पूर्वाञ्चलका स्वास्थ्य केन्द्र लथालिङ्ग

 विराटनगर, माघ २- चिसोसँगै बढेको शीतलहरले बिरामीको भीड बढे पनि पूर्वी नेपालका अधिकांश स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मी छैनन्। पूर्वाञ्चलका १७ मेडिकल सुपरिटेन्डेट (मेसु) मध्ये ९ दरबन्दी अझै रिक्त छ। 
बिरामीको भीड हुने मेची अञ्चल अस्पताल भद्रपुर, सगरमाथा अञ्चल अस्पताल राजविराज र जिल्ला अस्पताल धनकुटामा समेत मेसु छैनन्। क्षेत्रीय स्वास्थ्य निर्देशनालय धनकुटाका अनुसार पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, पाँचथर, सोलुखुम्बु, ओखलढुंगा र भोजपुर अस्पतालमा मेसुको दरबन्दी लामो समयदेखि खाली छ। पूर्वाञ्चलका स्वास्थ्य केन्द्रमा मेसुदेखि मातृ शिशु कार्यकर्तासम्म ६ सय ८५ कर्मचारीको अभाव छ। 

स्वास्थ्यकर्मीकै अभावमा इलामको जिल्ला अस्पतालका तीन चिकित्सक दरबन्दीमध्ये दुईजना अध्ययन बिदामा बसेका छन् भने प्याङ प्राथमिक स्वास्थ्य केन्द्रमा करारमा रहेका डा. बासु बास्कोटा काजमा खटिइएपछि त्यो स्वास्थ्य केन्द्रमा उपचारै रोकिएको छ। इलाममा एक जिल्ला अस्पताल, चार प्राथमिक स्वास्थ्य केन्द्र, ६ स्वास्थ्य चौकी र ३८ उपस्वास्थ्य चौकी छन्। इलामकै फिक्कल प्रास्वाकेका चिकित्सक पनि अध्ययन विदामा बसिदिँदा त्यहाँका बिरामी अन्यत्र उपचार गराउन बाध्य छन्। 
झापाको धुलाबारी, शनिश्चरे, शिवगन्ज, खजुरगाछी, सुरुंगा र बनियानी प्राथमिक स्वास्थ्य केन्द्र पनि डाक्टर छैनन्। डाक्टर नहुँदा ती स्वास्थ्य केन्द्रहरु लामो समयदेखि सहायकको भरमा चलेका छन्। 'दरबन्दी छ, डाक्टर छैनन्,' जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख योगेन्द्रप्रसाद भगतले भने, ‘चिकित्सकको अभावमा बिरामीलाई सेवा दिन सकिएको छैन।' 

झापाको धुलाबारी स्वास्थ्य केन्द्रमा दुई वर्षदेखि प्रमुखविहीन छ। तत्कालीन प्रमुख डा. खगेन्द्र दाहालले २ वर्षअघि राजीनामा गरेपछि त्यहाँ अर्का चिकित्सक आइपुगेका छैनन्। पूर्वोत्तर झापाको मेचीनगर नगरपालिकासहित बाहुनडाँगी, शान्तिनगर, बुधबारे, धाइजन र दक्षिण इलामका हजारौं बिरामी उपचारका लागि आउने मुख्य थलो यही हो। 

अर्जुनधारा, खुदुनाबारी, शनिश्चरे लगायतका बिरामीले सेवा लिने शनिश्चरे केन्द्रका प्रमुख डा. दिनेश संग्रौला पनि ३ महिनाअघि अमेरिका गएपछि केन्द्रमा आउने बिरामीलाई अहेव र नर्सले उपचार गरिरहेको छ। खजुरगाछीका प्रमुख डा. रविन्द्र बास्कोटा डेढ वर्षदेखि अनुपस्थित छन्। दक्षिण झापाका कारोबारी, गौरीगन्ज, जुरोपानी, कोहबरा लगायत आधा दर्जन गाविसका नागरिकले त्यही केन्द्रबाट सेवा लिने गरेका छन्।

शरणामती, टाँघनडुब्बा, सुरुंगा क्षेत्रका सर्वसाधारणको उपचार थलो सुरुंगा स्वास्थ्य केन्द्र पनि डाक्टरविहीन छ। केन्द्रका प्रमुख डा. योगेन्द्र गुप्ता ५ महिनादेखि अनुपस्थित छन्। पृथ्वीनगर, घेराबारी, केचना, बनियानी क्षेत्रको स्वास्थ्य केन्द्र बनियानीका डा. प्रकाश कँडेल पनि ४ महिनादेखि गयल छन्। प्रमुख नहुँदा डाक्टरको सेवा लिन आउनेहरु सहायकको भर पर्न बाध्य छन्। 

सरुवा भएका स्वास्थ्यकर्मीहरु पनि राजनीति शक्तिको आडमा पायककै जिल्लामा काजमा बसिदिँदा समेत दरबन्दी अनुसारको पदपूर्तिमा समस्या परेको क्षेत्रीय स्वास्थ्य निर्देशनालयका एक अधिकारीले बताए।
सुनसरी जिल्ला स्वास्थ्य कार्यालयबाट १० महिनाअघि धनकुटाको आहा स्वास्थ्य चौकी सरुवा भएका हेल्थ अस्सिटेन्ट शिवनारायण यादव र इलामको लुरिङटार स्वास्थ्य चौकी सरुवा भएका रामचरित्र मेहता राजनीति शक्तिकै आडमा जिल्ला नछाड्दा चिकित्सकको अभाव झेल्दै आएका ती दुवै जिल्लाको समस्या उस्तै छ भने सुनसरीमा विना कामको स्वास्थ्यकर्मी थुप्रिएको छ। 

