अमेरिकाबाट बिद्यावारिधि गरी नेपाल फर्केका कर्मचारी अलपत्र

काठमाडौं- वासिङ्गटन डिसीबाट तुरुन्त हाजिर हुन परराष्ट्र मन्त्रालयमा बोलाइएका उपसचिव स्तरका एकजना कर्मचारी वासिङ्गटनबाट नेपाल फर्केपनि परराष्ट्र मन्त्रालयले हाजिर गर्न नदिएपछि अप्ठेरोमा परेका छन् । 
तीन बर्षअघि वासिङ्गटन डिसीस्थित राजदूतावासमा उप्रमुख रहेका रामबाबु ढकाललाई त्यहाँबाट फिर्ता बोलाएर परराष्ट्र मन्त्रालयले हाजिर नगराएको हो । ढकाल वासिङ्गटन डिसीस्थित नेपाली राजदूतावासमा ०५९-०६३ सम्म उपप्रमुख थिए । मन्त्रालयमा हाजिर हुन नपाएका ढकालको सम्बन्धमा निर्णय गरिदिन मन्त्रालयले सामान्य प्रशासन मन्त्रालयलाई यसै हप्ता पत्र लेखेको छ ।

डिसीमा नेपाली दूतावासको उपप्रमुखको रुपमा पदावधि सकिएपछि ढकालले ०६६ चैतसम्म अध्ययनका लागि बिदा स्वीकृत गराउन ०६३ मा पत्र लेखेका थिए । ०६६ चैतमा उनले फेरि थप समयका लागि बिदा मागे, तर मन्त्रालयले यससम्बन्धमा कुनै जवाफ दिएन । उनी काम गर्नका लागि नभई अध्ययनकै लागि बिदा मागी अमेरिका बसेका थिए । जब उनले अमेरिका बसेर आफ्नो विद्यावारिधिको अध्ययन पूरा गरे मन्त्रालयलाई पत्र लेखी सोधे- 'मेरो सम्बन्धमा के निर्णय भएको छ, मेरो जागिर जाने भए त्यससम्बन्धी जानकारी पाऊँ, यसका लागि पत्रिकामा सूचना निकाल्नुपर्दैन, बरु म आफै राजीनामा दिन्छु ।'

श्रोतका अनुसार, मन्त्रालयले ६० दिनसम्म कुनै जवाफ नदिए पनि स्वतः जागिर जाने निजामित सेवा नियमावली (निसेनि) प्रावधान भएकाले उनले यस्तो पत्र लेखेका थिए । त्यसपछि परराष्ट्रले उनलार्य पहिले आफैले बिदा दिएजसरी 'काममा आउनू' भनी पत्र लेखेको थियो । पत्र पठाउनासाथ उनी काठमाडौं फर्के र हाजिर हुन मन्त्रालय गए । तर उनी मन्त्रालयको स्वीकृतिविना लामो समय सम्पर्कविहीन रहेकाले उनको जागिर स्वतः जाने भन्ने प्रावधान निजामित सेवा नियमावलीमा रहेको जानकारी परराष्ट्रका अधिकारीहरुले पाए । सोहीअनुसार ढकाललाई फेरि हाजिर गराउनु नियमविपरीत हुने भएकाले उनलाई हाजिर नगराइएको श्रोतले बतायो ।

जानकारी अनुसार, उनले विदा माग्दै पत्र  लेखेपनि उनको विदाको सम्बन्धमा कुनै निर्णय नभएकाले त्यति लामो समय गयल रहँदा नियम अनुसार एकातिर उनको जागिर जाने स्थिति छ भने अर्कोतिर परराष्ट्र मन्त्रालयले उनलाई तुरुन्त हाजिर हुनु भन्ने पत्र पठाएकाले र त्यसै अनुसार उनी हाजिर हुन आएकाले यस्तो स्थितिमा उनलाई जागिरबाट निकालिए उनी अदालत जाने स्थिति छ, किनभने उनीसँग मन्त्रालयले तुरुन्त हाजिर हुन भनी पठाएको पत्र छ । यसले गर्दा परराष्ट्र मन्त्रालयका अधिकारीहरु अहिले तनावमा परेका छन् । उता आफूलाई वासिङ्गटनबाट बोलाएर हाजिर नगराइँदा ढकालपनि तनावमा परेका छन् ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...