यस्तो पनि हुँदो रहेछ ! एकै वावुका पाँच सन्तान अपाङ्ग


‘दैवले पनि मलाई मात्र देखेछन् । म जस्तो दुःखी सायद संसारमा नै कोही छैन होला । हातपाउ वसिसके । अव मेरा शेखपछि यिनीहरुलाई स्याहार्ने कोही हुँदैन । यहि दुःख लाग्छ”, यसरी आफ्नो दुःख पोखिरहँदा मोरङ जिल्लाको इटहरा गाविस ७ स्थित दाम्राभिट्टा का ६५ वर्षीय तुलसीराम ढुङ्गानाका आँखावाट वलिन्द्र आँशु खसे । घरीघरी कमिजको फेरले आँशु पुस्दै उहाँ आफ्नो भाग्य धिकार्नु हुन्थ्यो । उहाँले आफ्ना पाँच सन्तान घरमा अपाङ्ग भएपछि भोग्नु परेको पिडाले उहाँलाई यस्तो विरक्तिने अवस्था वनाएको हो ।
एउटै घरमा एकै वावुका आठमध्ये पाँच सन्तान पूर्ण अपाङ्ग अवस्थामा छन् । १५ देखि ३५ वर्ष उमेरका तीन छोरी र दुइ जना छोरा यस्तो अवस्थामा छन् । पाँचैजना शारीरिक रुपमा आफैं हिडडुल गर्न सक्दैनन् । वोली पनि प्रष्ट छैन भने मनस्थिती पनि सुस्त छ । दिशापिसाव समेत ओछ्यानमा गर्दछन् । घिस्रिँदै र लर्खराउँदै दुइचार पाइला याताउता मात्र हिँड्ने गछन् । माटो, फोहोर मैला जतिवेला वेला जहाँ जे भेट्यो त्यही खाने गरेको पिता ढुङ्गानाको भनाई छ ।
विहान जुरुक्क उठेर उनीहरुले रातभरी विगारेको ओछ्यान सफा गर्नुपर्छ । खाना वनाएर खुवाउनु पर्छ । उनीहरुकै हेरचाह गर्न भ्याई नभ्याई हुन्छ दुइजना वुढावुढीलाई । ‘म काम गर्न नसक्ने भएपछि तीन वर्षदेखि भएको डेढ विगाहा जग्गासमेत ठेक्कामा दिएको छ । ठेक्कावाट आएको आम्दानीले मात्र घर चलाउन नपुग्ने हुनाले श्रीमतीको पाखुराको भरमा खानु परेको छ’, ढुङ्गानाले दुखेसो सुनाउनु भयो ।
अपाङ्गमध्ये जेठी छोरी निर्मला ३५ वर्षकी भइन् भने त्यसपछिको छोरा निर्मल ३० वर्षका छन् । यी दुइजना ढुङ्गानाकी जेठी श्रीमती स्वर्गीय कोपीला पट्टिका हुन् । कोपिलावाट जन्मिएका चार जनामध्ये दुइजना अपाङ्ग छन् । कोपिलाको मृत्यु भएपछि तुलसीरामको दोश्रो विवाह श्रृजनासँग भयो । उनीपट्टिका पनि एक छोरा उमेश २७ वर्षका छन् भने दुइ छोरीहरु १७ वर्षिया पवित्रा र १५ वर्षिय गोमा अपाङ्ग छन् । सवैको प्रकृति एकै प्रकारको रहेको छ । जन्मदा सवैको स्वास्थ्य राम्रो थियो । पछि वढ्दै गएर दुइ तीन वर्षका भएपछि मात्र राम्रो नहुने कुरा थाहा हुने गरेको तुलसीराम ढुङ्गानाको अनुभव छ । थाहा पाउनेवित्तिकै अस्पताल लगेर पनि सुधार भएन ।
यसरी एकपछि अर्को गर्दै सन्तान अपाङ्ग भएपछि ढुंगानाले सामाजिक रुपमा अपमानित भएको महशुस गर्नुभएको छ । आफन्त र नाता गोताको आवतजावत पनि कम भएको छ । रोग सर्छ भन्ने मानसिकतामा मानिस कम आउने गरेको उहाँ बताउनु हुन्छ ।
यसरी परिवार अपाङ्ग भएको सो परिवारलाई विषेश आर्थिक सहयोग पुगोस् भन्ने उद्देश्यले सामाजिक सुरक्षा अर्न्तगत पूर्ण रुपमा अपाङ्गताको रातो कार्ड उपलव्ध गराइएको छ । सोही आधारमा सरकारले दिने गरेको समाजिक सुरक्षा भत्ता वापत पाँचै जनालाई प्रति व्यक्ति एक हजार रुपैयाँ उपलव्ध गराउँदै आएको छ ।
अपाङ्गको समस्या हेरी उनीहरुलाई आफैं शौचालय जान र खान सक्नेसम्मको तालिम दिन सके धेरै सहज हुने अपाङ्ग सहयोग समिति पूर्वाअञ्चल क्षेत्रिय अध्यक्ष शतिषचन्द्र झाको सुझाव छ । विभिन्न सहयोगी संस्थाले हेरचाहका लागि लगेपनि शौचालय नै जान नसक्ने भन्दै फिर्ता ल्याइदिने गरेका छन् । यस्तो अपाङ्गता भएको परिवारलाई सरकारले नै जिम्मेवारी लिनु पर्ने अपाङ्ग सहयोग समितिको भनाई छ ।
ढुंगानाका यी पाँच सन्तान वाहेक अन्य तीन जना सवल रहेका छन् । उनीहरु आफ्नो घर चलाएर वसेका छन् ।
Via Source:- Purbeli Times

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...