बालजित राई
‘नाइट चेस क्लब स्थापना भएको पनि १२ वर्ष भएछ । बालाजित ! यो संस्था २५ वर्षको हुँदा को बाँचिन्छ को मरिन्छ, हामी बाँच्नेहरुले मेचीनगर नै उज्यालो हुने गरी यसको सिल्भर जुब्ली धुमधामले मनाउनुपर्छ है’ नाइट चेस क्लबका संस्थापक अध्यक्ष अरुणकुमार श्रेष्ठले म नाइट चेस क्लबको अध्यक्ष भएपछि कार्यालयमा नै आएर धेरैपटक भन्नुभएको यो कुरा सम्झँदा मेरा आँखा रसाउँछन् ।
पर्यटन बोर्डको चौरीमा बसेर उहाँसँग चेस खेल्दै गर्दा १२ वर्षअघि नाइट चेस क्लव खोल्ने सोच बन्यो । संस्था दर्ता गर्न जाँदा तत्कालीन सी.डी.ओ.ले नाइट चियर्स क्लव (Night Chess Club) भन्ने ठानेर राति सुरक्षा दिन गाह्रो हुने बारेमा कुरा गर्दा अरुणजी र म पेट मिचीमिची हाँस्यौँ । Night Chess Club भनेर उनलाई बुझाउनु पर्दाको क्षण आज सम्झिरहेछु ।
अतीतका कुरा गर्दा म आफैँलाई यदाकदा मैले बोलेका र लेखेका यी कुराहरु गलत वा काल्पनिक हुन् कि जस्तो लागिरहेछ । यद्यपि मेरो आत्मीय मित्र स्वर्गीय अरुणकुमार श्रेष्ठसँगको मेरो मित्रताको सन्दर्भमा म केही स्मरण गर्न चाहन्छु । उमेरको यकिन नभए पनि मलाई थाहा छ, म काँकरभिट्टा स्कुलको कक्षा ३ मा अध्ययनरत थिएँ । अरुणजी र म एकै बेन्चमा बसेर अध्ययन गथ्र्यौँ । म पढाइमा अलिक कमजोर थिएँ भने उहाँ तेज हुनुहुन्थ्यो । म खेलकुदमा ज्यादै चाख राख्थेँ र अरुणजी पनि मेरो साथमा खेलकुदमा गम्भीर चाख देखाउनुहुन्थ्यो । यसै सन्दर्भमा काँकरभिट्टामा पहिलो पटक क्रिकेटको जन्म भयो अथवा हामी क्रिकेट खेलमा भित्रियौँ तर त्यस खेलभन्दा पहिला हामी फुटबलप्रेमी र फुटबल खेलाडी नै थियौँ । सँगसँगै एकसाथमा फुटबल खेल्थ्यौँ । बिस्तारै काँकरभिट्टामा क्रिकेट अनि लङ टेनिस पनि भित्रियो, यसका निम्ति हाम्रो संयुक्त प्रयास निक्कै ठूलो थियो ।

गत सालको कुरा हो, काठमाडौँमा नेपाल जेसीजको कार्यक्रम थियो । अरुणजी, भाउजू र उहाँको छोरा अनि म, मेरी श्रीमती र छोरी उहाँकै गाडीमा काठमाडौँ जाने हाम्रो सल्लाह थियो । तर, आकस्मिक रुपमा अरुणजी समयभन्दा २ दिन अगाडि नै काठमाडौँ जानुपर्ने भयो र उहाँ भद्रपुर एयरपोर्टबाट प्लेनमा जानुभयो । त्यसपश्चात् उहाँको परिवार लगायत मेरो परिवारलाई लिएर म आफैँ उहाँको गाडी ड्राइभिङ गर्दै काठमाडौँ पुगेँ । हामी दुई मित्रबीचको आफ्नो परिवारलाई घुमाउने सरसल्लाह अनुसार पोखरा, पाल्पा, तनहुँ, लम्जुङ हुँदै महेन्द्रनगर पुगियो । बाटोमा फर्कँदै गर्दा चितवनमा बस्ने विचार ग¥यौँ । जुन रिसोर्टमा हामी बस्यौँ, त्यो हाम्रा प्रिय मित्र चितवन जेसीजका अध्यक्ष सरोजजीको रहेछ, जो दुर्घटनामा अरुणजीको मृत्यु हुँदा उहाँकै गाडीमा अगाडि सँगै बसेर काकरभिट्टा आउँदैहुनुहुन्थ्यो ।
नेपाल जेसीजको २०११ को कन्भेन्सन वास्तवमै मेरा निम्ति खल्लो भयो किनभने बाल्यकालदेखिको आफ्नो आत्मीय मित्र सदाका लागि गुमाउनुप¥यो, त्यो मेरो निम्ति ठूलो दुर्भाग्य बन्योे । म अनि अरुणजी एकसाथमा नै खेल्यौँ, हुक्र्यौँ अनि एकैसाथ कक्षामा पढ्यौँ पनि । जेसीजमा लाग्दा होस्, नाइट चेस क्लबमा होस्, रोटरी इन्टरनेशनलमा रहँदा होस्, उहाँ र म सँगै थियौँ । उहाँको फेसबुकमा राखिएका प्रायः सबैजसो तस्विरहरु मैले नै खिचेका हुन् । मेरो कहिलेकाहीँ उहाँसँग मत भिन्नता हुन्थ्यो, तर मात्र विचारको निम्ति । जब समस्या आउँछ, तब हामीबीच एक हुने प्रवृत्ति पनि थियो । त्यसैले होला हामी बीचको सम्बन्धलाई हेर्ने अरुको दृष्टिकोण फरक थियो ।
