भिओआइपी सञ्चालक दुई बंगलादेशी पक्राउ

विनाभिसा नेपाल प्रवेश गरी अवैधरूपमा भ्वाइस ओभर इन्टरनेट प्रोटोकल (भिओआइपी) मार्फत कल बाइपासमा संलग्न दुई बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
विराटनगरमा भिओआइपी सञ्चालनको तयारी गरिरहेको अवस्थामा नेपाल टेलिकमको ७० थान सिमकार्डसहित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उनीहरूलाई पक्राउ गरेको हो ।
सिआइबीका निर्देशक डिआइजी राजेन्द्रसिंह भण्डारीका अनुसार भिओआइपी सञ्चालनको तयारी गरिरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्ने बंगलादेशी नागरिकमा राफल सावल्बर र कामुल साह छन् । नेपालमा भिओआइपी सञ्चालन गर्ने अधिकांश गिरोहमा बंगलादेशीकै संलग्नता देखिएको छ ।
यसरी भिओआइपीमार्फत कल बाइपास गर्ने धन्दामा इन्टरनेट सेवा प्रदायक कम्पनीको पनि मिलेमतो हुनसक्ने आशंकामा ब्युरोले त्यस्ता कम्पनीमाथि पनि अनुसन्धान सुरु गरेको छ । सिआइबीले प्रमुख इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकबाट अनुसन्धान सुरु गरेको हो ।
प्रतिसेकेन्ड एक एमबीभन्दा बढी गतिको इन्टरनेट सेवा लिने ग्राहकको अनुसन्धानका लागि वल्र्डलिंकमा गएर 'प्राविधिक परीक्षण' गरिएको डिआइजी भण्डारीले जानकारी दिए ।
नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीमा अनुसन्धान तथा परीक्षण गर्ने अनुमति दिएपछि सिआइबीले त्यसरी अनुसन्धान सुरु गरेको हो ।
'प्राधिकरणले परीक्षणको अनुमति दिएर अवैध भिओआइपी सञ्चालकमाथि अनुसन्धान गर्न सहयोग गरेको छ,' डिआइजी भण्डारीले भने, 'अब हामी सबै इन्टरनेट प्रदायक कम्पनीमा गई परीक्षण गर्छौं ।'
हाल नेपालमा ४२ वटा इन्टरनेट सेवा प्रदायक कम्पनी सञ्चालनमा छन् । भिओआइपीका लागि बढी क्षमताको इन्टरनेट सेवा लिनुपर्ने हुन्छ । बढी क्षमताको सेवा लिएका ग्राहकको विवरण लिएर आवश्यक अनुसन्धान गरी अवैध भिओआइपी समाप्त गरिने डिआइजी भण्डारीले दाबी गरे ।
सीआइबीले भदौबाट 'अपरेसन फक्स' नामक कार्यक्रम चलाई अवैध भिओआइपी नियन्त्रण अभियान सुरु गरेको थियो । यस अभियान सञ्चालनमा आएपछि अवैध भिओआइपी सञ्चालनमा संलग्न तथा सञ्चालन तयारीमा रहेका ११ बंगलादेशी नागरिक पक्राउ परेपछि बंगालदेशीहरूको गिरोह नै नेपालमा भिओआइपी सञ्चालनमा संलग्न रहेको खुलेको हो ।
डिआइजी भण्डारीका अनुसार नेपालमा अवैध भिओआइपी सञ्चालन गरी हङकङको हङकङ स्टेट बैंकबाट बंगलादेशको बराग बैंकमा पैसा पठाउने गरेको पाइएको छ । गत महिना पक्राउ परेका बंगलादेशी नागरिक सौरभको बयानबाट यस्तो रहस्य खुलेको हो । सौरभका दाजु बंगलादेशको बराग बैंकका डिपुटी मेनेजर रहेको पनि उनको बयानबाट खुलेको छ ।
भदौअघिसम्म मासिक ७६ करोडबराबरको कल बाइपास हुने गरेकोमा सिआइबीको अपरेसनपछि हाल १० करोडबराबरको मात्र कल बाइपास भइरहेको छ । त्यसलाई पनि छिटै नियन्त्रणमा लिइने डिआइजी भण्डारीले दाबी गरे । त्यसका लागि इन्टरनेट सेवा र सिमकार्डका ग्राहकको विस्तृत विवरण संकलन गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

Source:- Nayapatrika

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...