कस्तो होला बेलायतमा नेपालीको भविष्य ?

नरेश खपाङ्गीमगर
बेलायत । धेरैजसो नेपालीका लागि सपनाको संसार । रहर गर्नेको तुलनामा कैयौँ गुना कम नेपालीले मात्र बेलायतमा बसोबास गर्न पाएका छन् । सन् २००८ मा सम्पन्न बेलायतमा बस्ने नेपालीको जनगणनाले करिब ७२ हजार नेपाली युकेमा बसोबासरत् देखाएको छ । २१ मे, २००९ मा बेलायत सरकारले गोरखा सैनिकहरूलाई बेलायतको आवासीय अधिकार दिएपछि फाट्टफुट्ट बेलायतमा बस्न आउने नेपालीहरूको सङ्ख्या थोकमा परिणत भएको छ । बेलायतको गृह मन्त्रालयको आँकडा अनुसार सन् २००९ मा करिब २२ हजार नेपालीले बेलायतको आवासीय अधिकार पाएका थिए । त्यसका आधारमा अहिले बेलायतमा एकलाख बढी नेपालीहरूको आवादी रहेको पुष्टि हुन्छ ।
बेलायतमा नेपालीको पहिलो पाइला पहिल्याउने हो भने अझैसम्म प्रष्ट इतिहास पाइँदैन । सन् १८५० तत्कालीन नेपाली प्रधानमन्त्री जंगबहादुर राणा बेलायत आउँदा केही नेपाली बेलायतमै रहेको प्रमाण भेटिन्छ । -हेर्नुहोस् बिर्सिएका मोतिलाल, हिमाल १६-३१ भदौ, २०६७) । नेपाल र अंग्रेजबीचको युद्धमा नेपाली फौज हारेपछि युद्धबन्दी वा अङ्ग्रेजको लडाकु बनाइएर नेपालीहरू बेलायत आएको तथ्य पनि भेटिन्छ । त्यसभन्दा अगाडि पनि कोही नेपाली बेलायत आएका थिए कि ? उत्तर इतिहासकै गर्भमा छ ।
नेपालमा उत्पति भए पनि नेपालीहरू इतिहासका विभिन्न कालखण्डमा विभिन्न देशमा पुगेका छन् । छिमेकी भारत, भूटान, बर्मा, सिंगापुर, मलेसियामा नेपालीहरूको सयौँ वर्षदेखिको बसोबास छ । कति ठाउँमा सीमित नेपालीहरू जमेका छन्, धेरै ठाउँमा नेपालीहरूलाई दुःखै छ । भारतमा रहेका नेपालीहरूको परिवर्तित चिनारीका बारेमा नर्थ इस्टर्न हिल युनिभर्सिटी, सिलोङका प्रा.डा. टंकबहादुर सुब्बा यसरी उल्लेख गर्छन्, "...भारतमा नेपालीपनको नकारात्मक प्रतीकहरू पनि नबनेका हैनन । जस्तो अध्ययनमा अरूचि, मद्यपान वा जुवातासमा आशक्ति, रिसाहा मिजास आदि नेपाली परिचय हुन थालेका छन् । कुनै पियन वा कारिन्दाको असामयिक निधन भएको समाचार सुन्दा जो कसैको मुखबाट निस्कन्छ, 'बिचरा, नेपाली होला र त त्यसरी गयो' खोजी गर्दै गयो भने यस्तो भनाइ असत्य साबित हुँदैन पनि ।" -हिमाल खबरपत्रिका, १-१५ जेठ २०६७)
आˆनो/आˆनो सन्ततिको सुखद भविष्यको आकाङ्क्षामा बेलायत भित्रिएका नेपालीहरूको भविष्य/चिनारी माथि उल्लिखित भारतका नेपालीहरूकै जस्तो बन्ने पो हो कि ? वा उनीहरू -नेपालीहरू) ले सोचेजस्तै सुखद, प्रगति/उन्नति, सम्बृद्धिले भरिपूर्ण होला ?

