मदिराविरोधी कार्यक्रममै ´ककटेल पार्टी’

नँया पत्रिकाबाट

काठमाडौं,
नेपाल जनस्वास्थ्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा वरिष्ठ अतिथिहरू भाषण गर्दै थिए, 'स्वास्थ्यसम्बन्धी कार्यक्रममा मदिरा खानु हुदैन ।' भाषण सुनेर ताली बजाउने श्रोता कार्यक्रमपछि 'ककटेल पार्टी' मा सहभागी भए । वक्ताको पक्षमा चर्को समर्थन गर्दै लट्ठ हुदै घर गए ।

स्वास्थ्य चेतना फैलाउन आयोजित कार्यक्रममा मदिरा राखिएकोमा स्वास्थ्य सचिव डा. प्रवीण मिश्रले भने सुरुमै आपत्ति जनाएका थिए । 'नसर्ने रोगको प्रकोप बढ्नुमा सबैभन्दा ठूलो कारण मदिरा नै हो, चिकित्सक आफैँले मदिरा सेवन नगर भन्नुपर्नेमा आपै ककटेल डिनरमा मस्त हुन थालेका छन्,' कार्यक्रमको औपचारिक सत्रमा मिश्रले भने । उनले अब स्वास्थ्य मन्त्रालयले आयोजना गर्ने कार्यक्रमलाई मदिरारहित बनाउन पनि आग्रह गरे ।

हृदयाघात, बाथ, युरिक एसिड, उच्च रक्तचाप, मुटु सुन्निने रोग, मधुमेह, क्यान्सर, अल्जाइमर्सलगायत धेरै रोग मदिराको बढी सेवनका कारण हुने भनेर चिकित्सकले नै भन्ने गरेका छन् । तर, त्यही रोगका विशेषज्ञ सहभागी भएको कार्यक्रममा ककटेल डिनरको व्यवस्था गरेको देख्दा अचम्म लागेको भन्दै योजना आयोगका उपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेलले पनि आयोजकको आलोचना गरे । 'मदिरा खानु हुँदैन भनेर बिरामीलाई गाली गर्ने डाक्टर आफैँ भने ककटेल पार्टी आयोजना गर्छन्, अचम्म लाग्छ,' उनले भने ।

आयोगकै स्वास्थ्य हेर्ने सदस्य डा. चेतराज पन्तले पनि आयोजकको आलोचना गरे । 'डाक्टरहरूले नै ककटेल संस्कृतिको विकास गर्नु भनेको समाजमा अस्वस्थ संस्कृतिको विकास गर्नु हो,' उनले भने, 'जसले समाजमा मदिरा पिउनु हानिकारक हुन्छ भनेर चेतना फैलाउने गर्छ, उही नै मदिरा पार्टीमा रम्ने गर्छ, यो त हास्यास्पद भयो नि,' उनले भने । आयोजक प्रतिष्ठानका अध्यक्ष डा. महेश मास्केले सुझावअनुसार अब यस्ता कार्यक्रम मदिरामुक्त बनाइने बताए ।

सो कार्यक्रममा नेपालका नाम चलेका र ठूला अस्पतालमा काम गरिरहेका चिकित्सकसहित इन्डोनेसिया, भारत, बंगलादेश, थाइल्यान्ड, भुटान, श्रीलंका र माल्दिभ्सबाट आएका केही विदेशी प्रतिनिधि पनि सहभागी थिए । झन्डै एक सय स्वास्थ्य प्रतिनिधि सहभागी रहेका सो कार्यक्रमका सहभागीले स्वास्थ्य सचिव मिश्र, आयोगका उपाध्यक्ष पोखरेल तथा सदस्य पन्तको भाषणमा ताली पनि बजाए । तर, औपचारिक कार्यक्रम सकिएपछि वक्ताले मदिरा खाएनन्, ताली बजाउने श्रोताले मदिरा सेवन गर्दै रमाइलो गरेका थिए । उनीहरू भन्दै थिए, 'बिस्तारै छाड्नुपर्छ, एक्कासि त कहाँ छाड्न सकिन्छ र ।'

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...