ताप्लेजुङ, पुस
चराका लागि जंगलमा कुवा खन्दै हिँडेका ७३ वर्षीया प्रेमप्रसाद दाहालले आफ्ना सन्तानलाई अनौठो अर्ति दिएका छन् ।
आफ्नो जीवनभरि छिनो, मार्तल चलाउँदै जंगलका ढुंगा खोपेर चराचुरुङ्गीका लागि कुवा बनाएका उनले आफ्नो याद आए वा तिथि श्राद्ध गर्नुपरे जंगलमा गएर कुवा सफा गरिदिनु भन्ने अर्ति दिएका हुन् ।
ढुंगा खोपेका खेवाङ गाविसका दाहालले जीवनको उत्तरार्द्धमा आफ्ना सन्ततिलाई यस्तो अनुरोध गरेका
हुन । जीवनभरि गाईबस्तु चराउँदै खोपेका कुवा छोडेर झापाको चन्द्रगढीमा बसाइँ सरेका उनले मृत्यु पर्यन्त वर्षमा दुई पटक गरिने कर्ममा कुवा सफा गरिदिन आग्रह गरेका हुन् ।
आफ्ना सन्तति एक दशकअघि नै बसाइँ गए पनि कुवाकै स्याहार सम्भारका लागि छोरीकोमा बस्तै आएका प्रेमलालले माइली छोरी टीकादेवी गौतमलाई यसको पहिलो जिम्मेवारी दिएका छन् । 'बरु मेरो किरिया, श्राद्ध गर्नुको सट्टा तिथिका दिन जंगलमा गएर कुवा सफा गरिदिनु भन्नुभएको छ,' टीकादेवीले भनिन् । कुवा सफा गरे पुण्य प्राप्त हुने आशीर्वाद पनि दाहालले दिएका छन् ।
दाहालले जंगलका सुक्खा ठाउँमा नौ वटा कुवा बनाएका छन् । एउटा कुवा बनाउन महिनौं खर्चिएका दाहालले बनाएका कुवा सफा गर्न मात्रै छ महिनासम्म लाग्छ । उनले खेवाङ, सुरुमखिम, याम्फुदिन गाविसका जंगलमा कुवा बनाएका छन् । कुवा बनाउनकै लागि दाहाल कञ्चनजंघा हिमालको आधार शिविरसम्म पुगेका थिए ।
उनले जंगलमा चराचुरुङ्गी तथा जनावरका लागि २० देखि २ सय लिटरसम्म पानी अटाउने कुवा बनाएका छन् । जंगलमा मालिंगाको चोया काडेर डोका, डाला, नाङ्ला बनाएर बिक्री गरेका दाहालले त्यसबाट आर्जित पैसाले कुवा बनाउन खेताला पनि लगाएका थिए ।
जीवनभरि छिनो, मार्तल, टकटकेजस्ता ढुंगा फुटाउने सामग्री नछोडेका प्रेमप्रसादले बाँकी जीवन तराईमा बनाइएको घरमा बिताउने बताए । कुवा मात्रै नभएर त्यसमा जाने बाटो पनि बनाएका दाहालले एउटा कुवा र बाटो बनाउन महिना दिनसम्म लगाएको बताउँछन् । यो जंगली क्षेत्र भएकाले वन्यजन्तुको बढी बसोबास हुने गरेको छ ।
Source:- Ekantipur
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...