बलियै छ सम्भावना
'सर्भाइल इज द फिटेस्ट' । चाल्र्स डार्विन र हवर्ट स्पेन्सरको जीवविज्ञानको सिद्धान्तजस्तै ठान्छन् अग्रजहरू बेलायतमा नेपालीको भविष्यलाई । जो प्रतिस्पर्धामा खरो उत्रिन सक्यो उसको भाग्य चम्क्यो । नसक्नेलाई हात लाग्यो शून्य ।
बेलायतका विदेशमन्त्रीका सल्लाहकार समितिमा समेत पर्न सफल, लिड्स युनिभर्सिटीका प्रोफेसर डा. सूर्य सुवेदी भन्छन्, "बेलायतको समाज -केही हदसम्म भेदभाव भए पनि) 'मल्टी कल्चरल' छ जहाँ क्षमता देखाउन सक्नेले माथि जानसक्ने प्रबल सम्भावना छ" आशावादी हुँदै उनले थपे, "नेपाली उत्पतिको दोस्रो/तेस्रो पुस्ताले अहिले 'इण्डियन'हरूले जसरी नै प्रगति गर्न सक्छन् ।"
"बेलायत पूँजीवादी मुलुक भएकाले अन्य पूँजीवादी मुलुकले जस्तै उसले पनि व्यक्तित्व निर्माण, क्षमता विकासमा राज्यस्तरबाटै सहयोग गर्दैन । व्यक्ति आफैँले आˆनो बाटो पहिल्याउनुपर्छ । नेपाली मात्र होइन यहीँका गोराहरूलाई पनि गर्न सके खान छ नत्र छैन" प्रा. डा. सुवेदी आश्वस्त पार्दै भन्छन्, "नेपालीको परिचय नै कठोर परिश्रमी र इमानदार छ । नेपाली समाज आफैँमा 'मल्टि कल्चरल' समाज हो । त्यसैले बेलायतमा प्रगति गर्न नेपालीहरूलाई त्यति गाह्रो पर्दैन ।"
कार्डिफ युनिभर्सिटीका प्रोफेसर कुल लुइँटेलको विश्लेषण पनि सुवेदीकै जस्तो छ । आप्रवासी अन्य मुलककाहरूले जस्तै नेपालीहरूको पहिलो पुस्तामध्ये कमले मात्र बेलायतमा राम्रो अवसर पाएको उल्लेख गर्दै लुइँटेलले भने, "नेपालीको पनि दोस्रो/तेस्रो पुस्ताले भने यहाँका 'लोकल' हरूले जस्तै राम्रो अवसर पाउन सक्छन् ।" दक्षिण एसियाली अन्य मुलुकका नागरिकहरूभन्दा नेपालीहरू ढिलो युके आए पनि नेपालीहरूमा पाकिस्तानी र बङ्गलादेशीहरूमा भन्दा छिटो र सहज तरिकाले नयाँ समाजमा घुलमिल हुने स्वभाव भएकाले बेलायतमा प्रगति गर्न नेपालीहरूलाई सजिलै हुने लुइँटेलको धारणा छ ।
लिभरपुल जोन मुर्स युनिभर्सिटीमा प्राध्यापनरत तेजेन्द्र फेराली पनि नयाँपुस्ताको भविष्यप्रति आशा व्यक्त गर्दछन् । "बेलायतमा कानुनी रूपमा जतिसुकै भेदभाव छैन भनिए पनि रङ्गभेद छ । तैपनि तिनीहरूसित भिड्दै, प्रतिस्पर्धा गर्दै आउने नेपाली नयाँ पुस्ताको भविष्यप्रति आशा गर्न सकिन्छ" उनले भने, "बेलायतले उपनिवेश बनाएदेखि बेलायत पसेका भारतीय, पाकिस्तानीहरू अहिले अलि-अलि महत्वपूर्ण पदमा पुगेका छन् तर नेपालीहरू त बेलायत पसेकै कति भयो र ?" त्यस्तै हुनलाई नेपालीहरूको एक/दुई पुस्ता पर्खनुपर्ने उनको भनाइ छ ।
उता, सेन्टर फर नेप्लिज स्टडिज -सिएनएस) का कार्यकारी निर्देशक डा. कृष्ण अधिकारीको धारणा भने अलि फरक छ । बेलायतले अहिले गोरखाहरू बाहेक अन्यलाई बेलायतमा स्थायी बसोबास हुने अवस्था कम गर्दै लगेको सन्दर्भ कोट्याउँदै अधिकारी भन्छन्, "भावी पुस्ताप्रति सावधानीपूर्वक आशावादी हुनुपर्ने अवस्था छ ।" पहिलो पुस्ताका नेपालीहरूले मिहिनेती, परिश्रमी भनी पाएको संज्ञा भावी पुस्ताले थाम्न सक्छ कि सक्दैन भन्नेमा अधिकारी शंका व्यक्त गर्दछन् । "नयाँ पुस्ताका नेपालीहरूले कसरी पढिरहेका छन्, बजारमा कसरी जाने हुन् ? राम्रो अवसर पाउन नेपालीहरूले थप संघर्ष गर्नुपर्ने र अतिरिक्त योग्यता कमाउनुपर्ने हुन्छ । त्यसो गर्न नसकिए कतै नयाँ पुस्ता पनि पहिलो पुस्ता जस्तै 'म्यानुअल जब' मा त अल्भिmने होइन ?" अधिकारीले भने ।

के होला नेपाली संस्कृति ?