जेसीजमा संलग्न भएकै कारणले हामी दुइलाई १ महिनाको अन्तरमा २००७ मा जापान जाने र जेसीजको कार्यक्रममा सहभागी हुने अवसर प्राप्त भयो । मेरो उहाँसंगको मलेसिया, थाइल्याण्ड, सिङ्गापुर यात्रा अझै अविस्मरणीय रहेको छ । उहाँ थाइल्याण्ड जाँदा उहाँकी श्रीमतीले केही सरसामान मगाउनुभएको रहेछ । हामीलाई ती सामानको नाम थाहा थिएन । हामी ठूलो अलमलमा प¥यौँ । पहिलोपल्ट थाइल्याण्ड जाँदा मैले चिनेका मेरा थाइ साथीहरुको सहयोगबाट मात्र हामी ती सामान किन्न सफल भयौँ । त्यहाँको यात्रामा मैले मेरा पुराना थाइ साथीहरुलाई अरुणजीसँग परिचय गराइनँ, अरुणजीले भने मैले कन्जुस्याइँ गरेको ठान्नुभएछ र भित्रभित्रै रिसाउनु पनि भएछ । वास्तवमा मैले भन्नुपर्दा ती थाइल्याण्डका मेरा साथीहरु भनेका एकदम मिलनसार थिए तर अरुणजी साह्रै अन्तर्मुखी र गम्भीर स्वभावको हुनुहुन्थ्यो । त्यसकारण पनि मैले उहाँहरुबीच परिचय गराउन सकेको थिइनँ ।
भ्रमण त हामीले भारत र नेपालका विभिन्न ठाउँमा पनि एकसाथ गरि नै सकेका थियौँ । स्कुल, खेलकुद, सामाजिक सङ्घ–संस्था, राजनीतिक पार्टीमा हामी एकसाथ भएर हिँडेका थियौँ । जीवनका थुप्रै मोडहरुमा धेरै कुरा हामी बीचमा आदानप्रदान भएकै थिए । नाइट चेस क्लबले कसैलाई बधाइ–शुभकामना दिन वा कसैको मृत्युमा श्रद्धाञ्जलि दिन जुन पत्र तयार गथ्र्यो, त्यसको डिजाइन अरुणजीले नै गरेर कम्प्युटरमा राखिदिनुभएको थियो । हामी आवश्यक कुरा परिवर्तन गरेर त्यसैलाई प्रिन्ट गथ्र्यौँ । अरुणजीलाई श्रद्धाञ्जलि चढाउन उहाँले नै डिजाइन गरेको पत्र बोकेर उहाँको घर जाँदा वास्तवमा म मन थाम्न सकिरहेको थिइनँ । सबै कुरा यस लेखमा राख्न सकिन्न । उहाँको मात्र एउटै महान् विशेषता थियो– सकारात्मक सोच अथवा उहाँ एयकष्तष्खभ तजष्लपष्लन को बारेमा कुरा गरिरहनु हुन्थ्यो । म अलिक फरक विचारको थिएँ, मलाई आज यस अवस्थामा ल्याउने असल मित्र उहाँ नै हुनुहुन्छ । खोइ किन हो थाहा छैन, तर अरुणजीसँगको सहयात्रामा अरुको भन्दा मेरो बढी निकटता थियो कि जस्तो पनि लागिरहेको छ ।
हुन त भोलिको दिन कसले पो देखेको छ र ? आज अरुणजीको सम्झना मात्र रह्यो भोलि कसको के होला ? तापनि म यस काँकरभिट्टा, मेचीनगर अनि जिल्लाबासीहरुमा एउटै कुरा भन्न चाहन्छु– लेख्ने कलमको मसी सकिन सक्छ, लेखिने कापी सकिन सक्छ, लेख्ने हातै नरहन सक्छ तर सबैका आफन्त, सामाजिक, सहयोगी, हितैसी बन्न अरुणजीबाट अथवा अब लेखिने उहाँको जीवनीबाट सिक्नुपर्छ । अन्तमा त्यो अमर आत्मालाई श्रद्धाञ्जलि, शोकाकुल परिवार–आफन्त र शुभचिन्तकहरुमा गहिरो समवेदना व्यक्त गर्दछु ।
लेखक नाईट चेस क्लवका अध्यक्ष हुन् ।
झापाको जनसंसदमा पुष २९ गते प्रकाशित भएको विचार जस्ताको जस्तै
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...