पाँचथर, माघ -
सदरमुकामनजिक स्थानीयले जग्गा उपलब्ध गराएको १५ वर्ष बितिसक्दा पनि फिदिम-२ पल्लोटारमा बसपार्क सञ्चालनमा आउन सकेको छैन । सरकारले लामो समयसम्म चासो नदेखाएको भन्दै स्थानीय बासिन्दाले तत्काल सञ्चालन गर्न माग गरेका छन् ।
![]() |
झापाको काँकडभिट्टामा रहेको अव्यवस्थित बसपार्क । केही समयअगाडीदेखि मेचीनगर ११ मा नयाँ बसपार्क बनाउने भनेर जग्गा लिएतापनि त्यो जग्गा अहिले गौचरणमा परिणत भएको छ । तस्विर सौजन्य मेचीनगर झापाली फेसबुक समूह |
फिदिमबजारको खेलमैदानदेखि जोरसालसम्म सडक निर्माण सुरु भएपछि पल्लोटारका स्थानीयले बसपार्कका लागि १० रोपनीभन्दा बढी जग्गा निःशुल्क प्रदान गरेका थिए तर न्यून बजेटका कारण उक्त जमिन प्रयोगमा आउन सकेको छैन ।
बसपार्क बन्ने भएपछि स्थानीय नरबहादुर लावती, खगेन्द्र अर्याल, भवनाथ बाँस्कोटा, काजीमान लावती, प्रदीप बाँस्कोटा, वरपति अधिकारी, ज्ञानबहादुर दाहालसहित १० जनाभन्दा बढीले उक्त जग्गा प्रदान गरेका हुन् । स्थानीयले ०५६ सालमा नगर विकास समितिलाई पास गरिदिएको १० रोपनी जग्गाको हालको मूल्य पाँच करोडभन्दा बढी पर्छ ।
बसपार्क व्यवस्थापनका लागि न्यून बजेट निकासा हुने गरेकै कारण समयमा सञ्चालनमा ल्याउन नसकेको निर्माण समितिका पूर्वअध्यक्ष कमल बाँस्कोटाले बताए । उनका अनुसार नगर विकास समितिको नाममा जग्गा आएपछि सरकारले तीन वर्ष १२ लाख लगानी गरे पनि त्यसपछि रकम निरन्तरता हुन सकेको छैन ।
आवास डिभिजनमार्फत् गत वर्ष आएको दुई लाखले पानी तर्काउने नाली बनाइएको थियो । यसअघिको बजेटले बसपार्कमा पर्खाल लगाउने र माटो सम्याउने काम भएको थियो ।
नगर विकास समितिले नक्सा पास र स्टिमेट गरी काम थाले पनि रकम अभावले काममा ढिलाइ भएको हो । माटो सम्याउने, वाल, नाली, सडक, कालोपत्रे -बसपार्क क्षेत्रमा), ड्रेन, सुरक्षा र बुकिङ पोस्टका लागि एक करोडभन्दा बढी बजेट लाग्ने अनुमान गरी काम थालिएको थियो ।
बसपार्क सञ्चालन हुन नसकेपछि बजारको माथिल्लो क्षेत्रमा बसस्टेन्ड राखिए पनि सबै गाडीहरू मुख्य चोकमै रहने गरेकाले ट्राफिक व्यवस्थापन मिलाउन कठिनाइ भएको ट्राफिक प्रहरीका हवल्दार गर्जबहादुर राईले बताए ।
बसपार्क सञ्चालनका लागि जग्गाबाहेकका अन्य पूर्वाधार नभए पनि मेची राजमार्गसँगै बसपार्कसम्मको एक हजार छ सय मिटर सडकमा कालोपत्रेको काम भइरहेको छ । तत्काल बसपार्क सञ्चालन गरी पूर्वाधार र जोरसालसम्मको एक हजार छ सय मिटर सडक कालोपत्रे गरिए सदरमुकामको ट्राफिक अव्यवस्था हट्ने र उक्त मार्ग फिदिमदेखि जोरसाल निस्कने वैकल्पिक मार्ग बन्ने स्थानीय बासिन्दाको भनाइ छ ।
लवदेव ढुङ्गानाको रिपोर्ट ई-कान्तिपुर बाट
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...