संयोजकबाट प्रचण्डको राजीनामा उच्चस्तरीय कार्यदल विघटन

काठमाडौं,  पुस 
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले संविधान निर्माणसम्बन्धी विवाद मिलाउन गठित उच्चस्तरीय कार्यदलको संयोजकबाट राजीनामा दिएका छन् । 
सोमबार बसेको २७ दलको बैठकमा उनले राजीनामा दिएका हुन् । 
प्रचण्डको राजीनामासँगै गत २५ असोजमा गठित कार्यदल विघटन भएको छ । आफ्नै पार्टी चर्को दबाब आएपछि उनले संयोजकबाट राजीनामा दिएका हुन् । 
यसअघि बिहान बसेको माओवादी स्थायी कमिटी बैठकले कार्यदलको म्याद नथप्ने निर्णय लिएको थियो । 
'कार्यदलले अत्यधिकमात्रामा अन्तरवस्तुलाई हटाइसकेको छ, संविधान निर्माण गर्ने आधार तयार भएको छ, दलहरू गम्भीर बने संविधान निर्माण गर्न सकिन्छ, अब औपचारिक संस्थालाई अगाडि  बढाउनुपर्छ ,' उनले भने । 
सभाध्यक्ष नेम्वाङले २७ दलको संयन्त्र क्रियाशील रहने भएकाले त्यसले आवश्यक ठानेमा कार्यदल बन्न सक्ने बताए ।  
२७ दलबीच ८३ ओटा विवादलाई अन्त्य गर्नका लागि संवैधानिक समितिको नियमावली परिवर्तन गर्ने विषयमा सहमति भएको छ । यसअघि प्रमुख तीन दल माओवादी, कांग्रेस र एमालेबीच संवैधानिक समितिको नियमावली संशोधन गर्ने सहमति भएको थियो । 'नियमावली संशोधन गरी विवाद मिलाउने जिम्मा पनि संवैधानिक समितिलाई दिइने छ,' सभाध्यक्ष नेम्वाङले भने । संविधानसभा नियमावलीमा संविधानसभाले विवाद मिलाइसकेपछि मात्र संवैधानिक समितिमा मस्यौदा तयार गर्नका लागि प्रतिवेदन पठाउनुपर्ने व्यवस्था छ ।
प्राकृतिक स्रोत, आर्थिक अधिकार तथा राजस्व बाँडफाँट समिति, अल्पसंख्यक तथा सीमान्तीकृत समुदायको अधिकार संरक्षण समिति र संवैधानिक निकायको संरचना निर्धारण समितिको प्रतिवेदन संवैधानिक समितिमा पुगिसकेको छ । बाँकी सात समितिहरू राष्ट्रिय हितको संरक्षण समिति, व्यवस्थापकीय अंगको स्वरूप निर्धारण समिति, न्यायप्रणाली समिति, राज्यको शासकीय स्वरूप निर्धारण समिति, मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समिति, सांस्कृतिक र सामाजिक ऐक्यबद्धताको आधार निर्धारण समिति र संवैधानिक समितिका दर्ुइ सय २७ मुद्दामा सहमति बनेको थियो ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...