ज्यामिरगढी र चन्द्रगढी जोड्ने पुल बन्ने भो अब !

ज्यामिरगढी  कात्तिक / ज्यामिरगढीबाट भद्रपुर र चन्द्रगढी जोड्ने हँडिया खोलामा पुल बन्ने भएपछि स्थानीय समुदाय आफ्नो ठाउँको मुहार फेरिने उत्साहले पुलकित छन् । साढे तीन दशक अघिदेखि स्थानीय समुदायले माग गरेको बहुप्रतिक्षित पुल यही वर्ष बन्ने भएपछि ज्यामिरगढीबासी उत्साही बनेका हुन् । 
मेचीनगर नगरपालिका र जिल्ला सदरमुकाम भद्रपुर–चन्द्रगढीलाई सोझो रुपमा जोड्ने शहीद मार्ग अन्तर्गतको यो पूल  निर्माण कार्य  यही चैत मसान्तभित्र पुरा हुँदैछ । ‘यहाँका जनताले २०३२ सालदेखि देखेको पूलको सपना यसवर्ष पूरा हुँदैछ’, हँडिया पूल निर्माण समितिका अध्यक्ष तारावीर कटुवाल भन्छन् ‘चैत मसान्तमा पूलको सबै संरचना निर्माण पुरा हुनेछ ।’ कटुवालका अनुसार १ सय तीन मिटर लामो पूलमा पाँच वटा पिल्लर रहनेछन् । हालसम्म ७५ प्रतिशत कार्य सकिएको पुल निर्माण धमाधम चलिरहेको छ ।
राष्ट्रिय योजना आयोगको योजनामा परेपछि निर्माण शुरु भएको पूल २ करोड २१ लाखको लागतमा बन्दैछ । २०६५ मंसिरदेखि निर्माण थालिएको पुल झण्डै दुई वर्षपछि पूरा हुँदा ज्यामिरगढी लगायत पूर्वोत्तर र दक्षिण पूर्वी झापाका हजारौं सर्वसाधारण लाभान्वित बन्नेछन् । 

पूल निर्माण समितिका अध्यक्ष कटुवालका अनुसार निर्माणाधिन पुल पुरा  भएपछि मेचीनगर,बाहुनडाँगी, शान्तिनगर,ज्यामिरगढी क्षेत्रको सदरमुकामसँगको मोटर बाटो सोझो हुनेछ । अहिले चन्द्रगढी–भद्रपुर पुग्न ती क्षेत्रका सर्वसाधारणले चारआली पुगेर अर्को साधनमा घुमाउरो बाटो प्रयोग गर्नु पर्ने बाध्यता छ । तर, पूल बनेपछि पूर्वोत्तर झापाका यात्रुले धुलाबारीबाट ज्यामिरगढी हुँदै सोझै सदरमुकाममा पहुँच स्थापित गर्नेछन् । धुलाबारीदेखि सदरमुकामको दुरी छ किलोमिटर छोट्टिने छ । एयरपोर्ट पुग्न पनि घुमाउरो बाटो प्रयोग गर्दै आएकाहरुले यही मार्गबाट सहजै पुग्न सक्नेछन् । यो सडकखण्डको तीन किलोमिटर भाग कालोपत्र भइसकेको छ । बाँकी भाग पनि यो वर्ष कालोपत्र  हुने सम्भावना भएको निर्माण समितिको विश्वास छ ।
हँडिया पुल धमाधम निर्माण हुन थालेपछि व्यावसायिक समृद्धिको प्रतिक्षामा रहेको ज्यामिरगढीमा जग्गाको भाऊ आकाशिएको छ । दुई वर्ष अघिसम्म ३० देखि ५० हजारसम्ममा खरिद गर्न सकिने एक कट्ठा जमिनको मूल्य अहिले पाँच लाख नाघेको छ । ‘अहिले जग्गाको भाऊ धेरै बढेको छ’,स्थानीयबासी मुरलीधर कोइराला भन्छन् ‘मलिलो र खेतीयोग्य जमिन प्रशस्त भएको गाउँ आवास क्षेत्रको रुपमा समेत विकसित हुँदै गएको छ ।’ गाविस कार्यालय स्रोतका अनुसार केही वर्षयता बसाँइ सरेर यहाँ आउनेको संख्या बढ्दैछ ।  
हँडिया पुलले  भद्रपुर, ज्यामिरगढी, धुलाबारी, शान्तिनगर हुँदै  इलामको हर्कटे जोड्ने प्रस्तावित कृषि सडकको सम्भावना समेत ब्यूँताएको छ । ‘पुल बनेपछि कृषि सडकको निर्माणमा दबाव सिर्जना हुनेछ’, निर्माण समितिका सदस्य गणेश कटुवाल  भन्छन् ‘यसले सम्भावनाका धेरै ढोकाहरु खोल्नेछ, जसले पूर्वोत्तर झापाको मुहार फेर्नसक्छ ।’ त्यसबाहेक भारतीय सामानको सहज आपूर्ति,पहाडी भेगमा उत्पादित कृषिजन्य उतपादनको पूर्वी झापामा सहज पहुँच लगायतका फाइदा पनि सँगै जोडिएका छन् ।  
पुलको कथा    
 दुईटा नगरको बीचमा रहेको ज्यामिरगढीको मुहार फेर्ने सम्भावना निहित भएको पुलको माग पञ्चायतकालदेखि नै भएको हो । तत्काल बन्ने सरकारी आश्वासन पटक पटक व्यक्त भएपनि यसले मूर्त रुप भने कहिल्यै पाएन । २०४६ पछिको बहुदलकालमा पनि पुल कथामै सिमित भयो । शाही कालमा त पुल निर्माणको चर्चासमेत सेलायो । त्यही क्रममा २०६४ फागुनमा भएको ज्यामिरगढीको आम भेलाले एमाले नेता रबिन कोइराला, कांग्रेस नेता तारावीर कटुवाल र समाजसेवी नरेश बर्मालाई राजधानी गएर पुलको पक्षमा ‘लविङ’गर्न म्यान्डेट दिएको थियो । उनीहरु तीनसहित  तत्कालीन मन्त्री नरेन्द्रविक्रम नेम्वाङ र काँग्रेस नेता केशवकुमार बुढाथोकी लगायतको प्रयासपछि यो पुल सरकारको ‘चाँडै बन्ने’ सूचीमा सूचीकृत भएको थियो ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...