रोजगार व्यवसायीमाथि हमला


रोजगारका लागि विदेश गएर फर्किएकाहरुको एक समूहले बिहीबार बिर्तामोडमा आक्रमण गरी एकजना रोजगार व्यवसायीलाई गम्भीर घाइते बनाएको छ । 
बिर्तामोडको पुकार मेनपावरबाट दुई महिनाअघि रोजगारमा विदेश गएका मेचीनगर–७ का ज्ञानेन्द्र ढुङ्गाना समूहको आक्रमणमा परी व्यवसायी धनबहादुर पन्धाक गम्भीर घाइते भएका हुन् । पुकार मेनपावरका शाखा प्रबन्धक नगेन्द्र अर्यालका अनुसार दुई महिनाअघि रोजगारका लागि ढुंगाना विदेश गएका थिए । मेडिकलमा फेल भई फर्किएका उनलाई सम्बन्धित कम्पनीले १ लाख ३० हजार रुपैयाँ फिर्ता गरेर सहमतिपत्रसमेत बनाइदिएको छ । 
‘तर, हामी आउँछौं, छलफल गरौंला’ भन्दै ढुंगानाको नेतृत्वमा आएका करिब २०÷२२ जना युवाले सम्पूर्ण मेनपावर व्यवसायी बसिरहेको अवस्थामा पन्धाकमाथि अचानक आक्रमण गरेको अर्यालले बताए । छुरी, चेनलगायत् घरेलु हतियारको आक्रमणबाट पन्धाकको टाउको र अनुहारमा गहिरो चोट लागेको उनले जनाए । 
घटनालगत्तै प्रहरीलाई खबर गरे पनि प्रहरीले पक्राउ गर्न बेवास्ता गरेको व्यवसायीको आरोप छ । प्रहरीले हालसम्म कसैलाई पनि पक्राउ गर्न सकेको छैन । 
व्यवसायीमाथी आक्रमण गरेपछि सो समूहले मेनपावरमा भएका सामानसमेत तोडफोड गरेको बताइएको छ ।


No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...