गत वर्षो विनाशकारी भूकम्पले निम्त्याएको अराजकतासँगै हैटीमा सयौं महिला तथा बालिका यौन दुराचारको सिकार भएको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ ।
एम्नेस्टीले जारी गरेको रिपोर्टमा भूकम्पपछि स्थापना गरिएका क्याम्पहरूमा हतियारधारी समूहहरू महिलाको बलात्कारमा लागेको बताइएको छ । 'शिविरहरूमा सुरक्षा छैन र प्रहरी पनि उदासीन छन्,' रिपोर्टमा भनिएको छ ।
अर्की एक महिलाले आफू र एकजना साथीलाई छोराछोरीकै अगाडि बलात्कार गरेको बताइन् । 'शिविरका महिला र बालिकाहरू विशेष गरी जोखिममा बाँचिरहेका छन्, किनभने त्यहाँ हमलाकारीबाट बच्न पर्याप्त सुरक्षा छैन,' रिपोर्टका लेखक जेरार्र्डो डुकोसले बीबीसी विश्व सेवासँग भने ।
'रातिको समयमा हतियारधारी युवाको समूह चक्कु र ब्लेडले टेन्ट च्यातेर पस्छन् र त्यहाँ भेटिएका जोकोही महिलालाई बलात्कार गर्छन्,' डुकोसले भने । एक युवतीले बीबीसीका माइक थोमसोमसँग आफू सुत्केरी हुनेबित्तिकै बलात्कृत भएको बताइन् । 'म रोएँ, चिच्याएँ तर कोही पनि आएन, त्यहाँ कोही पनि थिएन,' उनले भनिन्, 'सकेपछि उनीहरूले मलाई यति पिटे कि तपाईं मेरो छाला र घुँडामा दागहरू देख्न सक्नुहुन्छ ।' त्यसपछि, छोरीको हेरचाह गर्न आफू अर्समर्थ भएको
उनले बताइन् ।
'मभित्रको दूधमा विष मिसिएको जस्तो अनुभव भयो,' उनले भनिन्, 'त्यसैले, मैले बच्चालाई दूध खुवाउनै छाडें । हरेक रात मेरा लागि यातना भयो ।' आफ्ना शोधमार्फ एम्नेस्टी इन्टरनेसनललाई सहयोग गरिरहेको कोफाभिभ नामक एक समूहले चार पाँच वर्षा बच्चाहरूमाथि आक्रमण गरिएको खबरहरू पनि आएको जनाएको छ ।
'यी अधिकांश अपराधहरू दण्डहीन भएर सकिन्छन्,' डुकोसले भने । उनले यौन हिंसा र बलात्कार गर्नेहरू दण्डमुक्त हुने प्रवृत्ति भूकम्पभन्दा अघि पनि फैलिएको बताए ।
तर, आक्रमणकारीहरू दण्डविनै छुटिरहेका छन्, किनभने प्रकोपपछि हैटीको न्याय प्रणाली टुक्रिएको छ र प्रहरीसँग जनशक्तिको अभाव छ ।
'अधिकांश महिलाहरूले आफूहरू उजुरी गर्न प्रहरीकोमा नगएको बताए, किनभने उनीहरू यसको गर्नुको कुनै अर्थ नहुने ठान्छन्,' डुकोसले भने । भूकम्पको पहिलो ६ महिनामा कम्तीमा पनि दुई सय ५० बलात्कारका घटना दर्ता भएका छन् । र, यो क्रम अझै पनि रोकिएको छैन ।
एम्नेस्टीले हैटीको नयाँ सरकारसँग पोर्ट-औ-प्रिन्स पुनर्निर्माण नभएसम्म शिविरमा बसोबास गर्ने महिला र बालिकामाथि बढिरहेको खतरामा कमी ल्याउन आवश्यक कदम चाल्न आह्वान गरिरहेको छ ।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...