विप्लब भट्टराई इलाम, पुस ८ -
सुन्तलाको मीठो स्वादले मात्र होइन सौन्दर्यले पनि पैसा कमाउन सकिँदोरहेछ । गोल्डन भ्यालीको उपनाममा चिनिने पूर्वदक्षिण झापा र दार्जिलिङ सीमावर्ती जिर्मलेको सलकपुरको सन्देश हो यो ।
पहेंलपुर सुन्तलाबारीमा रमाउनकै लागि हरेक दिन त्यहाँ भीड जम्ने गरेको छ । विशेष गरेर हरेक आइतबार त्यहाँ मेला नै लाग्ने गरेको छ ।
'अघिल्लो आइतबार मान्छे भेट्न मुस्किल हुने गरी भीड जमेको थियो,' स्थानीय गोल्डेन भ्याली युथ क्लबका कुमार मोक्तानले भने, 'सुन्तलाप्रतिको बढ्दो आकर्षणले स्थानीयवासीलाई गतिलो पर्यटीय स्थल बनाउने हिम्मत जागेको छ ।
सुन्तलाको स्वादसँगै सौन्दर्यमा रमाउन आउनेमा भरतीय धेरै हुन्छन् । गएको आइतबारमात्र त्यहाँ आएका हजारौंले सुन्तला खरिद गरेका थिए । एकै दिन खुद्रा रूपमा डेढ लाख रुपैयाँ जतिको सुन्तला बिक्री भएको स्थानीयले बताए ।
त्यहाँ बिदा हुने भएकाले पनि आइतबार यहाँ आउनेको संख्या बढी हुन्छ । आगन्तुकले खरिद गरेको सुन्तला र उनीहरूले त्यहाँ गरेको खर्चले स्थानीय धेरैको आम्दानी नै बढेको छ । 'मंसिर र पुस महिनाभरि यहाँ सुन्तला पर्यटन जम्ने गर्छ,' मोक्तानले भने । यो क्षेत्रका अन्य पर्यटकीय सम्भावनाको समेत विकास गर्ने उद्देश्यले स्थानीयवासी क्रियाशील छन् ।
पर्यटन उपसमिति गठन गरेर बढी पर्यटक तान्ने ध्याउन्न उनीहरूको छ । बस्न र खानाका लागि व्यवस्थित होटल लज र होमस्टेको व्यवस्थासमेत गरेर अघि बढ्ने उनीहरूको सोच छ ।
सुन्तलाको उत्पादनमा ख्याति कमाएको यो गाउँबाट यो वर्ष मात्रै १ करोड २० लाख रुपैयाँको सुन्तला बिक्री भएको छ । अघिल्लो वर्षभन्दा यो वर्ष सुन्तलाको उत्पादन तीन गुणाले बढेको हो । सुन्तला
किन्नकै लागि आन्तरिक र भारतीय पर्यटक एकै दिन सयौंको संख्यामा आउने गरेको स्थानीयवासी बताउँछन् । हरेक घरमा सुन्तला बगान भएकाले जिर्मलेको सलकपुर क्षेत्रलाई गोल्डेन भ्याली उपनामले चिनिएको हो ।
एकै घरबाट मात्र २ लाख ५० हजार रुपैयाँभन्दा धेरैको सुन्तला बिक्री भएको छ । जिर्मलेको १, २ र ३ नम्बर वडामा सुन्तलाको अधिक उत्पादन हुने गर्छ । पाक्न नपाउँदै यो क्षेत्रमा झापाका व्यापारीहरू सुन्तलाको बगानै खरिदका लागि घरघर आउने गरेको स्थानीय खेमराज खनालले बताए । यो गाउँमा करिब अढाइ सय घरपरिवार सुन्तला व्यवसायमा आश्रति छन् ।
यहाँ उत्पादित सुन्तला झापाको धुलाबारी र बिर्तामोडमा अधिक खपत हुने गरेको छ । त्यस्तै सीमापारि भारतबाट दैनिक आउने पर्यटकले पनि कोसेलीका रूपमा लैजाने गरेका छन् । खुद्रा रूपमा प्रतिकिलो १५ भारतीय रुपैयाँदेखि २५ भारतीय रुपैयाँसम्ममा सुन्तलाको बिक्री हुने गरेको छ ।
थोक बजारसम्म सीधा किसानको पहुँच नपुगेकाले कम मूल्य पाएको किसानको गुनासो छ । झापाको काँकडभिट्टाबाट बाहुनडाँगी हुँदै मोटर यातायातको सुविधा पुगेकाले त्यहाँको सुन्तला बजारसम्म पुर्याउन समस्या छैन । त्यस्तै मोटर सुविधाकै कारण आगन्तुकलाई पनि सहज भएको छ ।
सबै क्षेत्रमा यो वर्ष सुन्तलाको उत्पादन बढेकाले किसानले मनग्ये आम्दानी लिन सकेको जिल्ला कृषि विकास कार्यालय इलामले जनाएको छ । मौसम अनुकूल भएकाले उत्पादन बढेको हो ।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...