पत्रकारले कति बस्ने झुठको साक्षी ..............?


बरिष्ठ पत्रकार मोहन मैनालीको एउटा लेखको अंशानुसार ‘अब पत्रकारले कित्ता छुट्याउने बेला भएको छ। महान् नेपाली जनतालाई सुसूचित गर्ने उच्च अभियानमा लागेको हाम्रो गौरवशाली पेशालाई हावादारी बनाउने कित्तामा बस्ने कि यसलाई विश्वसनीय बनाउने कित्तामा बस्ने रु हावादारी कित्तामा बस्ने पत्रकारले सामग्री तयार गर्दा परीक्षण नगरी मेरो कुरा नपत्याउनु भनी मनमा राखे पुगिहाल्छ। विश्वसनीय कित्तामा बस्न चाहनेले चाहिँ मैले भनेको पत्याउनुस् किनभने म पत्रकार हुँ भन्न सक्नुपर्छ।'
आर्थिक अनियमिततामा फँसेर पार्टीबाट कारबाहीमा परेका झापा ७ बाट निर्वाचित एकिकृत माओवादीका सभासद विश्वदीप लिङदेनले बुधवार दमकका पत्रकारलाई उल्लु मात्र बनाएनन्, धेरै समयसम्म मिडियामा छाउन नपाएको आफ्नो अभिष्ट पनि पूरा गरे । यिनले आफ्नो झुठको साक्षी बस्ने वस्तुको रूपमा पत्रकारलाई नै चुने । उनको झुठलाई पत्रकारले ठूलाठूला अक्षरमा समाचार छापेर अनि चर्का स्वरमा रेडियो टिभीबाट प्रशारण गरेर सदर गरिदिए ।
प्रसङ्ग सभासदले सुविधाबापत पाएको रातो पासपोर्ट फिर्ता गर्ने नैटंकीको हो । चलाखीपूर्ण रूपमा उनले कुनै सरकारी अधिकरीलाई नभएर दलका तीनजना नेतालाई पत्रकार सम्मेलनमा डाकेका थिए । यी तीनै जनालाई पासपोर्ट बुझाएको घोषणा गर्ने कामको साक्षी बस्न भने पत्रकारलाई निमन्त्रणा दिइएको थियो । उनले पासपोर्ट बेच्न भन्दै आफूलाई ७० लाख रूपैयाँ अफर गरिएको बताउन पनि चुकेनन् । तर कसले पैसा दिने भन्यो यो चाही न उनले खुलाए, न छापिएको समाचारमा नै खुलासा भयो । लिङदेनले प्रशासनलाई पासपोर्ट बुझाएको भए विश्वास गर्न सकिन्थ्यो, तर उनले पासपोर्ट बुझाएका तीनजना नेताको पार्टीगत हैसियत पनि यो नाटकको दोस्रो पाटो हुनसक्छ । ६०१ ले बदनामी मात्र कमाइरहेका बेला लिङदेनको चलाखी चाखलाग्दो रह्यो । उनले एकदिनका लागि भएपनि चर्चा पाए । 'मेरो पदावधि रहेसम्म दलका प्रतिनिधिको रोहवरमा राहदानी प्रयोग गर्छु र पदावधि सकिएपछि सरकारलाई बुझाउँछु' यही हरफले पुष्टि गर्छ उनको चलाखी ।
सम्वाददाता संसारमा दोस्रो सबैभन्दा बढी झुठा कुरा सुन्नुपर्ने पेशाको मान्छे हो। सम्पादकले चाहिँ सबैभन्दा बढी झुठा कुरा सुन्नुपर्छ रे, किनभने उसले अरूका झुठा कुरासँगै आफ्ना रिपोर्टरका झुठा कुरा पनि सुन्नुपर्छ। माथिको प्रसंगले सम्पादकहरूले सत्य सुन्न कति समय खर्च गर्नुपर्ला सहजै अनुमान गर्न सकिन्छ । सम्वाददाता त झुठकै पेरिफेरीमा मात्र रम्ने प्राणी हो भन्दा अतिसय नहोला । यो हिसाबले पाठक र स्रोताले कति झुठा कुरा पढ्नु र सुन्नु पर्ला प्रश्न अनुत्तरित नै छ ।
झुठा कुरा सुनेर त्यसलाई समाचार बनाएर आत्मरतीमा रम्ने पत्रकारको भीड मोफसलमा बाक्लै छ । समाचारको साटो समाचार छपाउन चाहनेको इच्छाअनुसार नै मोफसलका पत्रिकाका पृष्ठ भरिने गरेका छन् । समाचार दिने नाममा विज्ञापनकर्ताले दिएको विवरणलाई समाचार ठानेर लेख्ने खतरनाक समस्यामा मोफसलको पत्रकारिता जेलिन थालेको छ । कतिले त यस्ता समाचारलाई समेत खोजपूर्ण भन्न चुक्दैनन् ।
झुठलाई पर्दा लगाएर गरेर सत्य साबित गर्ने काम पत्रकारको होइन । तर, न हामीले असत्य लेख्ने आफ्नो बानी र काम गर्ने तरिका फेरेका छौं, नत संसारमा पत्रकार जति जान्ने अरू कोही छैन भन्न नै छाडेका छौं ।


विवेक

talk2bbeck@hotmail.com

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...