नेपालमा उत्पादन हुने अधिकांश कृषिजन्य वस्तुको भारत तथा तेस्रो देश निर्यात यो वर्ष घटेको छ । केही वस्तुको निर्यात भने दोव्वर तेव्वर वृद्धि भएका छन् ।
मेची भन्सार कार्यालयले दिएको जानकारी अनुसार सीटीसी चिया, अलैची, विउविजन, गहु, मकै वा अन्नको च्याख्ला, आलस, हरियो सागपात वा तरकारी र मुसुरोको निर्यातमा यो वर्ष गिरावट आएको हो । चोकर भुस, अदुवा, सुन्तला, काचो चियालगायतका वस्तुको निर्यात भने वृद्धि भएको देखिन्छ ।
बस्तुहरुको उत्पादनमा आएको गिरावटले निर्यात प्रभावित भएको हो । जिल्ला कृषि विकास कार्यालय झापाका अनुसार अलैचीको उत्पादनमा यो वर्ष करिव ४० प्रतिशतले गिरावट आएको छ । रोगका कारण उत्पादन घटेको कृषिका प्रमुख राजेन्द्र उप्रेतीले जानकारी दिए । अलैची पूर्वी पहाडी
जिल्लाहरु संखुवासभा, ताप्लेजुंङ, इलाममा उत्पादन भइ तेश्रो देश निर्यात हुने गरेको छ । गत वर्ष ३ करोड ४४ लाख १९ हजार रुपैयाँको अलैची तेश्रो मुलुक निर्यात भएकोमा यो वर्ष १ करोड ५६ लाख ६७ हजारको मात्रै निर्यात भएको मेची भन्सार कार्यालयले उपलव्ध गराएको तथ्यांकमा उल्लेख छ । ‘माग अत्याधिक छ तर उत्पादन छैन’, उप्रेतीले भने,‘उत्पादन नभएपछि निर्यात घटेको हो ।’ उत्पादन घटेपछि अलैचीको मूल्य पनि आकासिन पुगेको व्यापारीहरुको भनाई छ । अलैचीको मुल्य हाल प्रति मन करिव ६० हजार नाघेको छ । यहाँको अलैची पाकिस्तानलगायतका मुस्लिम मुलुकहरुमा खपत हुने गरेको छ । भारत निर्यात हुदै आएको सीटीसी चिया पनि घटेको छ । यसको निर्यात घट्नुमा पनि उत्पादनमा आएको गिरावट नै मानिएको छ । कृषिका प्रमुख उप्रेती भन्छन्,‘वेला वेला हुने गरेका मजदुर हड्ताल र आन्दोलनले पनि यसलाई प्रभाव पारेको देखिन्छ ।’ केही चिया निर्यात हुनै बाँकी रहेको हुन सक्ने उप्रेतीको अनुमान छ । चिया किसान दिपेन्द्र भट्टराईका अनुसार खडेरी पनि चिया उत्यादन घट्नुको कारक हो । भट्टराई भन्छन्,‘केही महिनाको लगातारको खडेरीले पनि उत्पादन घटायो ।’ झापामा हाल ९ हजार ८ सय हेक्टर क्षेत्रमा चिया खेती भइरहेको छ । यो वर्ष झापामा ४ हजार ४ सय मेट्रिक टन चिया उत्पादन भएको कृषि कार्यालयले जनाएको छ ।यो वर्ष १ अर्व ८८ लाख ७७ हजार रुपैयाको चिया भारत निर्यात भएको छ । गत वर्ष १ अर्व १८ करोड २८ लाख २ हजार रुपैयाँको चिया त्यता पठाउन नेपाली व्यवसायी सक्षम बनेका थिए ।
यता काचो चियाको निर्यात भने यो वर्ष तेव्वर वढेको छ । भारतमै खपत हुदै आएको काचो चिया प्रशोधन नगरी निर्यात गरिन्छ । गत वर्ष करिव ५० लाख मुल्य वरावरको निर्यात भएको थियो भने यस वर्ष १ करोड १२ रुपैयाँको निर्यात भएको छ ।
वंगलादेश निर्यात हुदै आएको दाल र गहँु पनि घटेको छ । गहँु विगतका वर्षदेखि नै गिरावट हुदै आएको छ । सरकारले खाद्यन्न संकटको कारण देखाउँदै गहुँ निर्यात रोकेको थियो । अहिले निर्यात त फुकुवा गरियो तर उत्पादनमा आएको गिरावटका कारण भनेजति पठाउन व्यवसायी असक्षम वने । गत वर्ष करिव साढे ५ लाख रुपैयाको गहँु बंगलादेश निर्यात भएको भन्सारको तथ्यांकले देखाएको छ । यो वर्ष साढे ५ लाख पनि पुग्न सकेको छैन । ‘कहिले काहि थोरै मात्रामा जादैछ’, एक व्यवसायी भन्छन्,‘देशमा गहँुको उत्पादन नै छैन कसरी निर्यात गर्ने ?’
