चारआली, / पूर्व पश्चिम राजमार्गका कल्भर्टहरुमाथि सवारी साधन गुडाइरहनु भएको छ या पैदल हिंडिरहनु भएको छ भने होशियार ! झापाका त्यस्ता कल्भर्टहरु एकपछि अर्को गर्दै भासिन थालेका छन् ।
लखनपुरको गेउरिया र मेचीनगरको ढुकुरे कल्भर्ट भासिँदा राजमार्गमा यातायात नै बन्द गर्नु परेको घटनाको चर्चा सेलाउन नपाउँदै मेचीनगर–२ नगरडुब्बास्थित पुल नजिकको कल्भर्ट धराप अवस्थामा पाइएको छ ।
भाँसिएको ढुकुरे कल्भर्टबाट अढाईसय मिटर पूर्व नगरडुब्बा कल्भर्ट माथिबाट हेर्दा भत्किन लागेको जस्तो देखिदैन । तर, कल्भर्टको भित्रीभाग निरीक्षण गर्दा कल्भर्टको आधार मानिने पर्खाल बीचमा पूरै धाँजा परेको पाइएको छ । कल्भर्टको पूर्वपट्टिको इँटाको पर्खालको कंक्रीट बीमसहित पर्खाल दुई ठाउँमा वारपार धाँजा फाटेको छ भने पश्चिमपट्टिको पर्खाल पनि चर्किएको छ ।
कल्भर्टको जोखिमपूर्ण अवस्थाबारे सम्बन्धित निकाय हालसम्म बेखबर छ । ‘कल्भर्ट कस्तो अवस्थामा छ भनेर आजसम्म हेर्न कोही आएका छैनन्’– स्थानीयवासी बताउँछन् । कल्भर्ट कुनै पनि बेला भासिन या भत्किन सक्ने भएकाले जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायको तत्काल ध्यानाकर्षण हुन जरुरी रहेको स्थानीयवासी बताउँछन्
राजमार्ग निर्माणसंगै बनाइएका चालीस बर्ष पुराना कल्भर्टहरुको उचित मर्मत सम्भारको खाँचो छ । तर, सरकारले यसका लागि हालसम्म कुनै कार्यक्रम ल्याएको छैन । भासिएका गेउरिया र ढुकुरे कल्भर्ट समेत पुनः निर्माण गरिएको छैन । त्यहाँ जोखिम मोलेर एकतर्फी यातायात चलाइने गरिएको छ ।

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...