सडक नै ढाकेर ट्याक्सी र रिक्सा पार्किङ

राजु अधिकारी झापा
विर्तामोडको मुख्य सडकमै पार्किङ गरी राखिएका ट्याक्सी र रिक्साले सडक साँघुरो बन्दै गएको छ । सवारी र पैदल यात्रुको चाप हुने बिर्तामोड–भद्रपुर सडकको दायाँ बायाँ दुवैतिर ट्याक्सी र रिक्सा पार्किङ गर्ने गरिएको छ । 
ट्याक्सी पार्किङका लागि नयाँ बसपार्कमा पर्याप्त स्थान छुट्याइएको छ। तर, बसपार्क सञ्चालनमा ाएको महिना दिन बित्दा पनि ट्याक्सी सञ्चालकले सडकमै पार्किङ जारी राखेका छन् । मुख्य चोकबाट बसपार्क टाढा भएको र ट्याक्सी खोज्ने यात्रु बसपार्कसम्म नपुग्ने व्यवसायीको तर्क छ । 
‘हामीले बसपार्क गएर के गर्नु ?’ एक ट्याक्सी चालकले भने, ‘यात्रु चोकमा हुन्छन् ट्याक्सी खोज्दै उनीहरु उता पुग्दैनन् ।’ 
यसअघि उनीहरुले बसपार्क सञ्चालन भएपछि सडकबाट सवारी हटाउने बताएका थिए । तर सर्वदलीय आह्वान र ट्राफिक प्रहरीको निर्देशनको
अवज्ञा गर्दै ट्याक्सी व्यावसायीहरुले सडकलाई नै पार्किङस्थल बनाएका हुन् ।
पार्किङ स्थलबारे टुंगो नभएको भन्दै रिक्साचालकहरुले पनि सडकमै रिक्सा राखने गरेका छन् । सडकको दुबै किनारलाई ट्याक्सी र रिक्साले पार्किङ थलो बनाएपछि डबल लेनको सडकमा ठूला सवारी साधन पार गर्न पालो पर्खनु पर्ने बाध्यता छ । 
बैंक र अन्य वित्तिय संस्था बढी भएको र सदरमुकाम आउजाउ गर्ने सडक भएको बिर्तामाड– भद्रपुर सडकमा सवारी र पैदल यात्रुको चाप हुन्छ । सडक किनार पार्किङले र सडकपेटी फुटपाथ पसलले ढाकेपछि पैदल यात्रु सडकबाटै हिँड्ने गरेका छन् । 
शनिश्चरे र इलाम रुटका ट्याक्सीले भने बसपार्कभित्रै पार्किङ थालेका छन् तर अत्यधिक संख्यामा रहेका भद्रपुर रुटका ट्याक्सीले मुख्य चाककै सडक किनारमा पार्किङ गर्ने गरेका छन् । 
ट्राफिक प्रहरीले सडकमा पार्किङ नगर्न निर्देशन दिएपनि अटेर गर्नेलाई कारबाही गर्ने गरेको छैन । 
‘बसपार्क सञ्चालनमा आउनसाथ सडकबाट पार्किङ हटाउन ट्याक्सी सञ्चालकहरुलाई निर्देशन दिएका हौं,’ जिल्ला ट्राफिक प्रहरी प्रमुख शान्तिराज कोइरालाले भने । पौने चार करोडको लागतमा बनेको सुविधायुक्त बसपार्क एक महिनअघिबाट सञ्चालनमा आएको छ । 

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...