जिल्ला कृषि विकास कार्यालयका अनुसार झापामा यो वर्ष गहुँको उत्पादन घटेको छ । कार्यालयका अनुसार गहुँ उत्पादन हुने क्षेत्रफल पनि घटेको छ । बढ्दो प्लटिङका कारण क्षेत्रफल घटेको हो । गत वर्ष १५ हजार हेक्टर क्षेत्रमा रोपिएको गहुँ यो वर्ष ११ हजार ५ सय हेक्टरमा सीमित भएको छ । गत वर्ष ३३ हजार मेट्रिक टन गहँु उत्पादन भएको झापामा यो वर्ष घटेर २४ हजार पुगेको छ । कृषि कार्यालयका प्रमुख उप्रेतीले कुल उत्पादनमध्ये करिव २ लाख मेट्रिक टन गहुँ प्रत्येक वर्ष निर्यात गरिन्छ । यो परिमाण झापाका उपभोक्ताले खाएर उब्रिएको हो ।
विदेशी मुद्रा नेपाल भित्र्याउने कृषिजन्य उत्पादन दालको निर्यात पनि घटेको छ । दालको दरभाउमा आएको उतारचढावका कारण निर्यात घटेको मेची उद्योग वाणिज्य संघका अध्यक्ष केशवराज पाण्डेले जानकारी दिए । उनले भने,‘दालको दरभाउको घटवढका कारण व्यवसायीहरु स्टकमा दाल राखेर वस्न वाध्य छन् ।’ गत वर्ष ३ अर्व ४४ करोड ७०लाख ९० हजार रुपैयाको दाल वंगलादेश निर्यात भएकोमा यो वर्ष २ अर्व ९७ करोड ५१ लख ५४ हजारको दाल गएको छ । भन्सारले यसवापत ३ करोड वढी राजश्व नै प्राप्त गरेको छ । बंगलादेश जाने गरेको मकैको च्याख्ला र भारत निर्यात हँुदै आएको आलस पनि घटेको छ । गत वर्ष करिव ५ करोड मूल्य बराबरको च्याख्ला बंगलादेश गएकोमा यो वर्ष ९३ लाख १४ हजारको मात्रै निर्यात भएको छ । हरियो सागपात तथा तरकारीको बंगलादेशमा अत्याधिक माग छ । तर, नेपाली व्यवसायी त्यो माग पूरा गर्न सकेनन् । यो वर्ष २५ लाख ३ सय २१ केजी अर्थात १ करोड ५९ लाख ६९ हजारको सागपात निर्यात भयो । गत वर्ष करिव २ करोडको सागपात निर्यात भएको थियो ।
अदुवा–सुठो, चोकर, सुन्तलालगायतका कृषिजन्य उत्पादनको निर्यात यो वर्ष उल्लेख्य वढेको भन्सार कार्यालयले जनाएको छ । गत वर्ष २ करोड ६५ लाख २७ हजारको चोकर बंगलादेश गएकोमा यो वर्ष करिव साढे ५ करोडको निर्यात भएको हो । अदुवा–सुठोको निर्यात यो वर्ष अत्याधिक वृद्धि भएको छ । यो वर्ष १४ करोड १४ लाख ९६ हजार मूल्यको अदुवा–सुठो भारत गएको छ । गत वर्ष ६६ लाख वढीको मात्रै निर्यात भएको थियो ।
यो वर्ष १० हजार केजी सुन्तला बंगलादेश निर्यात भएको छ । गत वर्ष परीक्षणका लागि भनेर व्यवसायीहरुले ६ हजार केजी पठाएका थिए । यसको माग वढेपछि निर्यात बढेको हो । व्यवसायीहरुले नेपाली कृषिजन्य उत्पादनको बंगलादेशलगाायतका तेस्रो मुलुकमा अत्याधिक माग रहेको बताएका छन् । तर, नेपाल सरकारको कम चासोका कारण ‘भनेजति’र ‘भनेजसरी’ ती वस्तुको निर्यात गर्न सकिरहेको छैन । व्यवसायी ललीत तामाङ भन्छन्,‘बंगलादेशलगायतका देशमा नेपाली कृषि उत्पादनको प्रशस्त माग छ तर माग अनुसार पूर्ति गर्न सकेको छैन ।’
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...