अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यकारी अध्यक्ष र उच्च अधिकारीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेपछि नेपाल वायुसेवा निगमका कर्मचारीहरूले प्रतिरोधस्वरुप आन्तरिक उडान अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेका छन् । १३ दिनदेखि तीनसूत्रीय माग राख्दै आन्तरिक उडान ठप्प पार्दै आएका कर्मचारीले अख्तियारको कदमले आफ्ना माग ओझेलमा पारेको भन्दै यस्तो निर्णय गरेका हुन् ।
निगममा कार्यरत कर्मचारीका तीन वटै संगठनले अख्तियारको कारबाहीलाई ‘प्रतिशोधपूर्ण’ भन्दै यसले जहाज खरिदको बाटो बन्द भएको निष्कर्ष निकालेका छन् ।
निगममा कार्यरत कर्मचारी युनियन, पाइलट एसोसियसन र अन्य प्राविधिक कर्मचारीहरूले समेत आन्तरिक उडान बन्द गर्ने कदममा साथ दिएका छन् । कंसाकार र अन्य उच्च तहका कर्मचारीमाथिको मुद्दा हवाई माफियाको इसारामा भएको उनीहरूको ठहर छ । “हामीले निगमलाई नयाँ जहाज किन्न नदिने षडयन्त्रको उपजका रूपमा यो मुद्दालाई बुझेका छौं,” कर्मचारी संघका अध्यक्ष तारणी दाहालले भने ।
तत्काल नयाँ जहाज किन्नुपर्ने, एयर अरेबियालाई दिइएको काठमाडौं–क्वालालम्पुर उडान अनुमति रद्द गर्नुपर्ने र कार्यकारीको विवाद अन्त्य गर्नुपर्ने माग राखेर कर्मचारीले मंसिर २८ देखि आन्तरिक उडान बन्द गराएका थिए । गतसाता पर्यटनमन्त्री शरत्सिंह भण्डारीसँगको वार्तापछि उनीहरूले शुक्रबारदेखि उडान सुचारु हुने बताएका थिए ।
निगम कर्मचारी युनियनका अध्यक्ष राजनप्रसाद उप्रेतीले शुक्रबार साँझसम्म पनि मन्त्रालयबाट पत्र प्राप्त नभएकाले बन्द अनिश्चितकालसम्मका लागि बढाउन आफूहरू बाध्य भएको बताए । उनका अनुसार मन्त्री भण्डारीले आफ्ना माग पूरा गर्ने प्रतिबद्धतासहितको पत्र शुक्रबार मध्याह्नसम्म पठाउने आश्वासन दिएका थिए ।
तीनै युनियनहरूले शुक्रबार अबेरसम्म पत्र नपाएपछि अनिश्चितकालीन बन्दको घोषणा गरेका हुन् । यसको औपचारिक जानकारी भने शनिबारमात्रै गराइएको नेवानि कर्मचारी संघका अध्यक्ष दाहालले बताए ।
“निगमका कार्यकारी अध्यक्षसहितका उच्च अधिकारीमाथिको मुद्दाले त झन् हाम्रा माग पूरा नहुने देख्यौं, त्यसैले दबाबस्वरुप बन्दलाई अनिश्चितकालसम्मका लागि लम्ब्यायौं,” कांग्रेसनिकट कर्मचारी युनियनका अध्यक्ष दाहालले कारोबारसँग भने ।
निगमसँग रहेका चार वटा ट्विनअटरमध्ये एउटा विराटनगर विमानस्थल र अन्य तीन वटा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै राखिएको जनाइएको छ ।
निगमले मुलुकका दुर्गम गन्तव्यमा उडान भर्दै आएको छ । दुर्गमका कतिपय विमानस्थलमा उडान भर्ने एकमात्र सरकारी विमान कम्पनीको उडान रद्द भएपछि आम सर्वसाधारण मर्कामा परेका छन् । निगमले हाल चार वटा ट्विनअटर जहाजमार्फत बझाङ, बाजुरा, भोजपुर, लामिडाँडा, फाप्लु, रुम्जाटार, ताप्लेजुङ, थामखर्क, तुम्लिङटार, चौरझारी, कागेलडाँडा, खानीडाँडा, लुक्ला, ताल्चा, मनाङ, जोमसोमलगायतका दुर्गम विमानस्थलमा समेत सेवा प्रवाह गर्दै आएको छ ।
१ हनार ४ सय १७ जना कर्मचारी रहेको निगममा आन्तरिक उडान सबै ठप्प भएपछि एकमात्र बोइङ ७५७ ले अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । निगमसँग रहेको अर्को जहाजको इन्जिनमा खराबी देखिएपछि मर्मतका लागि स्पेन पु¥याइएको थियो । स्पेनमा मर्मत भएको जहाजको मर्मत खर्च स्वीकृत गराउन दबाब दिँदै गतसाता कर्मचारीले व्यवस्थापन समितिका सदस्यहरूलाई निगमभित्रै थुनेका थिए । स्पेनमा मर्मत भएको जहाज अहिले सी–चेकमा पठाइएको छ ।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...