नेपालमा नजन्मेका बेलायतका नेपाली दोस्रो/तेस्रो पुस्तामा नेपाली संस्कृतिप्रति पक्कै पनि कम चासो र झुकाव त देखिने नै भयो । संस्कृति हस्तान्तरण र ग्रहणका लागि बेलायतमा वातावरण र अनुभूति दुवैको अभाव देखिन्छ । "सामाजिक र साँस्कृतिक रूपमा बेलायतको दोस्रो/तेस्रो नेपाली पुस्ताको नेपालसितको सम्बन्ध कमजोर हुँदै जानेछ । नेपालप्रतिको माया र नेपाली संस्कृतिप्रतिको झुकाव पातलिँदै जानेछ" फेरालीले सम्भावित परिस्थितिको आँकलन लगाउँदै भने ।
बेलायतमा भारतीय/ पाकिस्तानीहरूको साँस्कृतिक अवस्था हेर्‍यो भने बसाइँ सर्नेहरूको पनि सँस्कृति उत्तिकै उम्दो रहेछ भन्ने लाग्दछ । के हामी नेपालीहरूले पनि हाम्रा छिमेकीहरूले जस्तै सँस्कृतिमा क्षति नपुर्‍याई प्रगति गर्न सक्दैनौँ ? "नेपाली र भारतीय/पाकिस्तानीहरूको स्थिति/पृष्ठभूमि फरक छ" फेरालीले भने, "भारतीय/पाकिस्तानीहरू एकैपटक ठूलो सङ्ख्यामा बसाइँ सरेर बेलायत आएका हुन् त्यसैले उनीहरूले आˆनो संस्कृतिमा धेरै 'सम्झैता' गर्नु परेन । तर हामी नेपालीहरू धेरै 'इन्डिभिजुवल' आएका छौँ ।" गोरखाहरू भने अलि ठूलो सङ्ख्यामा एकैपटक आएकाले उनीहरूका कारण संस्कृतिलाई जीवन्त राख्न सकिने सम्भावना फेराली देख्छन् ।
सिएनएसका निर्देशक डा. अधिकारी पनि साँस्कृतिकरूपमा भावी नेपाली पुस्ता आक्रान्त हुनसक्ने सम्भावना देख्छन् । नेपाली पहिचानलाई संरक्षण गर्न पारिवारिक र सांगठानिक रूपमा नै लाग्नुपर्ने उनको धारणा छ । उनको आग्रह छ, "कम्तीमा घरमा चाहिँ छोराछोरीसित नेपाली भाषामा कुराकानी गरिदिऔँ । त्यसले छोराछोरीहरूको अङ्ग्रेजी कति पनि कमजोर हुँदैन बरू नेपाली भाषाको पनि ज्ञान हुन्छ" ।
भावी पुस्तामाथि पर्ने साँस्कृतिक असरका बारेमा प्रोफेसर लुइँटेलको भने अलि भिन्न धारणा छ । "काठमाडौँमा हुर्किरहेको नयाँ नेपाली पुस्ता र बेलायतमा हुर्किरहेको नयाँ नेपाली पुस्तामा -शुद्ध र मिसिएको अंग्रेजीबाहेक) साँस्कृतिकरूपमा धेरै अन्तर देख्दिनँ" उनले भने । काठमाडौँ र नेपालकै गाउँका समवयीहरूमा साँस्कृतिक अन्तर देखिने गरेको उल्लेख गर्दै लुइँटेलले थपे, "साँस्कृतिकरूपमा धेरै समस्या हुने देख्दिनँ ।" नेपाली सँस्कृति नै अहिले 'इथ्निक कल्चर'मा गइसकेको विश्लेषण गर्दे उनले गम्भीर प्रश्न गरे, "अहिलेको सन्दर्भमा नेपाली सँस्कृति नै कुन हो भन्ने अन्यौल सिर्जना भएको छ ।"

बाधा र चुनौती
