वनको आम्दानी नपाउँदा विद्यालय समस्यामा

भीम चापागाईं
इलाम, १० पुस
सरकारले वन पैदावार निकासीमा रोक लगाएपछि सामुदायिक वनको स्रोतबाट सञ्चालन भएका इलामका विद्यालय समस्यामा परेका छन् । वन पैदावारको बिक्री-वितरण र ओसारपसारमा रोक लगाएपछि जिल्लाको दक्षिणी गाविसका दर्जनौँ माध्यमिक र उच्च माध्यमिक विद्यालयलाई आर्थिक अभाव भएको छ ।
वनकै आर्थिक स्रोतबाट तलब दिएर राखिएका शिक्षक तथा कर्मचारीलाई तलब दिन नै समस्या भएको ती विद्यालयले जनाएका छन् । सामुदायिक वनबाट आम्दानी लिन नसकिएपछि विद्यालय मात्र नभई विकासका काम पनि अलपत्र परेको सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष ध्रुव श्रेष्ठले बताए
। 'सरकारले यही अवस्था सधैँ राख्ने हो भने यी विद्यालय केही समयमै बन्द हुने अवस्थामा पुग्दै छन्,' उनले भने, 'सामुदायिक वनले प्रक्रिया पूरा गरेर बिक्रीका लागि राखेका काठ र गोलिया पनि निकासी गर्न नपाउँदा करोडौँ रुपैयाँबराबरको नोक्सानी भएको छ ।'
सामुदायिक वनकै आम्दानीबाट इलामको दानाबारी गाविसमा मात्र गरुवा बहुमुखी क्याम्पस र उच्च मावि सञ्चालन भइरहेका छन् । दानाबारीका १९, महमाइका १५ र चिसापानीका ४ वटा विद्यालय स्थानीय सामुदायिक वनकै आम्दानीबाट सञ्चालन हुँदै आएका छन् । यस क्षेत्रका एक सय १५ वटा सामुदायिक वनको आम्दानी ठप्प भएपछि कतिपय विद्यालयमा सुरु भएको खेलमैदान निर्माणका काम पनि अलपत्र परेका छन् । सामुदायिक वनको आम्दानीले यहाँका विद्यालयलाई शैक्षिक र भौतिक सुविधा पुगेको थियो ।
ती गाविसका निजी स्रोतमा काम गर्ने ७६ मध्ये अधिकांश शिक्षकले तीन महिनायता तलब नै नपाएको विद्यालयले जनाएका छन् । सामुदायिक वनमा अनियमितता भएको भन्दै सरकारले गत असारदेखि मुलुकका २४ जिल्लाबाट वनपैदावर निकासीमा प्रतिबन्ध लगाएको थियो ।
Source:- Nayapatrika

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...