सञ्चालकहरुको भागाभाग/पाँचजना पक्राउ
हिमाल दहाल
इटहरी/शाखा सञ्चालनको स्वीकृतिविना मेनपावर व्यवसाय सञ्चालन गरेको आरोपमा इटहरीबाट पाँचजना व्यवसायी पक्राउ परेका छन् भने एक दर्जनभन्दा बढी मेनपावरमा ताला लगाइएको छ ।
विनास्वीकृति व्यवसाय सञ्चालन गरेको आरोपमा पक्राउ पर्नेमा प्यासिफिक ओभरसिज प्रालिका एस शर्मा, भेरी–कर्णाली ओभरसिजका राम भट्टराई, इक्वेडर ओभरसिजका वीरेन्द्र थापा, सार्क ओभरसिजका शाखा व्यवस्थापक पवन दाहाल, सदीक्षा ओभरसिजका तुलसी अर्याल छन् ।
आइतबार इटहरीका मेनपावर व्यवसायी, श्रम विभागका प्रतिनिधि, प्रहरी र पत्रकारको संयुक्त टोलीले छानविन गरेको थियो । दिउँसो छानविन गर्ने सूचना पाएर इटहरीका आधा दर्जनभन्दा बढी मेनपावर सञ्चालक बिहानै कार्यालय बन्द गरेर हिँडेका थिए भने खुलेका मेनपावरका कार्यालयमा समेत शाखा सञ्चालकहरु थिएनन् । इटहरीस्थित गण्डकी ओभरसिज, सार्क ओभरसिज लगायत् केही मेनपावर कम्पनीले त कार्यालयको बोर्डसमेत बिहानै सेतो रङ्ग लगाएर मेट्न लगाएका थिए भने कतिले बोर्ड लुकाएका थिए ।
सङ्घले ताला लगाएका मेनपावरहरुमा त्रिकोण, इसीएस मेनपावर, फ्युचर इम्प्लोइमेन्ट , प्यासिफिक, भेरी–कर्णाली, सदीक्षा, इक्वेडर, सार्क, कन्काई जब प्लेसमेन्ट, लालधनुष प्रालि, एसओएस मेनपावर, अल सन्डोज, चाँदनी, रोज, सुनेरा मेनपावर, नवील, सिग्मा ओभरसिजलगायत् छन् । शाखा खोल्ने इजाजतपत्रविना राजधानीमा प्रधान कार्यालय रहेका ती मेनपावर कम्पनीको नाममा इटहरीमा कारोबार गरिँदै आएको थियो ।
विनाइजाजतका मेनपावरका कारण आफ्नो व्यवसाय सङ्कटमा परेको भन्दै व्यवसायीले इटहरीका डेढ दर्जन मेनपावरको कागजपत्र जाँच गरेका थिए । तीमध्ये केहीको कागजपत्र भेटिए पनि अधिकांश मेनपावर अवैधानिक तरिकाले शाखा खोलेर सञ्चालन गरिएको पाइएको थियो । मेनपावरहरुले सेवाग्राही झुक्याउन स्वीकृति पाएको मेनपावरको प्रमाणपत्रको फोटोकपी टाँसेर अर्कै नामको बोर्ड कार्यालयमा राखेका थिए । इटहरीस्थित त्रिकोण इन्टरनेशनलको बोर्ड राखेर कार्यालय कक्षमा भने प्याराडाइज इन्टरनेशनलको प्रमाणपत्र राखिएको पाइएको थियो । मेनपावर व्यवसायीले मानिस झुक्याउन नक्कली प्रमाणपत्र झुण्ड्याउने गरेको सङ्घका प्रेम राना मगरले जनाए । छानविनको क्रममा श्रम मन्त्रालयको स्वीकृतिपत्र भए नभएको जाँच गरिएको थियो ।
स्वीकृति पाएको प्रमाणपत्र बुझाउन एक साताको समय दिइएकोमा सो अवधिभित्र पनि कागजात पेश नगरेका मेनपावरलाई बन्द गरिएको सङ्घका अध्यक्ष हेमन्त सिटौलाले जनाए । दर्ता नभएका संस्थाका कारण आफ्नो व्यवसाय सङ्कटमा परेको र दर्ता गराउनको लागि बारम्बार ताकेता गर्दासमेत नगरेपछि आफूहरु बाध्य भएर कारवाहीमा उत्रिएको उनले बताए । सिटौलाले भने, ‘गैरकानुनी तरिकाले सञ्चालित मेनपावरहरु बन्द हुनुपर्छ ।’
मेनपावरका ती शाखाले दर्ता गरेर कानुनी प्रक्रिया पूरा गरेपछि मात्र सञ्चालन गर्न दिइने उनको भनाइ छ । इटहरीमा पाँच दर्जनको संख्यामा मेनपावरहरु रहेकामा तीमध्ये डेढ दर्जन मेनपावर स्वीकृतिविना सञ्चालनमा छन् । इटहरीबाट थालिएको अभियान सुनसरीका धरान, इनरुवामा समेत सञ्चालन हुने दावी व्यवसायीहरुको छ ।
मेनपावरको शाखा खोल्न श्रम विभागबाटै स्वीकृति लिनुपर्ने प्रावधान भए पनि मेनपावरहरुले केन्द्रीय कार्यालयले दिएको प्रमाणपत्रको आधारमा मात्र व्यवसाय गर्दै आएको बताइएको छ । काठमाडौंमा केन्द्रीय कार्यालय रहेका मेनपावरको अवैधानिक तरिकाले शाखा खोल्ने काम बढेकाले मेनपावर व्यवसायमा समस्या देखिएको जनाइएको छ । यसैगरी सम्पर्क कार्यालय भनेर व्यवसाय सञ्चालन गर्ने मेनपावर कम्पनीहरुसँग एजेन्टको प्रमाणपत्र नभएको समेत सङ्घले जनाएको छ ।
आधा दर्जन मेनपावरमा सङ्घले ताला लगाएपछि ती मेनपावरमार्फत् विदेश जाने तयारीमा रहेका सेवाग्राहीलाई सङ्घकै समन्वयमा विदेश पठाइने सिटौलाले जनाए । डेढ दर्जन कार्यालयबाट एक सयजनाको हाराहारीमा सेवाग्राहीहरु वैदेशिक रोजगारीमा जाने प्रक्रियामा रहेकाले उनीहरुलाई समस्या हुन नदिन सङ्घले व्यवस्था गर्ने उनले जनाए ।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...