विक्रीमा थेसिस

दयानन्द बज्राचार्य
अनुसन्धान उच्च शिक्षाको अभिन्न अंग हो। आज विश्वका प्रायः सबैजसो विश्वविद्यालयमा स्नातकोत्तर तहको अध्ययन र अध्यापनमा शोधकार्य अर्थात् थेसिस लेखन (डिजरटेसन) अनिवार्य हुने गरेको छ। कतिपय प्राविधिक विषयमा स्नातक तहमा पनि डिजरटेसन अनिवार्य गरेको पाइन्छ। थेसिस लेखनको मूल उद्देश्य विद्यार्थीलाई कुनै एक विषयमा गहिरो अध्ययन गर्न लगाउनु र अनुसन्धानका आधारभूत विधि/पद्धति सिकाउनु हो। यसले विद्यार्थीलाई सम्बन्धित विषयको समस्या पहिचान गर्न र त्यसको विश्लेषण गरी समाधान खोज्न सक्षम बनाउँछ। थेसिस लेखनले विद्यार्थीमा सिर्जनात्मक गुणको विकास गर्नसमेत मद्दत पुर्‍याउँछ। थेसिस लेखेका राम्रा विद्यार्थीका लागि विदेशी विश्वविद्यालयमा प्रतिस्पर्धामा आवेदन गरेर उच्च अध्ययनका लागि शोध/विद्वतवृत्ति प्राप्त गर्न वा कुनै प्राज्ञिक संस्थामा रोजगारी पाउनसमेत बाटो खुल्छ। त्यतिमात्र होइन, थेसिस गरेका विद्यार्थीले अनुसन्धानको आधारभूत विधि/पद्धति बुझेकाले उनीहरू पछि जुनसुकै प्रकारको पेसामा लागे पनि आफ्नो कामसँग सम्बन्धित विषयवस्तुको गहिरो अध्ययन, सूक्ष्म विश्लेषण र समस्या समाधान गर्न बढी सक्षम र सफल हुन्छन्। त्यसैले थेसिस गरेकाहरू नगरेकाभन्दा यस अर्थमा पनि भिन्न हुन्छन्।

थेसिस लेखन विद्यार्थी र प्राध्यापकबीचको घनिष्ठ सहकार्य हो र यसबाट विद्यार्थी र प्राध्यापक दुवै प्राज्ञिकरूपमा लाभान्वित हुन्छन्। राम्रो प्राध्यापकको सुपरिवेक्षणमा थेसिस लेख्ने प्रत्येक राम्रो विद्यार्थीको इच्छा हुन्छ भने धेरै प्राध्यापकको पनि मेधावी परिश्रमी, इमानदार र कामप्रति निष्ठावान विद्यार्थीलाई आफ्नो अनुसन्धान दलमा संलग्न गराई अनुसन्धानलाई उपलब्धिमूलक बनाउने इच्छा हुन्छ। 

लामो समयसम्म त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित वनस्पतिशास्त्र केन्द्रीय विभागमा प्राध्यापक तथा विभागीय प्रमुखका रूपमा कार्य गरेकाले विद्यार्थीको थेसिस लेखन र सुपरिवेक्षणमा पंक्तिकारका आफ्नै केही अनुभव छन्। थेसिस लेखन कार्य सफलतापूर्वक सम्पन्न गर्न विद्यार्थी र सुपरिवेक्षकबीच राम्रो समझदारी हुनुपर्छ भन्ने मेरो मान्यता थियो। त्यसैले विभागीय प्रमुखका हैसियतले थेसिस लेखनका निम्ति आफ्नो सुपरिवेक्षक छनोट गर्न विद्यार्थीलाई पूर्ण स्वतन्त्रता प्रदान गर्ने गथेँ। त्यसैगरी कुनै विद्यार्थीलाई स्वीकार गर्न वा नगर्न शिक्षकहरू पनि स्वतन्त्र थिए। 

सामान्यतया राम्रा विद्यार्थीहरू मेरो सुपरिवेक्षणमा थेसिस गर्न चाहन्थे। तर मेरो सुपरिवेक्षणमा थेसिस गर्न चाहने कुनै पनि कमजोर विद्यार्थीलाई मैले अस्वीकार गरिन। सबै विद्यार्थीलाई मेरो एकमात्र पूर्वसर्त हुनेगर्थ्यो, उनीहरूले मेहनत गर्नु पर्नेछ। म भन्ने गर्थेँ, मेरो काम सुपरिवेक्षण गर्नेमात्र हो। थेसिस लेख्ने काम विद्यार्थी स्वयम्को हो। थेसिस पूरा गर्न समयको कुनै सीमा रहन्न र त्यसमा वर्षौं पनि लाग्नसक्छ। विभागमा थेसिस सुपरिवेक्षणको मेरो कार्यशैलीबारे विद्यार्थीलाई राम्रो जानकारी थियो। तसर्थ साँच्चै केही सिक्न चाहने र मेहनत गर्न तत्पर विद्यार्थीमात्र मेरो सुपरिवेक्षणमा थेसिस गर्न इच्छुक हुन्थे। 

