दिसा-पिसाब गर्दा कानमा सिठ्ठी

तपाईं शौचालयभन्दा बाहिर दिसा-पिसाब गर्दै हुनुहुन्छ भने होसियार ! सिठ्ठी बज्न सक्छ । बालबालिकाले कानमै आएर सिठ्ठी बजाउनेछन् ।
यहाँ नेपाली टेलिभिजमा प्रशारित हुने महजोडीको टेलिश्रृंखला “सुगन्धपुर” को चर्चा परिचर्चा गर्न खोजिएको हैन । 
कञ्चनपुरको शंकरपुर गाविस-७ बल्लीका बालबालिकाले खुला ठाउँमा दिसा-पिसाब गर्नेको कानमै गएर सिठ्ठी बजाउने गरेका हुन् । बल्लीलाई खुला दिसा-पिसाबमुक्त गाउँ घोषणा गरेपछि उनीहरूले शौचालयभन्दा बाहिर दिसा-पिसाब गर्ने जो-कोहीको पनि कानमै गएर सिठ्ठी बजाउन थालेका हुन् । 'कसैले दिसा-पिसाब गर्‍यो कि सिठ्ठी बजिहाल्छ,' बल्ली गाउँ सरसफाइ समितिका अध्यक्ष धनबहादुर चौधरीले भने ।
दुई वर्षदेखि बल्लीका बासिन्दाले खुला दिसा-पिसाबमुक्त क्षेत्र घोषणाका लागि अभियान थालेका थिए । उनीहरूले बल्लीलाई ६ महिनाअघि खुला दिसा-पिसाबमुक्त क्षेत्र घोषणा गरेका हुन् । त्यसपछि शौचालयबाहिर दिसा-पिसाब देखिन
छाडेको छ । 'बाटाभरि दिसा हुन्थ्यो' समितिका अध्यक्ष धनबहादुरले भने, 'अहिले कहीँ-कतै दिसा पिसाब देखिन्न । सबै शौचालयमा जान्छन् ।' गाउँले मात्रै होइनन्, अन्य गाउँबाट आएका पाहुना पनि बल्ली क्षेत्रमा खुला ठाउँमा दिसा-पिसाव गर्दैनन् । यो गाउँ प्रवेशद्वारमै लेखिएको छ, 'खुला ठाउँमे हग्ना, मुत्ना मना है ।'
बल्ली गाउँमा १ सय ६७ परिवारको बसोवास छ । जसमा अधिकांश थारू समुदायका छन् । समुदायमै गठन गरिएका समूहले बचत गरेर कोष बनाएको छ । त्यही कोषबाट शौचालय निर्माणमा सहयोग गरिएको छ । घर कच्ची भए पनि शौचालय भने पक्की छन् । बल्लीका प्रत्येक घरमा शौचालय छ । 'सबैको घरमा शौचालय छ,' समितिका अध्यक्ष धनबहादुरले भने, 'सबैको घरमा पक्की नहोला, कच्ची चर्पी छन् ।' यहाँका सबै बासिन्दा शौचालय प्रयोग गर्छन् ।
गाउँ-घरको खुला ठाउँमा दिसा-पिसाबसँगै फोहोर फाल्न पनि रोक लगाइएको छ । जसले गर्दा बाटोघाटो सफा देखिन्छ । सुर्तीजन्य पदार्थ, चाउचाउ, बिस्कुट खाएर पनि जताततै फालिन्न । पोलिथिन र कागजसमेत बाटोमा फालेको देखिन्न बल्ली गाउँमा । जसले पनि खुला ठाउँमा फोहोर देख्यो भने उठाएर 'फोहोर फाल्ने ठाउँ'मा फाल्ने गरेको स्थानीय बासिन्दा रामचन्द्र रानाले बताए ।
दिउँसो गाउँले सबैले निगरानी राखेका हुन्छन् भने बिहान-बेलुका बालबालिका सिठ्ठी बोकेर घुम्छन् । बल्लीका प्रत्येक टोलमा बाल समूह गठन गरेका छन् । ती बाल समूहले नै बिहान-बेलुका दिसा-पिसाब गर्ने सयममा गस्ती गर्छ । 'बिहान ४ बजेदेखि राम्ररी उज्यालो हँुदासम्म बालबालिकाले गस्ती गर्छन्,' अध्यक्ष धनबहादुरले हाँस्दै भने, 'कहीँ दिसा-पिसाब गर्न बसेको देख्यो भने गएर सिठ्ठी बजाउँछन्, होहल्ला गरिदिन्छन् ।' लाजले भए पनि कसैले खुला ठाउँमा दिसा-पिसाब नगर्ने गरेको उनको भनाइ छ । साँझ पर्न लाग्दा पनि बालबालिकाले सिठ्ठी बोकेर गाउँमा चक्कर लगाउने गरेका छन् ।
सुरुमा अलि गाह्रो भए पनि अहिले भने सहज भएको छ । प्रत्येकले घरमा शौचालय बनाएपछि गाउँ सफा भएको छ । गाउँ-घरका भन्दा पनि बाहिरबाट आउने मान्छेलाई सचेत गराउन उनीहरू लागिपरेका छन् । गाउँमा होर्डिङ बोर्ड पनि राखिएको छ ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...