लागुऔषध छाडेर समाजसेवामा

सतासीधाम, कात्तिक /  लागूऔषधको प्रयोग त्यागेर सामाजिक सेवामा अग्रसर हुनेहरु बढेका छन् । उनीहरु लागूऔषध प्रयोगकर्ताहरुलाई त्यसबाट मुक्त हुन रचनात्मक सन्देश दिँदै हिंड्न समेत थालेका छन् ।
यहाँको झिलझिले बजारमा आयोजित एक कार्यक्रममा उनीहरुले त्यस्तो आग्रह गरे । सन्देश डे केयर होम रिकोभरि झिलभिलेका अध्यक्ष भीमबहादुर थेबेले लागूऔषध प्रयोगले घर गाउँ समाज र देशलाई नराम्ररी असर पुर्याएको सुनाए । उनले भने–‘न त आफन्तले साथ दिए, न त गाउँ समाजले नै राम्रो दृष्टिकोणले हेरे ।’ उनले पैसा संगसंगै जीवन बर्बादीतिर धकेल्नुभन्दा समाज सेवामा लाग्नुको विकल्प धेरै राम्रो रहेको बताए । उनी जस्तै लागूऔषध त्यागेर व्यवसाय शुरु गरेका विशाल गिरीले नौलो जीवनको सुरुवातको महसूस गर्न थालेका छन् । उनी भन्छन्–‘प्रहरी संगसंगै लागेर पछिल्ला प्रयोगकर्तालाई निरुत्साहित गराउने जिम्मेवारी हाम्रो हो ।’ 

१२ बर्षसम्म लागूऔषधको संगत गरेर अघिल्लो बर्षदेखि बँगुरपालन व्यवसाय सुरु गरेका सतासीधाम –६ का अर्जुन गुरुङ पनि आफूलाई यतिबेला एक्लोपन नभएको बताउँछन् । उनी भन्छन्–‘यति राम्रो संसार हेर्ने मेरो चाहना काठमाडौंको यूथ भिजन लागूऔषध सुधार केन्द्रले पुर्याइदियो ।’
सतासीधाममा ३१ जना यूवाले लागू औषध छाडेर नयाँ जीवन सुरु गरेको रिकोभरि झिलझिलेका अध्यक्ष थेबेले बताए । उनका अनुसार चालु बर्षको अन्त्यसम्ममा सतासीधामलाई लागूऔषध मुक्त गराउन सन्देश डे केयर होम रिकोभरि झिलझिलेले विभिन्न रचनात्मक कार्यक्रम अघि सारेकोे छ । 
दमकको ह्याप्पी नेपालसंग सहकार्य गरेपछि झिलझिलेमा स्थापना भएको सो रिकोभरिको प्रभावले ५७ जना यूवा युवतील लागूऔषध त्यागेको बताइएको छ । 
सो कार्यक्रममा झिलझिले माविका प्रअ दीपक न्यौपाने, नेका सतासीधामका सभापति पर्शुराम ढुंगाना, क्रिएटीभ स्पोर्टिङ क्लवका पुण्यप्रकाश राई, झिलझिले बजार विकास समितिका अध्यक्ष कालीबहादुर लिम्बू, छिमेकी बचत तथा ऋण सहकारीका अध्यक्ष तीर्थबहादुर खड्काले उनीहरुलाई शुभकामना दिएका थिए ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...