कम्प्युटर एशोसिएशन अफ नेपाल (क्यान)ले सूचना प्रविधिको विकासका लागि नयाँ पाठयक्रम बनाउने भएको छ । सोका लागि क्यानले सरकारी र निजीक्षेत्रका विभिन्न व्यक्तिसँग छलफलको तयारी गरेको छ । 'सरकारी अधिकारी तथा सम्बन्धित निजीक्षेत्रका व्यक्तित्वहरूसँग छलफल गरी पाठयक्रम तयार गरिनेछ,' क्यानका महासचिव नारायण न्यौपानेले भने ।
क्यानका अनुसार अहिले देशभरमा सूचनाप्रविधिबारे शिक्षा दिने करीब ३८ ओटा कलेज छन् । यो सङ्ख्या सन् २००४ सम्ममा ५८ थियो । तर, पछिल्लो समयमा सूचनाप्रविधिको विकास हुन नसकेकाले पढ्ने विद्यार्थी र पढाउने कलेज घट्दो क्रममा छन् । त्यस्तै, सामान्य कम्प्युटर सिक्नेदेखि लिएर इञ्जिनीयरिङ शिक्षा लिने विद्यार्थीको सङ्ख्या अहिले २ हजारको हाराहारीमा रहेको छ । ६ वर्षअघिसम्म यो सङ्ख्या ५ हजारभन्दा बढी थियो । यसरी एकातिर वार्षिक रूपले विद्यार्थी घट्दै गएको अवस्था छ भने अर्कोतर्फ वार्षिक रूपमा दक्ष जनशक्तिको माग बढ्दै गएको छ । क्यानका अनुसार अहिले सूचनाप्रविधि बजारमा कुल दक्ष जनशक्ति मागको ३० प्रतिशतमात्र उत्पादन भइरहेको छ । आगामी दिनमा मागअनुसारको उत्पादन कसरी गर्ने र कसरी सूचनाप्रविधिको शिक्षा सबैमा पुर्याउने भन्नेबारे पनि कार्यक्रममा छलफल गरी आवश्यक योजना तयार पारिनेछ ।
दुई छिमेकी देश भारत र चीन सूचनाप्रविधिको विकासमा फड्को मारिरहेको अवस्थामा हामीले त्यसको फाइदा लिन नसक्दा आवश्यक विकास गर्न नसकेको न्यौपानेको भनाइ छ । 'चीनले हार्डवेयर र भारतले सफ्टवेयरमा तीव्र विकास गरिरहेको अवस्थामा हामीले ती देशबाट थोरै शिक्षा लिन सके पनि निकै ठूलो प्रगति गर्न सकिने न्यौपानेले बताए । नेपालमा अहिले सामान्य पाठयक्रमदेखि विशिष्ट पाठयक्रम पढाउने सङ्घसंस्थाहरू १ हजार ५ सयभन्दा बढी छन् । न्यौपानेले पाठयक्रम विकासले सरकारले शुरू गरेको 'ज्ञानमा आधारित समाज' निर्माणमा पनि सहयोग गर्नेछ । त्यस्तै, अहिलेको शिक्षा प्रणालीको पहुँच उच्च वर्गमा मात्रै भएकाले चाहना भएर पनि कम आयस्रोत हुनेहरूले पढ्न नपाएको न्यौपानेको भनाइ छ । त्यसकारण नयाँ बन्ने पाठयक्रमले यी सबै क्षेत्रलाई समेट्ने प्रयास गर्ने उनले बताए ।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...