मृतक कामदारको क्षतिपूर्ति रकम दुरुपयोग गर्ने राजदूत स्पष्टीकरणमा बोलाइए


काठमाडौं , माघ ५ - मृतक कामदारको क्षतिपूर्ति रकम दुरुपयोग गरेको उजुरीमा संसदीय समिति, परराष्ट्र मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट स्पष्टीकरण खेपिरहेका साउदी अरेबियास्थित राजदूत हमिद अन्सारी 'प्रत्यक्ष जवाफ' दिन बुधबार नेपाल फिर्दैछन् ।
'आर्थिक हिनामिनाको विषयमा परेको उजुरीका कारण अख्तियारले बयान लिनका लागि राजदूत अन्सारीलाई बोलाएको हो,' परराष्ट्र स्रोतले भन्यो । तर राजदूत अन्सारीले 'घरायसी काममा एक/दुई दिनमा नेपाल आउन लागेको' संक्षिप्त प्रतिक्रिया कान्तिपुरलाई दिए । सडक दुर्घटनामा झापाका रमेश सुवेदीको मृत्यु भएर डेढ वर्षअघि आएको १ लाख साउदी रियालको क्षतिपूर्ति रकम अझै परराष्ट्रमा दाखिला नभएको र यसबारे जानकारीसमेत नगराइएको बारे मन्त्रालयले दुई पटक स्पष्टीकरण पत्र पठाइसकेको छ ।
संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानव अधिकार समितिले गत पुस २५ मा राजदूत अन्सारीमाथि छानबिन गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको थियो । परराष्ट्रलाई दिएको जवाफमा राजदूत अन्सारीले क्षतिपूर्तिबापतको रकम आफूसँग रहेको स्वीकार गरे पनि उक्त रकम 'निजी खाता' मा नरहेको अस्पष्ट जवाफ दिएका थिए । 'राजदूत अन्सारीले अख्तियार र परराष्ट्र मन्त्रालयमा आफूमाथि लागेको उजुरीमाथि स्पष्टीकरण दिनुहुने छ । उहाँको जवाफ चित्तबुझ्दो नरहेमा फिर्ता बोलाउन सकिने स्थिति छ,' एक अधिकारीले भने ।

Source:- ekantipur

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...