यादव र मेहता काजमा बसिदिँदा सुनसरी स्वास्थ्य कार्यालयका सिनियर अहेव अधिकृत राजनारायण मण्डल र हेल्थ अस्सिटेन्ट सुलोचन चौधरी जिम्मेवारीविहीन छन्। दरबन्दी सुनसरीको मधुवन प्राथमिक स्वास्थ्य केन्द्रमा भए पनि लेखा सहायक उमेश श्रेष्ठ जिल्ला स्वास्थ्यमै काजमा छन्। ‘काम परेका बेला हाकिमसाहेबलाई अलिअलि सघाए जस्तो गर्‍यो,' श्रेष्ठले नागरिकन्युजसँग भने, 'नत्र मस्तीले आफ्नै ढंगले बस्यो।' 

जिल्ला अस्पताल इलाममा एक ल्याब असिस्टेन्ट र एक तथ्यांक सहायकको दरबन्दी खाली छ। प्राथमिक स्वास्थ्य केन्द्र मंगलबारे, सुलुवुङ, एकतप्पा र धुसेनी स्वास्थ्य चौकीमा अहेब छैनन्। जिल्लामा ८१ प्राथमिक स्वास्थ्य कार्यकर्ताको दरबन्दीमध्ये ११ खाली छ। ग्रामीण स्वास्थ्य कार्यकर्ताको १ सय २५ दरबन्दीमध्ये १८ खाली छ। 

पूर्वी पहाडी जिल्ला पाँचथरका फलैंचा, ओयाम, भारपा र हाङगुम उपस्वास्थ्य चौकीमा अहेव छैनन्। गोपेटारस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नियमित बस्दैनन्। जिल्लामा हेल्थ असिस्टेन्टको १५ दरबन्दीमध्ये २ खाली छ। पाँचथरमा अनमीको ३ दरबन्दी पनि खाली छ। जिल्ला अस्पतालमा १ मेडिकल सुपरिटेन्डेन्ट, १ रेडियोग्राफर र १ ल्याब असिस्टेन्टको दरबन्दी खाली छ। 

ताप्लेजुङमा स्वास्थ्य संस्थामा २ सय ४३ दरबन्दीमध्ये ६२ खाली छ। ताप्लेजुंङका ५० गाविसमध्ये २४ गाविसमा ग्रामीण स्वास्थ्य कार्यकर्ता छैनन्। ४३ उपस्वास्थ्य चौकीमध्ये २४ वटामा मात्र अहेव कार्यरत छन्। अन्य १९ उपस्वास्थ्य चौकी तल्लो तहका कर्मचारीले चलाइरहेका छन्। जिल्ला स्वास्थ्य कार्यालय ताप्लेजुङका तथ्यांक सहायक ईश्वरीप्रसाद पौडेलका अनुसार जिल्लाका ३ प्राथमिक स्वास्थ्य केन्द्रमा ३ महिला स्वास्थ्य कार्यकर्ता, ४ अनमी, ३ स्टाफ नर्स र २ स्वास्थ्य सहायक वा वरिष्ठ अहेवको दरबन्दी खाली छ।

स्वास्थ्य कार्यालय ताप्लेजुङका प्रशासन प्रमुख डिल्लीरमण पौडेलले दरबन्दी अपुग बारे क्षेत्र र केन्द्रलाई जानकारी गराएपनि अहिलेसम्म पदपूर्ति नभएको बताए। स्वास्थ्यकर्मी खटिएका केन्द्रमा पनि बिरामीले उपचार पाएका छैनन्। 'उपचारका लागि स्वास्थ्य केन्द्रमा जाँदा दिउँसोसम्म स्वास्थ्यकर्मी आइपुगेकै हुँदैनन्,' सुनसरी बबिया-७ की सुनिता मेहताले भनिन्, 'अबेरतिर जाँदा उनीहरु हिँडिसकेका हुन्छन्।'
झापा जनस्वास्थ्य कार्यालयका प्रमुख भगतका अनुसार कोटामा पढ्ने विद्यार्थी स्वास्थ्य केन्द्रको प्रमुख बनेर आउने र थोरै समयको बसाइपछि पढ्न बाहिर जाने गरेकाले स्वास्थ्य केन्द्रहरु चिकित्सकविहीन बनेका हुन्। चिकित्सक निर्देशिकामा स्वास्थ्य केन्द्रमा खटिएपछि डाक्टरले कम्तीमा २ वर्षसम्म सेवा दिनुपर्ने प्रावधान पालना गरेका छैनन्। त्यसको प्रत्यक्ष मार बिरामीलाई परेको छ। 

मोरङको झुकिया, कटहरी, अमाही, मंगलबारे प्राथमिक स्वास्थ्य केन्द्रमा अहेव छैनन्। सिंहदेवी, टाँडी, सिजुवा, मझारे, होक्लाबारी, बाहुनी, झुकियामा ग्रामिण स्वास्थ्य कार्यकर्ता पनि छैन। मोरङको झुकिया प्राथमिक स्वास्थ्य केन्द्र ८ वर्षदेखि स्वयंमसेविकाको भरमा चल्दैछ। आसपासका ६ गाविसका बासिन्दाको उपचार गराउने थलो झुकिया हो।
Source:- nagariknews

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...