पाइरेसीका दोषी २५ हजार धरौटीमा रिहा

सुनसरी जिल्ला अदालतको आदेशमा सिनेमा पाइरेसी घटनाका दुईजना दोषी २५/२५ हजार रुपैंया सामान्य धरौटीमा सोमबार रिहा भएका छन् । चलचित्र 'बाटो मुनिको फूल'का निर्माता यशकुमारको उजुरीमा स्थानिय गणेश टकिजका असरफ अलि र मिथुन राय थुनामा थिए । वितरक डीसीएनका पूर्वान्चल स्टाफ भनिने अलि र टकिज अपरेटरका छोरा रायलाई पछि उपस्थित हुने सर्तमा धरौटी राखेर उनीहरुका आफन्तले छुटाएर लगेको पाइरेसी घटना छानविन गर्न गठित समितिका सदस्य चिरन्जिवी बस्नेतले जानकारी दिए ।

निर्मातालाई हर्जाना तिर्ने सहमतिपछि अदालती आदेशमा उनीहरु रिहा भएका हुन् । बस्नेतका अनुसार उक्त सिनेमा हलमा चल्दै गरेको सिनेमालाई हटाएर 'बाटो मुनिको फूल' पुनः प्रदर्शन गरिने र सोहीमार्फत क्षँतिपूर्ति भर्ने सहमति भएको छ । 'हल संचालक र निर्माताबीच उक्त सिनेमा चलाएरै क्षतिपूर्ति भर्ने सहमति भयो' बस्नेतले मेरोसिनेमासँग भने 'सहमतिपछि अदालतले धरौटीमा साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।'

दुवै रिहा भएपनि घटनाको प्रतिलिपि अधिकार उल्लंघनको मुद्दाभने बिचाराधिन छ । राय र अलि दुवैको बयानको आधारमा सीडी विक्रेतालाई सोधपुछ गरिने र अनुसन्धान जारी राखिने बस्नेतले बताए । 'निर्माता संघले गर्ने भनेको यही नै हो यहाँभन्दा बढ्ता गर्न सक्दैन' उनले भने 'यसका लागि निर्माता नै सक्रीय हुनुपर्छ ।' अघिल्लो महिना सुनसरीमा चल्दै गरेका सिनेमा पाइरेसी गरिएको फेला परेका थिए । आफ्ना सदस्यको उजुरीपछि संघले निवर्तमान अध्यक्ष तथा वितरक संस्था डिजिटल सिनेमा नेपालका प्रवन्ध अशोक शर्माको नेतृत्वमा पाइरेसीविरुद्ध लड्न समिति नै गठन गरेको थियो ।
Source:- Merocinema

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...