बाबुरामको अन्तर्वार्ताले ‘जनादेश’मा विवाद

४ माघ, काठमाडौ । पार्टी उपाध्यक्ष डा. बाबुराम भट्टराईको अन्तरवार्ता छाप्ने बिषयमा माओवादी संस्थापन पक्ष र भट्टराईपक्षवीच बिबाद भएपछि पार्टीको मुखपत्र ‘जनादेश’ साप्ताहिकका सम्पादक कोमल बरालले राजीनामा दिएका छन् ।
सोमवार पार्टी नेतृत्वले उपाध्यक्ष बाबुराम भट्टराईलाई फरकमत कार्यकर्ता प्रशिक्षणमा लान नदिएपछि असन्तुष्ट बनेका भट्टराई र उनी समर्थकले काठमाडौंमा आयोजना गरिएको कार्यकर्ता प्रशिक्षण बहिस्कार गरेका थिए । सोही बिषयमा पत्रिकाका कार्यकारी सम्पादक मनऋषि धितालले पार्टी प्रचार बिभाग प्रमुखसमेत रहेका भट्टराईको अन्तरवार्ता लिएका थिए ।
पत्रिकासम्बद्ध स्रोतका अनुसार भट्टराईको अन्तरवार्ता छापिन लागेको जानकारी पाएपछि पार्टी हेडक्वाटरले कुनैपनि हालतमा नछाप्न दवाव दिएको थियो । सो दवावपछि सम्पादक कोमल बरालले भट्टराईको अन्तरवार्ता छाप्न नहुने अडान लिए भने कार्यकारी सम्पादक धितालले कुनैपनि हालतमा छाप्नुपर्ने अडान लिए । संस्थापन पक्षले भट्टराईको अन्तवार्ता छापिए पत्रिका नै जफत गरिदिने धम्कीसमेत दिएको भट्टराई पक्षधरको दावी छ ।
अन्ततः बरालले पत्रिकाको सम्पादकबाट आफ्नो ‘नाम हटाएर छाप्नू’ भन्दै कार्यालयबाट बाहिरिएको स्रोतले बताएको छ । कार्यकारी सम्पादक मनऋषि धितालले भने आफूले लिएको भट्टराईको अन्तर्वार्ता मुख्य पृष्ठमा राखेर पत्रिका फाइनल गरेका थिए । मंगलबार प्रकाशित जनादेश साप्ताहिकको प्रिन्टलाइनमा सम्पादक कोमल बरालको नाम हटाइएको छ भने सबैभन्दामाथि कार्यकारी सम्पादक मनऋषि धितालको नाम उल्लेख छ ।
जनादेशभित्रको विवादबारे राखेको जिज्ञासामा कार्यकारी सम्पादक धितालले भने-’भट्टराई पार्टी प्रचार बिभाग प्रमुख रहेकोले उहाँका बिचार नराख्नु उचित ठानेनौं ।’ भट्टराई पक्षधरले पार्टीको प्रशिक्षणसमेत बहिस्कार गरेको अबस्थामा उहाँप्रति आम कार्यकर्ता र जनताले प्रश्न गरेको हुनाले भट्टराईका कुरा समवेश गर्नु जरुरी ठानेर आफूले अन्तर्वार्ता समावेश गरेको धितालले दावी गरे ।
सम्पादक बरालको नाम राखेर भित्री पेज छापिइसकेको अबस्थामा उनले नाम हटाउन भनेपछि पत्रिका पुनः छाप्नुपरेको धिताले बताए । सम्पादकले आफू जनादेशमा छैन भनेपछि आफूले नाम हटाएर पत्रिका छाप्नुपरेको धितालको भनाई छ ।
संस्थापनपक्षको दबावप्रति मुख्य पृष्ठमै ‘हाम्रो असहमति’ शीर्षकमा असन्तोष जनाइएको छ । जसमा भनिएको छ-’सोमवार राजधानीमा आयोजित पार्टी कार्यकर्ताको भेलामा डा. बाबुराम भट्टराईले प्रस्तुत गर्दैआएका बिचारलाई जसरी रोक्ने काम गरियो, बिचारको बहसमाथि पत्रकारिता गर्दै आएको जनादेश साप्ताहिक पार्टी हेडक्वाटरको यसप्रकारको नोकरशाही कार्यशैलीप्रति सहमत हुन सक्दैन ।’
भट्टराईले हटाए  : बराल
यसैवीच जनादेशका सम्पादक कोमल बरालले भने प्रचार बिभाग प्रमुख डा. भट्टराईले आफ्नो नाम हटाएको बताएका छन् । बरालले भने-’ बिबादित अन्तर्वार्ता भएकाले मैले छाप्न सक्दिन भनें भट्टराईजीले त्यसो भए राजीनामा दिनुस् भन्नुभयो ।’ आफू हेडक्वाटरबाट खटिएको मान्छे भएकाले राजीनामा नदिने भन्दै बरालले हटाएर देखाउन आफूले चुनौती दिएको बताए । ‘हो, मैले अन्तरवार्ता बिबादित भएकाले छाप्न सकिन्न भनेको हुँ’- बरालले भने-’बिहान पत्रिका हेर्दा नाम हटाइएको रहेछ ।’
यसबिषयमा आफुले हेडक्वाटरमा कुरा राखिसकेको र पार्टी बैठकमा कुरा उठाउने आश्वासन पाएको बरालले बताए । अब तपाई जनादेशको सम्पादक हो कि हैन भन्ने जिज्ञासामा बरालको जवाफ थियो- ‘हेडक्वाटरले जे भन्छ त्यहि गर्छु ।’
SOurce:- Onlinekhabar

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...