दोहा (कतार),, पुस ७ - नेपाल पर्यटन बोर्डले पर्यटन वर्षको खाडी मुलुकमा प्रवर्द्धन सुरु गरेको छ । 'पर्यटनका लागि सँगसँगै' नारासहित यहाँको एक होटलमा आइतबार साँझ आयोजित कार्यक्रममा नेपाली दूतावासका अधिकारी, कतारस्थित केही ट्राभल तथा टुर एजेन्सीका प्रतिनिधि, होटल प्रतिनिधि, पर्यटन बोर्डका अधिकारीलगायतको उपस्थिति थियो ।
कार्यक्रममा बोर्डले नेपालमा पर्यटक आकषिर्त गर्ने प्रचार समग्री वितरण गर्नुका साथै नेपालका पर्यटकीय केन्द्रहरूबारे जानकारी गराएको थियो । खाडी मुलुकबाट पर्यटक भित्र्याउने उद्देश्य राखेर
गरिएको यो कार्यक्रम संयुक्त अरब इमिरेट्सको अबुधाबी र दुबईपछि यहाँ भएको हो । बोर्डले बहराइन र ओमनमा कार्यक्रम गर्ने निर्णय गरेको थियो । अन्तिम समयमा बोर्डका अधिकारी कार्यक्रम नगरी स्वदेश फर्किएका छन् । बोर्डका वरिष्ठ निर्देशक सुभाव निरौलाले बहराइनको भिसा अन्तिम समयमा मात्र पाएकाले अरू कार्यक्रम गर्न ढिला हुँदै गएकाले कार्यक्रम हटाइएको बताए । पर्यटन प्रवर्द्धन कार्यक्रमका लागि पर्यटन बोर्डबाट निरौला, पर्यटन वर्ष टास्क फोर्सका सदस्य सुवर्ण छेत्री, नेपाल होटल एन्ड ट्राभल एजेन्सी एसोसिएसन -नाटा) का द्वितीय उपाध्यक्ष सर्वोत्तमलाल श्रेष्ठ दोहा आएका थिए । नेपालले सन् २०११ मा १० लाख पर्यटन भित्र्याउने लक्ष्य लिएको छ ।कार्यक्रममा कतारका लागि नेपाली राजदूत डा. सूर्यनाथ मिश्रले नेपाल प्राकृतिक सौन्दर्य र विविधताले भरिएको देश भएको उल्लेख गर्दै पर्यटकलाई नेपाल भ्रमणका लागि आमन्त्रण गरे । दूतावासले कतारबाट ट्राभल एजेन्सी, टुर अपरेटर र कतारी सञ्चारकर्मीलाई नेपाल भ्रमण गराउने कार्यक्रम बनाउने भएको छ ।
कतार एयरवेजका सेल्स म्यानेजर अजय ज्याकोवले नेपालको आतिथ्य र प्राकृतिक सुन्दरता राम्रो भएकाले भ्रमणका लागि राम्रो देश भएको बताए । उनले नेपाल गएको स्मरण गर्दै यो हनिमुनका लागि उत्तम स्थल भएको कार्यक्रमका सहभागीहरूलाई सुनाए । सहभागीले नेपाल भ्रमणका लागि भिसा प्रणाली, होमस्टे, खानपानको व्यवस्था, माउन्टेन फ्लाइटको सुरक्षा, नेपालको जनसंख्या, हालको पर्यटन आगमन स्थिति, भ्रमणको सिजनजस्ता विषयमा जिज्ञासा राखेका थिए । दूतावासमा प्रथम सचिव रामकाजी खड्काले केही देशलाई बाहेक अरू देशलाई नेपालमा अनअराइभल भिसा सुविधा भएको जानकारी दिए । नेपालले मध्यपूर्वका खाडी राष्ट्र कतार, साउदी अरब, युएई, बहराइन, कुवेत, ओमनलाई अनअराइभल भिसा दिने गरेको छ । इराक र प्यालेस्टाइनबाहेक मध्यपूर्वका अरू देशका बासिन्दालाई पनि नेपालमा अनअराइभल भिसा सुविधा छ । बोर्डका वरिष्ठ निर्देशक निरौलाले सहभागीहरूका प्रश्नको जवाफ दिँदै नेपालमा खाना, बस्नदेखि यात्रामा कुनै असुविधा नरहने बताए ।
यसैबीच पर्यटन प्रवर्द्धन कार्यक्रमलाई रोचक बनाउन सहभागीहरूको भिजिटिङ कार्ड संकलन गरेर 'लक्की ड्र' खोलिएको थियो । विजेता दुई जनालाई नेपाल भ्रमणको लागि कतार एयरवेजले आवातजावतको हवाई टिकट दिने जनाएको छ । लक्की ड्र अल सुनलाइमन ट्राभलका फिर्दोस र सिटी ट्राभल्सका एस रिजन मौलानालाई परेको थियो ।
Source:- Ekantipur
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...