तराईमा जाडोको फास्टफुड भक्का

प्रकाश पौडेल विर्तामोड
बिहानैको चिसो सिरेटोसँगै ‘सा....सा....सु....सु....गर्दै पिरो अचार र तातो भक्का खाँदाको मज्जा नै बेग्लै हुन्छ । जाडो सुरु भएपछि भक्काको स्वादसँगै तराईमा खाजाको रुचिपनि फेरिने गर्छ । 
अचेल तराई क्षेत्रका सडक छेउ किनारमा भक्का खानेहरुको भीड बढ्ने गरेको पाइन्छ । विशेषगरेर जाडोयाम सुरु हुने बित्तिकै भक्काको व्यपारपनि सुरु हुने गर्छ । धुलाबारी क्याम्पसमा अध्ययनरत एक विद्यार्थी भन्छन्, ‘चिसो बढेपछि अमिलो र पिरो चट्नीसँग तात्तातो भक्का खाँदाको मज्जै बेग्लै हुन्छ ।’ सडक किनारमा प्रायजसो चोक, गल्लीमा दुईदेखि तीनवटा र निकै भीडभाड हुने ठाउँमा त १०/१५ वटासम्म भक्का बेच्ने महिलाहरु बसेका हुन्छन् ।  झिसमिसेमै चुल्हो, दाउरा र पीठो बोकेर भक्का बेच्न राजमार्गको किनारमा आउने गर्छन् व्यापारीहरु ।
दैनिकरुपमा नभएको पनि १०÷१२ किलो पीठोको भक्का बिक्री हुने गरेको व्यापारीहरु बताउँछन् । उनीहरुका अनुसार १० केजी पीठोबाट पाँचसय सम्म आम्दानी हुने गरेको छ । ‘अघिल्लो वर्ष दैनिक १ हजारभन्दा बढी भक्का बिक्री हुन्थ्यो तर अहिले राम्ररी सिजन आ’कै छैन तैपनि दिनहुँ चार÷पाँचसय त भइहाल्छ नि’ एक भक्का व्यापारी भन्छिन् । कतिपय व्यापारीहरुले त भक्का बेचेरै वार्षिक घरयासी खर्चसमेत जुटाउने गरेका छन् । कात्तिक महिनादेखि चैत्र पहिलो सातासम्म तराईमा भक्काको मुख्य मौसम हो । यस मौसममा भक्काका पारखीहरु पनि बढ्ने गर्छन् । गर्मी मौसममा भने भक्का उतिसारो रुचिकर मानिदैन । विर्तामोडमा भक्का व्यवसाय गर्दै आएकी रुपा दनुवार भन्छिन्, ‘हिउँदमा भन्दा गर्मीमा भक्का खानेहरु अलि कम हुन्छन् ।’
फास्टफुडको रुपमा प्रयोग गर्ने युवायुवती पनि भक्का खान तम्सिरहेका भेटिन्छन् । विर्तामोडका एक व्यापारी विज्ञान श्रेष्ठ भन्छन, ‘जाडोमा भक्का भएपछि अरु के चाहियो र ?’ विशेष गरेर तराई क्षेत्रका आदिवासी जातिहरु मध्ये राजवंशी र धिमाल जातिहरु भक्का बनाउन खप्पिस हुन्छन् भने हिजो आज अन्यले पनि यो व्यवसाय गरेको भेटिन थालेको छ । 
लेखक स्वाधीन सम्वाद साप्ताहिकका सम्पादक हुन् । 

1 comment:

  1. तराईको जाडो अनि भक्काको स्वाद अमीट छन् यादहरु ।

    ReplyDelete

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...