रंगमञ्चमा झुलेका विश्वप्रकाश

धेरै पटक उनले राष्ट्रिय सभागृहको मञ्चमा भाषण गरेका छन्, दर्शक तताएका छन् । मंगलबार पनि उनले दर्शक तताए, भाषणले हैन गीतले । माइक्रोफोन हातमा लिएर संगीतको तालमा एकतमास खुट्टा हल्लाउँदै उनले गाए- 'त्यो मनदेखि यो मनसम्म...' ।


मञ्चमा थिए युवा नेता विश्वप्रकाश शर्मा । विद्यार्थी क्षेत्रबाट कांग्रेस राजनीतिमा पसेका उनले आफ्नो पहिलो एल्बम 'स्वीकृति' सार्वजनिकका क्रममा गीत गाएका हुन् । उनकै संगीतका गीत संगृहित एल्बम संगीत नाट्य एकेडेमीका कुलपति अम्बर गुरुङले लोकार्पण गरे । 



'मेरो मूलबाटो राजनीति नै हो,' गीत गाउँदै गर्दा शर्माले सुनाए, 'सानैदेखि रुचि लागेको संगीतको गोरेटोमा पनि हिँड्न खोजेको हुँ ।' रमाइलो के थियो भने आनन्द कार्की र अञ्जु पन्तको स्वर रहेको 'यो मनदेखि...' मा शर्मालाई साथ दिने उनकै पत्नी कविता थिइन्, जसले एल्बममा समेत एउटा गीत गाएकी छन् । स्टेजमा शर्मादम्पतीले गाइरहँदा दर्शकदीर्घामा छोरी स्वीकृति नाचिरहेकी थिइन् । 



'राजनीति गर्ने मान्छे कसरी गीतसंगीततिर भनेर धेरैले सोध्छन्,' आफ्ना गीत र संगीतबारे शर्माले भने, 'जतिसुकै सार्वजनिक व्यक्तिको पनि एकान्तिकता हुँदो रहेछ, त्यही एकान्तिकताको सदुपयोग मैले संगीत सिर्जनाबाट गरें ।' संगीतप्रवीण नरराज ढकालका पुत्र प्रभुराज ढकालसँग शास्त्रीय संगीत सिकेका शर्माले एल्बममा देशप्रेम, विदेशिनु पर्दाको पीडा, युवा सचेतना, मायाप्रीतिलगायतका ११ गीत राखेका छन् । 



'उनका शब्दहरू मन छुने खालका छन्,' गीतकार रमण घिमिरेले एल्बमको समीक्षा गरे, 'राष्ट्रप्रेम, समयबोध र सचेतना समेटिएका पनि ।' घिमिरेले एल्बमका गीतिगेडालाई पहिलो, स्वरलाई दोस्रो र संगीतलाई तेस्रो श्रेणीमा राखेर विवेचना गरे । हाम्रो सारेगम संसारले बजारमा ल्याएको एल्बममा राजेशपायल राई, रामकृष्ण ढकाल, टीका भण्डारी, जगदीश समाल, प्रमोद खरेल, सुक्मित गुरुङ, माण्डवी त्रिपाठी, सिने गुरुङ, धर्मेन्द्र सेवान, प्रविसा अधिकारीको समेत स्वर छ । 



'अन्तिम चिठी..', 'म मरिगएपछि...' लगायत गीतको म्युजिक भिडियोसमेत प्रदर्शन गरिएको कार्यक्रममा राजेशपायल, टीका, प्रविसाले पनि गीत सुनाए । 'भर्खरै सारेगम...को सा सिक्दै छु,' कार्यक्रमको बिसौनीमा संगीतकर्मी युवानेताले भने, 'तैपनि संगीतको गोरेटोमा केही गर्ने कोसिस गरी नै रहनेछु ।' अनि फेरि जोडे, 'मूलबाटो त राजनीति छँदै छ ।'   
Source:- Ekantipur 

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...