मुक्ति पौडेल
काँकडभिट्टा/सीमावर्ती भारतीय बजारहरु लागूऔषध खरिद गर्न आउने नेपालीका लागि स्वर्गभूमिजत्तिकै भएका छन् । पान पसरदेखि मिठाई र औषधि पसलसम्म जताततै प्रतिबन्धित लागूऔषध उपलब्ध हुन्छन् ।
नेपालमा प्रतिबन्धित स्पेसमो, प्रोक्सिमन, फेनरगन, कोरेक्सलगायत्का लागूपदार्थ भारतीय पसलमा खुल्लारुपमा बिक्री हुँदै आएका छन् । भारतीय प्रहरीले स्थानीय व्यापारीबाट मासिक ‘हप्ता’ असुलेर कारोबारमा आँखा चिम्लिने गरेका छन् । ‘पाँच वर्षदेखि धाइरहेको छु,’ भारतको पानीट्याङ्कीस्थित एक पलसमा भेटिएका धरानका मनोज मगरले भने, ‘काँकडभिट्टाबाट माल छिराउन सजिलो छ ।’ पसलेहरुले स्थानीय व्यक्तिलाई त्यस्ता सामान बेच्ने गरेका छैनन् । प्रहरी–प्रशासनसमेतको मिलोमतोमा धन्धा चलाएको पाइन्छ ।
काँकडभिट्टा इप्रकाले गत एक वर्षमा दर्जनौं व्यक्तिलाई लागूपदार्थ ओसार–पसार गरेको अभियोगमा पक्राउ गरेर कार्वाही चलाएको छ । इन्स्पेक्टर देवीप्रसाद फागोका अनुसार सोही अवधिमा पाँचवटा मुद्दा दर्ता गरिएका छन् भने केहीले जेल सजाय भोगिरहेका छन् । यसैबीच मेचीनगर–१ का कुमार श्रेष्ठ लागूपदार्थ ओसार–पसारसम्बन्धी अभियोगमा सोमबार पक्राउ परेका छन् ।
काँकडभिट्टाका युवक सुरेन्द्र नेम्वाङ भारतीय सीमावर्ती बजारको विकृतिका कारण नेपालमा लगाइएको प्रतिबन्धको खासै असर नभएको टिप्पणी गर्छन् । ‘पारिपट्टि पनि प्रतिबन्धित हुनुपर्छ,’ नेम्वाङको भनाइ छ, ‘नत्र पारिबाट सामान आउन कसैले रोक्न सक्दैन ।’ एक व्यापारीका अनुसार पानीट्याङ्कीमा मात्रै पनि महिनामा पचासौं लाखको लागूऔषधको कारोबार हुने गर्छ । ट्याब्लेट, सुई, गाँजा र चरेशको कारोबार सीमावर्ती भारतीय क्षेत्रमा जति बढ्दै जान्छ, त्यसको प्रभाव नेपालमै पर्ने जानिफकारहरु बताउँछन् ।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...