रामचन्द्र भट्ट, बार्सिलोना, (स्पेन) फागुन ३ – टेलियासोनेराले नेपालमा लाइसेन्स र फ्रिक्वेन्सी मिलेमा फोरजी (फोर्थ जेनेरेसन) मोबाइल सुरु गर्ने घोषणा गरेको छ। सोमबारदेखि बार्सिलोनामा सुरु भएको मोबाइल वर्ल्ड कंग्रेसमा टेलिया सोनेराले नेपालमा पनि फोरजी सुरु गर्न इच्छुक रहेको बताएको हो।
'म यो मितिदेखि भन्न सक्दिन, तर लाइसेन्स र स्पेक्ट्रम प्राप्त भएमा नेपालमा पनि यो सेवा सुरु गर्न तयार छौं,' टेलिया सोनेरा मोबिलिटी सर्भिसका अध्यक्ष हाकान दलास्ट्रमले भने। टेलियासोनेरा एनसेलको मुख्य लगानीकर्ता (प्यारेन्ट) कम्पनी हो।
मंगलबार बार्सिलोनाको फिरामा आयोजित पत्रकार सम्मेलनमा उनले फोरजी मोबाइल इन्टरनेटको लागि सबैभन्दा उपयुक्त माध्यम भएकोले नेपालमा पनि यो सेवा केही समयभित्रै सुरु गर्ने योजना रहेको बताए।
नेपालमा गत अक्टोबरमा सगरमाथामा सुरु गरिएको थ्रीजी (थर्ड जेनेरेसन) मोबाइलबाट कम्पनी निकै उत्साहित भएको उल्लेख गर्दै उनले नेपालमा फोरजी सेवाले त्यस्तै प्रकारको उत्साह कम्पनीले पाउने आशा व्यक्त गरे।
फोरजी मोबाइलबाटै भिडियो कन्फरेन्स र उच्च गतिको इन्टरनेट चलाउन सकिने अत्याधुनिक प्रविधि हो। अहिले सञ्चालित थ्रीजीको ब्रोडव्यान्ड भन्दा फोरजीमा १० गुणा बढी स्पिडमा इन्टरनेट चलाउन सकिन्छ। टेलिभिजनमा उच्चगतिको लाइभ प्रशारण समेत फोरजीबाट गर्न सकिन्छ।
सन् २०११ मा टेलिया सोनेराले युरोपका अधिकांश देशहरुमा फोरजी सेवा सुरु गरिसक्ने घोषणा गरेको छ। कम्पनीका अनुसार सन् २०१२ भित्र नेपालमा पनि फोरजी सेवा सुरु हुनसक्ने संकेत टेलिया सोनेराका अधिकारीहरुले गरे। तर औपचारिक घोषणा भने गरेनन्।
फोरजीको लागि आवश्यक पर्ने स्पेक्ट्रम र लाइसेन्सको माग गर्दै एनसेलले केही महिना अघि नियामक संस्था दूरसञ्चार प्राधिकरणमा निवेदन दिइसकेको छ। तर प्राधिकरणले लाइसेन्स प्रकृया अघि नबढाएकोले नेपालीले छिट्टै यो सेवा प्रयोग गर्न भने प्रतिक्षा गर्नुपर्ने भएको छ।
अहिले युरोपका डेनमार्क, इस्टोनिया, फिनल्याण्ड, नर्वे र स्विडेनमा टेलियासोनराले फोरजी सेवा सुरु गरिसकेको छ। २०११ भित्र युरोपका अरु देशहरुमा समेत सुरु गर्ने घोषणा मंगलबार गरिएको छ। फोरजीबाट उच्च गतिको इन्टरनेटको साथै व्यबसायीक रुपमा भिडियो कन्फरेन्स, इन्टरनेट टिभी सेवा समेत प्रयोग गर्न सकिन्छ।
गत वर्षको नोबेल पुरस्कार वितरण कार्यक्रमको प्रत्यक्ष प्रशारण फोरजी प्रविधिमार्फत स्टकहोमबाट टोकियोमा गरिएको थियो। फोरजीबाट प्रशारण भएको इन्टरनेट युरोपिएन देशहरुमा ३० गिगाबाइटलाई ६० युरो (झण्डै ६ हजार रुपैयाँ) सम्म पर्छ। यसमा १० देखि एकसय मेगाबिट प्रति सेकेण्डको व्याण्डविथ प्राप्त हुन्छ।
टेलियासोनेराले तीनवर्ष अघि तत्कालिन स्पाइस नेपाल (हाल एनसेल) को ८० प्रतिशत सेयर लिएपछि आक्रामक रुपमा बजार विस्तारमा लागेको छ। 'चार महिना अघि सगरमाथाबाट सुरु गरिएको थ्रीजी ब्रोडव्याण्ड र भिडियो कलले एनसेललाई मात्र होइन टेलियासोनेरालाई निकै माथिल्लो उचाईमा पुर्याएको छ,' कम्पनीका बाह्य सञ्चार अधिकृत थोमस जोन्सनले भने।
गत अक्टोबरमा सगरमाथामा सुरु गरिएको थ्रीजी मोबाइल संबन्धि समाचार अहिलेपनि गुगलको सर्च इन्जिनमा दर्जनौ छन्। 'सगरमाथामा सुरु गरिएको थ्रीजीले हाम्रो प्रचार प्रसार अन्तर्राष्ट्रिय रुपमा निकै ठूलो भएको छ, हामी खुशी छौं,' दलास्ट्रमले भने। नेपालमा फोरजी सेवा सुरु गर्दा अन्तर्राष्ट्रिय रुपमा कम्पनीको प्रचार प्रसार बढ्ने भएकोले सेवा सुरु गर्ने मनस्थितीमा कम्पनी पुगिसकेको छ। एनसेलले सन् २०११ मा ९० प्रतिशत जनतामा आफ्नो सेवा विस्तार गर्ने घोषणा गरिसकेको छ। अहिलेसम्म एनसेलको कभरेज ८५ प्रतिशतमा पुगिसकेको छ।
यो वर्ष नयाँ क्षेत्रमा सेवा विस्तार र मोबाइलमा भ्यालु एडेड (अतिरिक्त) सेवाहरु सञ्चालन गर्ने योजनामा एनसेल छ।
'नेपाल पनि हाम्रो फोरजीको प्राथमिकता भएको मुलुकमा परिसकेको छ,' सञ्चार अधिकृत जोन्सनले भने। सन् २०१० मा टेलियासोनेराले आफ्नो नाफा २३ प्रतिशतले बढाएर तीनअर्ब ६० करोड अमेरिकी डलर गरेको थियो। नेपाल सहित टेलियासोनेराले क्याम्बोडिया, नर्वे, डेनमार्क, रुस, टर्की, काजाकिस्तान, अजरबैजान, जर्जिया, ताजिकिस्तानमा मोबाइल टेलिफोन सञ्चालन गरिरहेको छ।
सन् २०११ मा यो कम्पनीले युरोपिएन देशहरमा फोरजी सहितको ट्याबलेट पिसी सुरुगर्ने घोषणा गरेको छ। सन् २००८ मा टेलियासोनेराले एनसेलको सेयर लिएपछि आक्रामक रुपमा लगानी र सेवा विस्तारमा लागेको छ।
सन् २०११ मा टेलियासोनेराले नेपालमा एनसेलको सेवा विस्तार र नयाँ स्थानमा जान १० करोड अमेरिकी डलर (सातअर्ब नेपाली रुपैयाँ) लगानी गर्ने घोषणा गरेको छ। @ Nagariknews
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...