फेसबुक फिल्मलाई गोल्डेन ग्लोब

क्यालिफोर्निया, माघ ४ (रोयटर्स्)- फेसबुकमाथि बनेको फिल्म 'द सोसियल नेटवर्क'ले गोल्डेन ग्लोबमा आइतबार चारवटा अवार्ड जितेको छ। यसले निर्देशक (डेभिड फिन्चर), पटकथा (आरोन सर्किन), संगीत (ट्रेन्ट रेज्नोर र एटिकस रोस) र उत्कृष्ट ड्रामा फिल्मको अवार्ड हात पारेको छ। गोल्डेन ग्लोबले ओस्कार अवार्डको पूर्व संकेत दिने मान्यता छ।
फेसबुक नामक नेटवर्किङ साइटको स्थापना कथामाथि बनेको 'सोसियल नेटवर्क'का निर्माताले मार्क जकरबर्गलाई धन्यवाद दिएका छन्। फेसबुकका संस्थापक जकरबर्गले फिल्मलाई सहयोग भने गरेका थिएनन्।

कमेडी वा म्युजिकलतर्फको उत्कृष्ट फिल्म 'द किड्स आर अल राइट' ठहरियो। दुई समलिंगी महिला जोडीमाथि आधारित यो फिल्ममा उनीहरूका छोराले आफ्ना बुबा खोज्ने कथा छ। कमेडीतर्फ अन्नेट बेनिङले यही फिल्मबाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन्, जसले फिल्ममा एक आमाको भूमिका निर्वाह गरेकी छिन्।

बेलायतका कोलिन फर्थले फिल्म 'द किंग्स स्पिच'बाट ड्रामातर्फ उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन्। उनलाई फिल्ममा राजा जर्ज छैठौंको रूपमा हेर्न पाइन्छ। त्यस्तै अभिनेत्री नाटाली पोर्टम्यानले फिल्म 'ब्ल्याक स्वान'बाट ड्रामातर्फको गोल्डेन ग्लोब लगेकी छिन्।

हलिउड फरेन प्रेस एसोसियसनले प्रदान गर्ने गोल्डेन ग्लोब अवार्डलाई हलिउडमा ओस्कारपछिका प्रतिष्ठित अवार्डहरूको सूचीमा राखिन्छ। गोल्डेन ग्लोबका विजेताहरूले नै ओस्कारमा अवार्ड जित्ने सम्भावना बढी हुने गरेको पाइएको छ।

'सोसियल नेटवर्क' फिल्मले यसअघि पनि विभिन्न अवार्डमा कब्जा जमाइसकेको छ र गोल्डेन ग्लोब थपिएपछि यसले ओस्कार जित्ने सम्भावना बढेको छ। पाउल जियामाटी 'बार्नीज भर्सन'बाट कमेडीतर्फको उत्कृष्ट अभिनेता बनेका छन्। त्यस्तै बक्सिङको कथा रहेको 'द फाइटर'बाट क्रिस्टियन बेल र मेलिसा लियोले सहअभिनेता र सहअभिनेत्रीको अवार्ड पाएका छन्।

'ट्वाय स्टोरी ३' उत्कृष्ट एनिमेटेड फिल्म घोषित भयो भने डेनमार्कको 'इन अ बेटर वर्ल्ड'ले विदेशी भाषातर्फ उत्कृष्ट फिल्मको उपाधि हासिल गरेको छ।

Source:- Nagariknews

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...