँ उनले तीन वर्षकाम गरे । ०५५ सालमा काठमाडौं गएर उनले सिनामंगलमा मनकामना ग्यारेज खोले । दुई वर्षसम्म त्यहाँ काम गरेका सुरज ०५२÷०५७ सालमा सुरजले ड्राइभिङ पनि थाले । ड्राइभिङ र ग्यारेजको कामको सिलसिलामा विभिन्न ठाउँ पुगेर अत्यन्त संघर्ष गरेका सुरजले ०६२ सालदेखि आफ्नै घर फर्किएर भद्रपुरमै ड्राइभिङ थालेका थिए । सो क्रममा उनले डा. रानी झा, धर्म पोखरेल लगायतको गाडी चलाए पछिल्लो पटक उनी सुशीलकुमार अग्रवालको ३४६ नम्बरको गाडी ड्राइभर थिए ।
सुरजका बबुा भद्रपुरका कृषि विकास बैंक अघिल्तिर साधारण साइकल मर्मत केन्द्र खोली त्यही काम गर्दै आएका छन् भने दाजु सञ्जयको भद्रपुर बजारमा कस्मेटिक पसल छ । जग्गाको नाममा एककठ्ठा मात्र रहेको विश्वासको परिवार साधराण र सामान्य परिवार हो । सुरजले आफ्नै महेनतको कमाईले सानो पक्की घर निर्माण गर्दै थिए । तर त्यो सब अधुरै .. । निरंकुशताको अन्त्य र लोकतन्त्र स्थापनाका लागि सुरज विश्वासले बगाएको रगतले जनआन्दोलन उत्कर्षमा पुर्यायो । सुरज र राजनजस्ता होनाहार युवालाई इतिहासले कहिल्यै भुल्ने छैन ।
(झापाली पत्रकार एकराज गिरीद्धारा लिखित जनआन्दोलन २ नामक पुस्तकबाट)
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...