
रोजगारीको सिलसिलामा कतारको दोहामा बस्दाका समय रचना गरिएका गीतहरूमा संगीत भरेर गीतकार धर्मेन्द्र खड्काले आफ्नो पहिलो एल्बम 'उद्गार' शनिबारदेखि बजारमा ल्याएका छन् ।मनका भाव भनिएका उनका गीतहरूको एल्बमलाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काइँलाले लोकार्पण गरेका हुन् । 'उद्गार' विमोचनपछि झापाली गीतकार खड्काले परदेशमा बस्दाका भोगाइ र स्वदेशमै क्याम्पस पढ्दाको भोगाइको टिपोटलाई नै गीतमा उनले भावना पोखे । 'त्यो भोगाइ के थियो, कसरी लेखें भन्ने सबै मेरै गीतका शब्दले बताउँछन् भन्ने लाग्छ,' उनले भने ।
कुलपति काइँलाले खड्काको लेखन क्षमताको तारिफ गर्दै साहित्य सृजना गर्ने भनेकै युवा उमेरमा भएकाले दत्तचित्त भएर लाग्न सुझाव दिए । श्रीराज प्रोडक्सनले बजारमा ल्याएको 'उद्गार' लाई गीतकार रमण घिमिरेले गीत, संगीत र गायनको हिसाबले 'सशक्त' भनी टिप्पणी गरे । उनले संगीतमा एल्बमले नयाँपन दिएको खुलाउँदै गीतमा भने साहित्यिक व्याकरणमा केही त्रुटि रहेको औंल्याए । एल्बमको गीतमा समेत स्वर दिएका गायक रामकृष्ण ढकाललेे मधुर संगीतमा यति राम्रो गीत गाउन पाएकोमा आफूलाई भाग्यमानी सम्झे । विमोचन कार्यक्रममा आफ्नो गीतको मुखडासमेत गाएका ढकालले संगीतको पाईरेसी बढिरहेको अवस्थामा पनि गीतकारले सुगम संगीतमा एल्बम निकाल्नु प्रशंसनीय भएको बताए ।
११ गीत समावेश
एल्बममा 'उद्घोषण...,' 'रुँदै छु म तिमीलाई सम्झी...,' 'यो छातीमा...,' 'क्षितिजभन्दा...,' 'तिमी भयौ परदेशी...', 'मृत्युको काखमा...', 'यही गीत हो व्यथा...,' 'फूलजस्तै फुलिरहनु...,' 'धरधरी आँसु...,' 'थोपाथोपा आँसु...' र 'माया यो कस्तो...' वियोगात्मक शैलीका गीतहरू समावेश छन् ।
एल्बममा गायक ढकाल, सत्यराज आचार्य, स्वरूपराज आचार्य, जगदीश समाल, शिव परियार, गोकुल खड्का, सन्तोष लामा र दीपक लिम्बूका साथमा गायिका इन्दिरा जोशीले स्वर दिएका छन् भने संगीत विनय बर्मा, सत्यराज, अर्जुन नेपाली, गोकुल खड्का, राजु सिंह, देवु-सञ्जीव र डेनी निरौलाले गरेका हुन् ।एल्बमको बिक्रीबाट उठेको रकमको २० प्रतिशत रकम झापाको धुलाबारी क्याम्पसको शैक्षिक विकासका लागि सहयोग गरिने जनाइएको छ ।
Source :- Ekantipur
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...