फरकमतलाई निषेध गरेपछि भट्टराईद्वारा प्रशिक्षण बहिस्कार

पार्टी बिधान र केन्द्रीय समितिको निर्णय विपरित एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले उपाध्यक्ष डा. बाबुराम भट्टराईको फरकमतलाई कार्यकर्तामाझ लैजान निषेध गर्नु भएको छ ।
जनविद्रोहको बैचारिक तयारी स्वरुप काठमाडौंमा सोमबार भएको बिशेष राज्यसमितिको प्रशिक्षणअघि भृकुटीमण्डपमा बसेको बैठकमा अध्यक्ष प्रचण्डले फरकमत प्रशिक्षणमा लैजान नपाउने निर्णय सुनाउनु भएको हो ।
फरक मतलाई प्रशिक्षणमा लैजान नपाउने निर्णय प्रचण्डले एकतर्फीरुपमा सुनाएपछि भट्टराई र उहाँका समर्थकहरुले प्रशिक्षण वहिस्कार गर्नु भएको छ ।
उपाध्यक्ष मोहन बैद्य र प्रचण्डको मिलेमतोमा भट्टराईको फरकमत लौजान नदिइएको भन्दै भट्टराई पक्षले अध्यक्ष प्रचण्डको एकतर्फी निर्णयको बिरोध गरेका छन् ।
माओवादीको बिधानको धारा ६ को ख नम्बरको पहिलो बुँदामा फरकमतलाई पनि तल्लो निकायसम्म बहसका लागि प्रवाह गर्ने अधिकार रहने र काम कारवाहीमा एकरुपता ल्याउने उल्लेख छ ।
यस्तै पछिल्लो केन्द्रीय समिति वैठकले पनि फरकबिचारलाई बहसमा लैजाने निर्णय गरेको थियो । अध्यक्षको पारित प्रतिवेदनमात्र सुनाउने र अध्यक्षले मात्रै बोल्ने निर्णय प्रचण्डले एकतर्फीरुपमा सुनाएपछि भट्टराईले प्रशिक्षणमा साक्षी बस्नुको औचित्य नभएको भन्दै प्रशिक्षण बहिस्कार गरेको भट्टराई पक्षको भनाई छ ।
हिसिलालाई बोल्न दिइएन
यसैगरी प्रशिक्षणमा भट्टराई पत्नी एवं नेवाः राज्य समितिका सहइन्चार्ज हिसिला यमीलाई बोल्न रोक लगाइएको छ ।
यमीले उपाध्यक्ष भट्टराईको फरक मतलाई पनि प्रशिक्षणमा लैजानुपर्ने भन्दै बोल्न समय माग गर्नु भएको थियो ।
कार्यक्रम सञ्चालक नेवाः राज्य समितिका इन्चार्ज हितमान शाक्यले समय नदिएपछि यमी स्टेजमा गई बोल्न खोज्दा माइकको स्वीच अफ गरिएको थियो ।
शाक्यले माइकको लाइन काटेपछि आन्तरिक जनवाद जिन्दावादको नारा लगाउँदै यमी प्रशिक्षण स्थलबाट बाहिरिन भएको थियो ।
त्यसपछि कार्यकर्तालाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले केन्द्रीय समितिको निर्णय अनुसार नै भट्टराईको फरक मतलाई प्रशिक्षणमा ल्याउन नदिएको बताउनु भएको छ ।
केन्द्रीय समितिले एकमतले पारित पार्टीको कार्ययोजनाबारे मात्र कार्यकर्तालाई प्रशिक्षण गराउनु पर्ने र फरक बिचारलाई बहस गर्दै जाने केन्द्रीय समितिको निर्णय भएको प्रचण्डको दावी थियो ।
उहाँले पार्टीको बैठक बसेर यस समस्याको समाधान गरिने भन्दै कार्यकर्तालाई आश्वस्त तुल्याउन खोज्नुभयो । प्रचण्डले भट्टराईले प्रशिक्षण बहिस्कार गरेकोमा आश्चर्य समेत प्रकट गर्नुभयो ।
उहाँले भन्नुभयो भन्नुभयो,’केन्द्रीय समितिको बैठकपछि उहाँ बाहिर बस्नु भयो भन्ने लागेको थियो तर मैले फोन गर्दा त थापाथली पुगिसके, आउँदिन भन्नुभयो ।’

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...