जतिसुकै समानता र स्वतन्त्रता भएको मुलुक भनिए पनि आप्रवासीहरूलाई हेर्न सवालमा बेलायतमा भेदभाव छँदैछ । यस्तो स्थितिमा नेपालीहरूले कसरी प्रगति गर्न सक्लान् ? अथवा प्रगतिपथमा लम्कनमा नयाँ पुस्ताका नेपालीलाई बाधा व्यवधान के के छन् त ? बेलायतका नेपालीबीच उदाहरणीय छवि बनाएका प्रा. डा. सुवेदी भन्छन्, "नेपालीहरू सामाजिक, आर्थिक, कानुनी दबाबमा पर्दा 'घेट्टो' सँस्कृतिमा घेरिन सक्छन् । जसले गर्दा अन्धपन जन्मिन सक्छ र मानिसहरू माथि उठ्न सक्दैनन् ।" नेपालीहरूको रूढीवादी सँस्कार र सँस्कृति त्याग्न र नयाँ मान्यतालाई स्वीकार गर्न सकिएन भने पनि प्रगति गर्न गाह्रो पर्ने सुवेदीको मत छ । त्यसका साथै दोस्रो पुस्तालाई राम्रो शिक्षा दीक्षा दिन नसकिएला कि भन्ने आशङ्का पनि सुवेदीको छ ।
फेरालीको बुझाइमा नेपालीहरूसित सामाजिक, साँस्कृतिक पुँजी -सोसियल/कल्चरल क्यापिटल) को अभाव छ । जसका कारण समाजमा 'कम्युनिकेसन ग्याप' हुन्छ र 'सोसल नेटवर्क' पनि फराकिलो हुँदैन । त्यसले प्रतिस्पर्धामा नेपालीहरूलाई अरूभन्दा कमजोर देखाउन सक्ने सम्भावना फेराली देख्छन् । डा. अधिकारीचाहिँ गोरखाहरूप्रति यहाँका मानिसहरूले देखाउने 'असल भावना'लाई पुँजीका रूपमा लिएर अघि बढ्ने हो भने प्रगति गर्न केही सजिलो पनि हुनसक्ने सम्भावना देख्छन् ।
उता, प्रोफेसर लुइँटेल भने बेलायतका भावी नेपालीका सामू त्यति चुनौती देख्दैनन् । "यहाँ धेरै चुनौती छैनन् किनभने यहाँ 'सिस्टम' छ । केटाकेटीलाई स्कुल नपठाए सरकारले अभिभावकलाई कारबाही गर्छ । त्यसैले नेपालीहरूले आˆना केटाकेटीलाई 'डि्रंक्स' र 'ड्रग्स'बाट बचाएर राम्रो पारिवारिक वातावरणमा 'पब्लिक' स्कुलबाट 'ए लेभल' वा 'ओ लेभल' गराए पुग्छ ।"

शरणार्थी भय
विश्वका केही मुलुकको उदाहरण हेर्दा मूलबासीले आप्रवासीलाई वन साङ्लोले घर साङ्लो लखेटे झैँ लखेटेको पनि पाइन्छ । भुटानमा वर्षौँदेखि बसेका नेपालीहरूमाथिको देश निकाला विश्वभरका नेपालीहरूले भोग्नुपरेको तीतो यथार्थ हो । यदाकदा त्यस्तो धम्की र घुर्कीको स्वर भारतमा बस्ने नेपालीहरूमाथि पनि चलिरहन्छ । बेलायतमा बसेका नेपालीमाथि कालान्तरमा कतै त्यस्तो त नहोला ? प्रा.डा. सुवेदी भन्छन्, "संकट कसरी आउँछ पहिल्यै अनुमान गर्न सकिन्न ? सेप्टेम्बर ११ हुन्छ भनेर कसलाई थाहा थियो र ?" सुवेदी थप्छन्, "मुलुकमा आर्थिक प्रगति हुन नसके द्वन्द्व सिर्जना हुँदा 'माइनरिटीज' हरू शिकार हुन सक्छन् । तर नेपालीहरूलाई नै लक्षित गरेर केही होला जस्तो लाग्दैन ।"
प्रोफेसर लुइँटेल पनि बेलायतजस्तो विकसित मुलुकमा त्यस्तो हुने सम्भावना कम देख्छन् । यूरोपमा दोस्रो विश्वयुद्धमा यहुदीहरूलाई हिटलरले विस्थापित गराएबाहेक त्यस्तो उदाहरण नभएको उनको तर्क छ । "तर नेपालमै आन्तरिक विस्थापन हुनु परिरहेको परिप्रेक्ष्यमा बेलायतमा बस्दा त्यस्तो हुन्न भन्ने ग्यारेण्टी त के छ र ?" उनले भने ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...