अधिकांश विद्यार्थीको कामबाट म सन्तुष्ट थिएँ। स्नातकोत्तर तहका ती विद्यार्थीको थेसिसमा आधारित धेरैजसोको शोधकार्य जर्मनी, बेलायत, फ्रान्सलगायतका देशबाट प्रकाशित हुने अन्तर्राष्ट्रिय जर्नलमा समेत प्रकाशित भए। थेसिसको आधारमा प्रकाशित शोधकार्यकै कारण कतिपय मेरा विद्यार्थीले अमेरिका, बेलायत, जर्मनी, जापान, रसिया, भारत तथा अन्य मुलुकमा उच्च अध्ययन तथा अनुसन्धान गर्न छात्रवृत्ति/विद्वतवृत्ति प्राप्त गरेका थिए। तर केही विद्यार्थीले आफ्नो थेसिस कयौं पटक दोहोर्‍याएर लेख्नु परेको थियो। एकजना विद्यार्थीले दसौं पटक दोहोर्‍याएर थेसिस लेखेको म सम्झन्छु। तर कसैबाट पनि मैले विद्यार्थीलाई अनावश्यक दुखः दिने गरेको गुनासो सुन्नु परेन। केही विद्यार्थीले भने गाह्रो मानेर थेसिस पूरा नै गरेनन्, बीचमै छाडेर गए। विद्यार्थीको सजिलोका लागि अनुसन्धानको गुणस्तर र आफ्नो मान्यतासँग मैले कहिल्यै सम्झौता गरिन। 

कीर्तिपुरका अन्य विभागका तुलनामा वनस्पतिशास्त्र केन्द्रीय विभागमा थेसिस लेखनमा थोरै अङ्क प्राप्त हुने गरेको गुनासो त्यतिबेलाका विद्यार्थीहरू गर्थे। पंक्तिकार लगभग चौध वर्ष विभागीय प्रमुख रहँदा थेसिस लेखनमा विद्यार्थीले पाएको उच्चतम अङ्क अठहत्तर प्रतिशत थियो। सुनिन्छ, हिजोआज त्रिभुवन विश्वविद्यालयमा जुनसुकै विद्यार्थीले पनि थेसिस लेखनमा नब्बे प्रतिशत अङ्क प्राप्त गर्नु सामान्य भएको छ र कतिपय विद्यार्थीले त उनान्सय प्रतिशत अङ्कसम्म पाउने गर्छन्। यति राम्रो अङ्क पाउनु विद्यार्थीको शोधकार्यको गुणस्तरमा वृद्धि भएर हो वा मुल्याङ्कन फितलो भएर हो, त्यो थाहा भएन। हिजोआज त्रिविमा विद्यार्थीको दबाबमा आफ्ना विद्यार्थीको थेसिसलाई बढीभन्दा बढी अङ्क दिन शिक्षकहरूबीच नै होडबाजी चल्ने गर्छ भन्ने पनि सुनिन्छ। 

पछिल्लो समयमा त्रिविमा थेसिस लेखनमा गम्भीर विकृति देखा परेको समाचार सञ्चारमाध्यममा आएका छन्। केही दिनअघि मात्र त्रिविमा अङ्ग्रेजी, अर्थशास्त्र, ग्रामीण विकास, जनसङ्ख्या, समाजशास्त्र, राजनीतिशास्त्र, नेपालीलगायतका मानविकी तथा व्यवस्थापन विषयका स्नातकोत्तर तहको तयारी थेसिस बजारमा ७ हजार ५ सय रुपियाँमा सजिलै किन्न पाइने र त्रिविका क्याम्पस तथा विभागका सूचनापाटीमा थेसिस विक्रीमा उपलब्ध भएको विज्ञापन हेर्न पाइन्छ भन्ने समाचार एक अङ्ग्रेजी दैनिकमा प्रमाणसहित प्रकाशित भएको थियो। उक्त समाचारअनुसार पूर्व विद्यार्थीले पहिले पेस गरिसकेका थेसिसमा सामान्य हेरफेर गरेर वा जस्ताको तस्तै विक्री गरिन्छ। यसरी तयार पारिएको एउटै थेसिस एकै पटक एकभन्दा बढी विद्यार्थीलाई बेच्ने गरिन्छ र यस प्रकारका थेसिस त्रिविबाट अहिलेसम्म एकपटक पनि अस्वीकृत नभएका मात्र होइनन् तिनीहरूले उच्च अङ्कसमेत प्राप्त गर्न सफल भएको बताइन्छ। विक्रीमा उपलब्ध त्यस प्रकारका थेसिसको तयारी, बेचबिखन र उच्च मुल्याङ्कन गर्नेमा त्रिविका केही प्राध्यापकसमेत संलग्न भएको समाचारमा बताइएको थियो। उक्त समाचार सत्य हो भने त्यस्ता प्राध्यापक विश्वविद्यालयकै लागि कलङ्क हुन्। आर्थिक प्रलोभनका कारण त्यस्तो निकृष्ट कार्यमा संलग्न भ्रष्ट प्राध्यापकको पहिचान भए तापनि विश्वविद्यालयले उनीहरूविरुद्ध आजसम्म कुनै कार्यवाही नभएको विश्वविद्यालयका इमानदार शिक्षकहरूको गुनासो सुनिन्छ।

