नेपालीका घर उभ्याँउदै विदेशीहरु

राजु अधिकारी झापा मंसिर ७
अस्ट्रेलियाली चिकित्सक एलेक्स फ्लेक्चर एक सातायता बाँसको भाटा खुर्किरहेका भेटिन्छन् । स्वयंसेवकका रुपमा पहिलोपटक नेपाल आएका एलेक्ससँग उनका १३ साथी पनि छन् । उनीहरुको काम हो, नेपालीको घर बनाउने ।
आठ महिला र छ पुरुषसहितको अमेरिकी र अस्ट्रेलियाली टोली यसै साता मेचीनगर– ६ का पदम बराइलीको घर निर्माण पूरा गर्ने ध्याउन्नमा छ । ‘नयाँ काम गरिरहेका छौँ’, टाटी बुन्दै गरेका उनले भने, ‘ज्यादै रमाइलो लागिरहेको छ ।’
‘मानवताका लागि आवास कार्यक्रम’ मार्फत आएको टोलीमा चिकित्सक, पत्रकार, लेखक तथा विभिन्न कार्यालयका उच्च पदस्थ अधिकारी छन् । सवैका लागि यो काम नयाँ अनुभव बटुल्ने मौका बनेको छ । 

हरेक बिहान ८ बजे कार्यस्थलमा भेटिने विदेशी टोली दिउँसो १ बजेसम्म लगातार काममै खटिन्छ । ‘लन्च ब्रेक’ पछि ३ बजे कार्यस्थलमा आउने टोली साँझ ६ बजेसम्म घर निर्माणमा जुट्छ । काममा जुटेपछि गफगाफ वा अन्य वहानामा नभुल्ने उनीहरको शैलीले स्थानीयसमेत प्रभावित छन् । 
आप्mनो घर बनाउन त्यति टाढाका मान्छे आउलान् भन्ने उनले सोचेका पनि थिएनन् । ‘मैले त कहिल्यै सोचेको थिइँन,’ उनले भने, ‘मलाई भाग्यले साथ दिएको हो ।’ बिरानो ठाउँमा आएर कठोर शारीरिक श्रम गरिरहेका स्वयंसेवी पनि भाग्यमानी नै सम्झिन्छन् । ‘सकेसम्म छिटो काम सकेर सुन्दर घर बनाउने लक्ष्य छ,’ अस्ट्रेलियाली न्युज पोर्टलकी सामाजिक मामिला पत्रकार लिजा लेगमेनले भनिन्, ‘घर उपहारमा दिएर जाँदा हामीलाई ठूलो आत्मसन्तोष मिल्नेछ ।’
लिजा टोली संयोजक पनि हुन् । इमेलमार्फत मित्रता गाँसेका दुई देशका उनीहरुको गरिब मुलुकमा सेवामूलक काम गरेर बिदा मनाउने योजनामा ‘मानवताका लागि आवास’ संस्थाले साथ दिएको रहेछ । उनीहरुलार्य हातेमालो सेवा समूहले उनीहरुलाई झापा ल्याएको हो । 
‘हामीसँग धेरै थोक छ तर विश्वका धेरै मानिस बस्ने घरसमेत नभएर छटपटाइरहेका छन्’, पेसाले एक अमेरिकी कार्यालयकी लेखापाल बोनी फेन्टनले भनिन्, ‘उनीहरुलाई सघाउन हामी देश बाहिर निस्केका हौँ ।’

पत्रकार अधिकारी नागरिक दैनिकका झापा संवातदाता हुन् । 


No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...