१ महिनापछि उद्धार भो शरणार्थीको



आगलागीको चपेटामा परेको एक महिनापछि झापाको गोलधापस्थित शिविरका भुटानी शरणार्थीलाई दमकको बेलडाँगी शिविरमा सार्न थालिएको छ । 
तेस्रो मुलुक पुनर्बासका कारण शिविरबासी शरणार्थीको संख्या घट्दै गएकाले गोलधापलाई बेलडाँगी शिविरमा गाभिएको हो ।
शरणार्थी शिविरलाई एकत्रित गर्ने निर्णयअनुसार गोलधाप शिविरलाई बेलडाँगीमा गाभिएको शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोग स्रोतले जनाएको छ । फागुन अन्तिम साता शरणार्थीलाई स्थानान्तरण गर्न प्रक्रिया पूरा भए पनि सरकारले आदेश नदिँदा काम अघि बढ्न सकेको थिएन । दुई दशकअघि स्थापित शिविरलाई एकत्रित गर्न सरकार सहमत भएपछि पहिलो चरणमा गोलधापका शरणार्थीलाई बेलडाँगीमा स्थानान्तरण गर्न थालिएको लुथरन विश्व फेडरेसनले जनाएको छ । फेडरेसन शरणार्थीको आवास सुविधा व्यवस्थापनमा संलग्न छ । दोस्रो चरणमा खुदुनाबारी र टिमाई शिविरका शरणार्थीलाई बेलडाँगीमा स्थानान्तरण गर्ने उच्च्ाायोगको योजना छ ।
फेडरेसनका अधिकृत नेत्र सुवेदीका अनुसार मंगलबारदेखि शरणार्थी स्थानान्तरणको प्रक्रिया तीव्र पारिएको छ । स्थानान्तरण कार्यक्रमअन्तर्गत ३० परिवार बेलडाँगी शिविरमा बस्न थालेका छन् । प्रत्येक दिन कम्तीमा १० शरणार्थी परिवारलाई बेलडाँगी सार्ने लुथरनको तयारी छ । बेलडाँगीमा अन्यत्र शिविरबाट ल्याएका परिवारलाई राख्न आठसय छाप्रा निर्माण गरिएका छन् । गोलधापबाट सातसय २२ परिवार बेलडाँगी शिविरमा स्थानान्तरण हुने क्रममा छन् । शिविर स्थापना हुदा त्यहाँ १० हजारभन्दा बढी शरणार्थी थिए, हाल चार हजारमात्र छन् । तीन वर्षभित्र सबै शिविरलाई बेलडाँगीमा गाभ्ने सरकारी योजनाअनुरूप शिविर संख्या घटाउन थालिएको हो ।
पुनर्बास कार्यक्रमले गति लिएकाले सरकार र शरणार्थीको क्षेत्रमा कार्यरत दाता निकायले यो योजना अघि सारेका हुन् । सन् १९९० को दशकमा जातीय दमनमा परी तत्कालीन भुटानी शासकद्वारा लखेटिएका भुटानी नागरिक पूर्वी नेपालको झापा र मोरङका सातवटा शिविरमा बस्दै आएका छन् । शिविरबासी एक लाख आठ हजारमध्ये ४३ हजारभन्दा बढी शरणार्थी अमेरिकालगायत मुलुकमा पुनस्र्थापित भइसकेका छन् । राष्ट्रसंघीय शरणार्थी आयोगको पुनर्बास कार्यक्रमअन्तर्गत ४ मार्च २००८ देखि भुटानी शरणार्थीलाई तेस्रो मुलुक लैजान थालिएको हो ।
शिविरबासीलाई तेस्रो मुलुक पुनर्बास गराउने जिम्मा अन्तर्राष्ट्रिय आप्रवास संगठनले पाएको छ । शरणार्थीको स्वास्थ्य जाँच, अन्तर्वार्ता, नेपाल छोड्ने स्वीकृतिलगायतका चरणबद्ध प्रक्रिया पूरा गरी आप्रवास संगठनले भद्रपुर र विराटनगर विमानस्थलबाट विमान चार्टर गरी राजधानी हँुदै तेस्रो मुलुक लैजाने गर्छ । नेपाल छोडेका मध्ये सबैभन्दा बढी ३८ हजार शरणार्थी अमेरिकामा पुनस्र्थापित भएका छन् ।
बाँकी शरणार्थीलाई अस्ट्रेलिया, क्यानडा, डेनमार्क, नेदरल्यान्ड, न्युजिल्यान्ड र नर्वेमा पुनर्बास गराइएको छ । नयाँ गन्तव्य राष्ट्रका रूपमा सहभागिता जनाएको बेलायतले पनि पूर्वघोषित प्रतिबद्धता शरणार्थीलाई आफ्नो देशमा पुनर्बास गराएको छ । राष्ट्रसंघीय आयोगको उच्च स्रोतका अनुसार एक लाख आठ हजारमध्ये ७० प्रतिशतभन्दा बढी शरणार्थी स्वेच्छाले तेस्रो मुलुक बसोबासमा इच्छुक देखिएका छन् 
By:- Subrat Neupane Via Nayapatrika 

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...