केही विद्यार्थी कुनै अनियमित तरिकाले परीक्षा उत्तीर्ण गर्न चाहन्छन्। यो परिश्रम नगरी फल प्राप्त गर्नेहरूका लागि कुनै नौलो र अनौठो विषय होइन, तर यस प्रकारको प्राज्ञिक विकृति नियन्त्रण गर्ने प्रमुख जिम्मेवारी त्रिविसम्बन्धित निकायको हो। कुनै पनि विश्वविद्यालयमा सुपरिवेक्षकले स्वीकृत नगरेसम्म कुनै पनि विद्यार्थीले मुल्याङ्कनका लागि आफ्नो थेसिस पेस गर्न सक्दैन। त्रिविमा पनि यही नियम लागू छ। सुपरिवेक्षकले त्यस्ता विद्यार्थीको थेसिस राम्ररी अध्ययन गरेमा ती सक्कली हुन् वा नक्कली हुन् भनेर एकिन गर्न गाह्रो हुँदैन। यसैगरी थेसिस जाँच्ने आन्तरिक र बाह्य परीक्षकले विद्यार्थीलाई पनि केही सामान्य प्रश्न गरेर विद्यार्थी आफैँले थेसिस लेखेको हो वा होइन, सजिलै थाहा पाउन सक्छन्। थेसिस किनबेच हुने भनी आरोप लागेका सम्बन्धित विभागहरू पनि सतर्क हुन सक्छन्। यति हुँदाहुँदै पनि किनिएका नक्कली थेसिस सजिलै स्वीकृत हुनु र त्यस्ता थेसिसले उच्च अंकसमेत पाउनु त्रिविका सम्बन्धित शिक्षकको लापर्वाही र अमर्यादित आचरणको उदाहरण हो। 

देशमै दण्डहीनता पराकाष्ठामा पुगेको अवस्थामा त्रिविले दोषी विद्यार्थी, प्राध्यापक तथा अन्य व्यक्तिलाई उचित दण्ड दिने नैतिक साहस नदेखाउनु ठूलै आश्चर्यको विषय भने होइन। त्यसैले यो विकृति त्रिविमा दिन प्रतिदिन बढ्ने निश्चित छ। समयमै यस विकृतिलाई नियन्त्रण गरिएन भने भोलि त्रिविमा विद्यावारिधिको थेसिसको पनि किनबेच नहोला भन्न सकिन्न। आजको सञ्चार युगमा त्रिविमा देखिएको यस प्रकारको विकृतिको जानकारी इन्टरनेट तथा अन्य सञ्चार माध्यममार्फत् विश्वभरि फैलिन धेरै बेर लाग्दैन। विश्वका अन्य विश्वविद्यालयले यस प्रकारको समाचार प्राप्त गरेमा अन्तरार्िष्ट्रय प्रतिष्ठा भएको त्रिविका उपाधिलाई ती विश्वविद्यालयले भविष्यमा मान्यता नदिन बेर छैन। त्यसो हुन गएमा देशकै सबैभन्दा जेठो, ठूलो र प्रतिष्ठित विश्वविद्यालयको प्रतिष्ठामा ठूलो आँच आउने मात्र नभएर त्रिविबाट उत्पादन भएका विद्यार्थी आउँदा दिनमा विदेशका विश्वविद्यालयमा उच्च अध्ययन गर्ने अवसरबाट समेत वञ्चित हुनेछन्। त्यसको असर देशको सक्षम जनशक्तिको विकासमा पर्न जान्छ र केही खराब विद्यार्थीका कारण जेहेन्दार र परिश्रमी विद्यार्थी पनि पीडित हुन सक्छन्। यो त्रिविका लागिमात्र नभएर देशकै लागि ठूलो दुर्भाग्य र अपूरणीय क्षति साबित हुनेछ। तसर्थ यसतर्फ सबैको अविलम्ब ध्यान जानु आवश्यक छ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...