पहिलोपटक बिजुली बलेको घरमा संग्रहालय

बद्रीकुमार न्यौपाने, खोकना (ललितपुर), माघ ५- तीनदिन चलेको खोकना महोत्सवमा खोकना संग्रहालय पनि आकर्षणको केन्द्र बन्यो। स्थानीय जीवनशैलीसँग सम्बन्धित पूराना सामग्रीहरू राखिएका कारण मात्रै होइन, नेपालमै पहिलोपल्ट बिजुली बत्ती बलेको घर भएकाले पनि संग्रहालय धेरैको चासोमा पर्‍यो।सोमबार महोत्सवमा भेटिएकी बुङमतीकी संगीता श्रेष्ठले संग्रहालय हेर्न छुटाइनन्। तर संग्रहालय घुम्न उनले मैनबत्तीको सहारा लिनुपर्‍यो। सय वर्षअगाडि चन्द्र शमशेरको पालामा फर्पिङमा बनेको पाँच सय मेघावाटको नेपालमै पहिलो तथा दक्षिण एसियाको दोस्रो जलविद्युत आयोजनाबाट निकालिएको बिजुलीले उक्त घरमा पहिलो बत्ती (वि.सं. १९६७ जेठमा) बालिएको थियो।


त्यसबेला यो घरमा विद्युत गृह (फर्पिङ)बाट सिधै लाइन ल्याइएको थियो। बाल्ने र निभाउने स्विच नभएकाले यहाँ राखिएको बत्ती तीन वर्षसम्म लगातार बलिरह्यो। 'उतिबेला घरबाहिर २४ घन्टै बत्ती बलिरहन्थ्यो,' जिजुबुबा सिद्धिलालको भनाइ उद्धृत गर्दै घरबेटी मदनकृष्ण महर्जनले नागरिकसँग भने। तर अहिले यो घर पनि लोडसेडिङको सिकार भएको थियो। 

'ऐतिहासिक महत्व बोकेको यो घरको संग्रहालयमा राखिएका पुराना सामानहरू हेर्न पाउँदा निकै खुसी लाग्यो,' श्रेष्ठले भनिन्, 'तर अँध्यारो भएकाले धक फुकाएर हेर्नै पाइएन।'  राणाहरूका लागि बिजुली निकालिएको भए पनि दरबारमा बिजुली बाल्दा 'अनिष्ट' हुन्छ की भन्ने डरले जनताको घरमा बालिएको मदनकृष्णले सुनाए। उनका अनुसार जिजुबुबा सिद्धिलाल अनिष्टको भयले घरमा बाल्न तयार थिएनन्। तर राणाहरूको डरले उनी घरबाहिर बत्ती बाल्न दिन तयार भए।

'केही अनिष्ट नभएपनि करेन्ट लागेर मरिने डरले तीन वर्षसम्म जिजुबुबाले अन्य कोठामा बत्ती बाल्न दिएनन्,' मदनकृष्णले भने। उनका अनुसार करिब डेढ सय वर्षअघि बनेको यो घरको एक ताला १९९० सालको भुइँचालोले भत्किएपनि सिद्धिलालले तला थपेर दुरुस्त पारेका हुन्। यो घरको 'छुट्टै' महŒव भएको ठहर गर्दै मदनकृष्णले तीन वर्षअघि स्थानीयको सहयोगमा संग्रहालय बनाएका हुन्। 

संग्रहालयमा तत्कालीन जनजीवनसँग जोडिएका सामग्री र सांस्कृतिक महत्वका सामानहरू राखिएका छन्। अन्य बेला निःशुल्क अवलोकन गर्न पाइने भएपनि खोकना महोत्सव (माघ १-३)का लागि उनले १० रुपैयाँ शुल्क राखियो। तर यसले गर्दा संग्रहालयलाई झन् समस्या देखियो। 

'मैनबत्ती बाल्नुपर्ने बाध्यताले आर्थिक भार पर्‍यो,' सञ्चालक कृष्णभक्त महर्जनले भने। महोत्सव अवधिभर संग्रहालयमा स्वयंसेवकका रूपमा खटिएकी स्थानीय सुनिता महर्जनले मैनबत्ती बालेर अवलोकनकर्तालाई 'ब्रिफिङ' गर्न अप्ठ्यारो भएको बताइन्। 

अधिकांश अवलोकनकर्ताले संग्रहालय सरकारी उपेक्षाको शिकार भएको टिप्पणी गरे। 'हुन त यहाँ कसैको घरमा पनि बिजुली छैन,' लाजिम्पाटकी बिनु शाक्यले भनिन्, 'तैपनि यो घरका लागि विशेष व्यवस्था हुनुपर्ने हो।


Source:-Nagariknews 

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...