श्रीस्वस्थानी ब्रतकथा सुरु

५ माघ,  श्रीस्वस्थानी ब्रतकथा तथा माघ स्नान बुधबारदेखि सुरु भएको छ । पौष शुक्लपूर्णिमासम्म हिन्दू धर्मावलम्बीहरुले चोखो बसी घरमा स्वस्थानीको पूजा आराधना गर्नुका साथै स्वस्थानीको कथा सुन्ने र सुनाउने गर्दछन् ।
सत्य युगमा हिमालयकी पुत्री पार्बतीले महादेव पति पाउन स्वस्थानीको कठोर ब्रत बसेको र मनोकांक्षा पूरा भएको विश्वासमा स्वस्थानी ब्रतकथा प्रचलनमा आएको पाइन्छ ।
ब्रतालु महिलाहरुले पौष शुक्लपूर्णिमाको दिन विहानै हात-खुट्टाको नङ काटेर, स्नान गरी, चोखो लुगा लगाएर मध्यान्हमा महादेवको पूजा गरी ब्रत सुरुवात गर्दछन् । माघ शुक्लपूणिर्मासम्म ब्रत अवधिभर ब्रतालुहरुले एक छाक चोखो खाई एक सय आठ रोटी, एक सय आठ पान, एक सय आठ कुड्का सुपारीलगायत सामग्रीले स्वस्थानीको पूजा गर्ने प्रचलन छ । ब्रत समाप्तीको दिन ति रोटी, पान, सुपारीलाई आफ्ना श्रीमानलाई, श्रीमान् नभए छोरालाई, छोरा नभए मीत छोरालाई, मित छोरा पनि नभए मेरो इच्छा पूरो होस् भनेर नदीमा बिसर्जन गरी बाँकी आफूले खाने धार्मिक परम्परा छ ।
स्वस्थानीको ब्रत बस्नाले सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगब्याध पनि नष्ट हुने विश्वास गरिन्छ ।
काठमाडौंको साँखुस्थित शाली नदी, पशुपति गौरीघाट, गुहेश्वरी, सतीदेवीको अङ्गपतन भएको मानिने धार्मिकस्थल तथा महादेव मन्दिरमा श्रद्धालुहरुको घुइँचो लागेको छ । ति स्थानमा एक महिनाभर मेला पनि लाग्ने गर्दछ ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...